कर्णालीमा बिग्रिएर थन्किए करोडौंका उपकरण, मर्मत गर्नेभन्दा किन्नमा ध्यान


जुम्ला । कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा करोडौं रुपैयाँ खर्च गरेर खरिद गरिएका अत्यावश्यक उपकरणहरू बिग्रिएर थन्किएको पाइएकाे छ । उपकरणकाे मर्मत प्रति नेतृत्वको चासो नहुँदा प्रयोगविहीन अवस्थामा छन् ।

कर्णालीको स्वास्थ्य सेवा सुधारको नाममा ल्याइएका यी उपकरणहरू उपयोगमा नआउँदा कर्णालीका बिरामीहरू आधारभूत उपचार सेवाबाटै वञ्चित भइरहेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे विवरण अनुसार २३ प्रकारका महत्त्वपूर्ण उपकरणहरू पूर्ण रूपमा प्रयोगविहीन छन् । यी उपकरणहरूको कुल मूल्य अरबकाे छेउछाउ पर्ने अनुमान गरिएको छ ।

अलपत्र उपकरणहरूको विवरण

प्रतिष्ठानको विवरणअनुसार प्रयोगविहीन उपकरणहरू यस प्रकार छन्—
अक्सिजन प्लान्ट — १ (जियोलाइट र कम्प्रेसर बिग्रिएको)
वेस्ट ट्रीटमेन्ट मेसिन — १ (कम्पनीले पासवर्ड लगाएर लक गरेको)
अटोक्लेभ — ३ (CSSD र अपरेसन थिएटरका, रड बिग्रिएको)
हाइड्रो एक्सट्र्याक्टर — १ (मोटर बिग्रिएको)
एक्स–रे मेसिन — ३ (ट्युब, ट्रान्सफर्मर र जेनेरेटर समस्या)
यूएसजी मेसिन — २ (डिस्प्ले र मदरबोर्ड बिग्रिएको)
एनेस्थेसिया मेसिन — ३ (पावरबोर्ड, लिकेज र एक्सेसरी समस्या)
सी–आर्म मेसिन — १ (ट्युब र इमेज क्वालिटी समस्या)
पावर ड्रिल — २ (ब्याट्री समस्या)
ओटी टेबल — १ (हाइड्रोलिक पम्प बिग्रिएको)
भेन्टिलेटर — १६ (Drager, Philips, Bellavista,

प्रतिष्ठानका अनुसार यी उपकरणहरू रेडियोलोजी विभाग, अपरेशन थिएटर, आईसीयू र स्टोरमा राखिएका छन् । धेरै उपकरणहरू मर्मत खर्च अत्यधिक हुने, पार्ट्स उपलब्ध नहुने र कम्पनीको प्राविधिक सपोर्ट नपाइने कारणले सञ्चालनमा ल्याउन नसकिएको जनाइएको छ ।

राज्यले स्वास्थ्य पूर्वाधार विस्तारका नाममा ठूलो लगानी खर्च गरेपनि जुम्लाजस्तो दुर्गम क्षेत्रमा ती उपकरण उपयोगविहीन बन्नु गम्भीर प्रश्न बनेको छ । यसको जवाफदेही प्रतिष्ठान बन्नै पर्छ ।

विशेषगरी १६ वटा भेन्टिलेटर स्टोरमै थन्किँदा गम्भीर बिरामीहरूले समयमै सेवा पाउन सकेका छैनन् । भेन्टिलेटरको अभावका कारण जुम्लाका बिरामीहरू अन्यन्त्र जानुपर्ने बाध्यता छ।

त्यस्तै एक्स–रे र यूएसजी सेवा अवरुद्ध हुँदा क्यान्सर तथा अन्य गम्भीर रोगको निदानमा ढिलाइ भइरहेको छ ।

अक्सिजन प्लान्ट नै बिग्रिनु भनेको आपतकालीन अवस्थामा बिरामीको जीवन जोखिममा पर्नु हाे भन्ने हेक्का समेत चिकित्सकमा देखिएको छैन ।

यो घटनाले सरकारी स्वास्थ्य संस्थाहरूमा उपकरण खरिद, जडान, मर्मत र व्यवस्थापन प्रणालीमै गम्भीर कमजोरी उजागर गरेको छ । काठमाडौंबाट करोडौं खर्च गरेर उपकरण पठाउने तर दुर्गम क्षेत्रमा पुग्दा प्रयोगविहीन बन्ने अवस्थाले सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको स्पष्ट देखिन्छ ।

बिग्रिएका उपकरणहरूको यथाशीघ्र मर्मत गरी सेवा सञ्चालन हुन्छ। अन्यथा कर्णालीका जनताले अझै पनि स्वास्थ्य सेवाका लागि महँगो मूल्य चुकाइरहनुपर्ने छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##jumla

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ