स्वास्थ्य मन्त्रालयसहित कटौती हुँदैछन् सचिवका एक दर्जन पद
काठमाडौं। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा एक मात्र सचिव रहनेछन्। उक्त मन्त्रालयबाट नेपाल प्रशासन सेवाको सचिव सरूवा गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा थन्क्याइएको छ। स्वास्थ्यमा डा. विकास देवकोटा सचिवको भूमिकामा रहनेछन्।
युवा तथा खेलकुद मन्त्रालय श्रम र शिक्षामा गाभिएकाले उक्त मन्त्रालयमा रहेको प्रशासन सेवाको सचिव कटौतीमा परेको छ। साबिकको युवा तथा खेलकुद मन्त्रालयमा कार्यरत सचिव लोकनाथ पौड्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका छन्।
गाभिएपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा रहेकी सचिव चन्द्रकला पौडेल उपराष्ट्रपति कार्यालय पठाइएकी छिन्। दुई मन्त्रालय गाभिएपछि उक्त मन्त्रालयबाट पनि प्रशासन सेवाको एक सचिव कटौती हुने भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिवको जिम्मेवारी हाललाई मदन भुजेलले पाएका छन्।
अर्थ मन्त्रालयमा पनि प्रशासन सेवाको एक सचिव कटौती हुने भएको छ। अर्थ मन्त्रालयको राजस्व सचिव भुपाल बराल गण्डकी प्रदेश सरुवा भएसँगै उक्त दरबन्दी कटौती हुनेमा देखिन्छ। अहिले सिङ्गो अर्थ मन्त्रालय सचिव घनश्याम उपाध्यायले हेरिरहेका छन्।
दुई सचिव रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय एउटै सचिवले हाँकिरहेका छन्। उक्त मन्त्रालयमा पनि प्रशासन सेवाको एक सचिव कटौती हुने निश्चित छ। अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव कृष्णबहादुर राउत हुन्। वाणिज्य तथा आपूर्ति हेर्ने सचिव रामप्रसाद घिमिरे फागुनमा अवकाशमा गएपछि उद्योग एक सचिवको भरमा चलिरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष दरबन्दीमा सचिव रहेका खगेन्द्रप्रसाद नेपालको पद असार २७ गतेबाट उनी अवकाशमा गएपछि स्वतः खारेज हुनेछ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव चिरञ्जीवी चटौतको नेपाल ट्रष्टको कार्यालयमा सरूवा भएको छ। दुई सचिवको दरबन्दी रहेको ऊर्जामा पनि एक सचिव कटौतीमा पर्ने अवस्था आएको हो। अहिले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको सचिवको भूमिकामा सरिता दवाडी रहेकी छिन्।
साबिकको सहरी विकास र खानेपानी मन्त्रालयमा रहेको इन्जिनियरिङ क्लष्टरको दुई सचिव पनि कटौती हुने निश्चित जस्तै भएको छ। दुई मन्त्रालय साबिकको भौतिक पूर्वाधार तथा यातायातमा गाभिएर बनेको पूर्वाधार विकास मन्त्रालयको सचिवको भूमिकामा गोपालप्रसाद सिग्देल रहेका हुन्। साबिकको खानेपानी मन्त्रालयमा रहेका सचिव विश्वबाबु पुडासैनीलाई अन्यत्र व्यवस्थापन गर्ने तयारी भइरहेको छ। भौतिकका सचिव केशवकुमार शर्मा बिडारी अवकाशमा गएपछि दुई मन्त्रालय सिग्देलले हेर्दै आएका थिए। अहिले मन्त्रालय नै एउटै भएको हो।
वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्रालय गाभिएर कृषि, वन तथा पर्यावरण मन्त्रालय बनेको छ। साबिकको वन तथा वातावरण मन्त्रालयमा एक, कृषिमा एक र पशुपन्छी विकासमा एक गरी ३ सचिव रहेका थिए। मन्त्रालय गाभिएपछि वन मन्त्रालय हेर्दै आएका गोविन्दप्रसाद शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएका छन्। अहिले कृषि, वन तथा पर्यावरण मन्त्रालयको सचिवको जिम्मेवारी राजेन्द्रप्रसाद मिश्रले पाएका हुन्। पशुपन्छी हेर्ने दिपककुमार खराल अवकाशमा गएपछि मिश्रले सिंङ्गो मन्त्रालय हेर्दै आएका थिए। वन थापिएपछि पनि मिश्र नै उक्त मन्त्रालय सचिव बने। कृषि, वन तथा पर्यावरण मन्त्रालयमा सचिवको दुई दरबन्दी कटौतीमा पर्ने देखिन्छ।
राष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालय हेर्नेगरी एउटै सचिव राख्दा हुने बहस सुरू भएको छ। उपराष्ट्रपति कार्यालयमा सचिवको कुनै काम नभएकाले राष्ट्रपति कार्यालय कै सचिवले हेर्न सक्छ। उक्त विषयमा समेत सरकारले ध्यान दिनुपर्ने देखिन्छ।
तत्कालका लागि प्रशासन सेवा तर्फका ६ सचिव, इन्जिनियरिङ क्लष्टरका ३ सचिव र कृषि तथा वनतिरका २ सचिव कटौतीमा पर्ने देखिन्छ। सार्वजनिक खरिद अनुगमन कार्यालय, नेपाल ट्रष्टको कार्यालय, राष्ट्रिय तथ्याङ्क कार्यालय, जल तथा ऊर्जा आयोग, नेपाल कानुन आयोग, महान्यायाधिवक्ताको कार्यालय, महालेखापरीक्षकको कार्यालयलगायतको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्दा विशिष्ट श्रेणी (सचिव)को संख्या थप कटौती हुने सम्भावना देखिन्छ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस