‘ज्येष्ठ तथा अशक्त नागरिकलाई घरमै स्वास्थ्य तथा परामर्श सेवा उपलब्ध गराइने’


काठमाडौं। काठमाडौं महानगरपालिकाले ज्येष्ठ तथा अशक्त नागरिकलाई घरमै स्वास्थ्य तथा परामर्श सेवा उपलब्ध गराउने घोषणा गरेको छ। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उक्त घोषणा गरेको हो। शहरी स्वास्थ्य केन्द्रहरूलाई आधुनिक तथा प्रविधिमैत्री बनाउने, बाइक एम्बुलेन्स सेवा तथा मानसिक स्वास्थ्य परामर्श सेवा सञ्चालनमा ल्याउने, महानगर अस्पताल निर्माण गरी गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गरिने र बाइक एम्बुलेन्स सेवा तथा मानसिक स्वास्थ्य परामर्श सेवा सञ्चालनमा ल्याइने जस्ता विषय महानगरपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

सुशासन, पारदर्शिता तथा नतिजामुखी प्रशासनिक व्यवस्थालाई थप सुदृढ बनाउने,0महानगर तथा वडा कार्यालयहरूमा एकद्वार सेवा केन्द्र (One Stop Service Center) सञ्चालन गर्ने, विश्वविद्यालयका विद्यार्थीहरूलाई “Earn While You Learn” अवधारणाअनुसार इन्टर्नसिप, फेलोसिप तथा अंशकालीन अवसर प्रदान गर्ने र स्थानीय तहका विवाद समाधानमा मेलमिलाप प्रणालीलाई प्राथमिकता दिइने नीति तथा कार्यक्रममार्फत घोषणा गरेको छ।

शहरी सौन्दर्य र सुरक्षामा प्रतिकूल प्रभाव पार्ने अव्यवस्थित विज्ञापन सामग्री नियन्त्रण गर्ने, महानगर प्रहरी बललाई प्रभावकारी परिचालन गरी शहरी व्यवस्थापनलाई सुदृढ बनाउने, चालु खर्च नियन्त्रण गर्दै पुँजीगत खर्च अभिवृद्धि गर्ने नीति अवलम्बन गरिने,अन्तर्राष्ट्रिय सहकार्य तथा नगर–नगर साझेदारीमार्फत उप–राष्ट्रिय कूटनीतिलाई प्रवर्द्धन गरिने जस्ता विषय नीति तथा कार्यक्रममा समेटिएका छन्। युवामुखी स्वरोजगार, उद्यमशीलता विकास तथा सहुलियतपूर्ण कर्जामार्फत रोजगारी सिर्जना गर्ने, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको सशक्तीकरणका लागि लक्षित कार्यक्रम सञ्चालन गर्ने विषय पनि नीति तथा कार्यक्रममा परेका हुन्।

 “मानवीयताको शहरः काठमाडौं” अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, परम्परागत ज्ञान, सीप तथा कलाको प्रमाणीकरण गरी प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गर्ने, विद्यालय, पार्क तथा समुदायमा चरा–मैत्री अभ्यास प्रवर्द्धन गर्ने र विशेष आवश्यकता भएका बालबालिका, ज्येष्ठ नागरिक तथा गृहिणीका लागि विशेष तथा वैकल्पिक विद्यालय सञ्चालन गर्नेलगायतका विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ। विद्यालय शिक्षालाई अनुसन्धानमुखी, प्रविधिमैत्री तथा सिर्जनशील बनाउने, काठमाडौं महानगरपालिकाको आफ्नै विश्वविद्यालय स्थापना गर्न आवश्यक पहल गर्ने, खेलकुद प्रतिभाको पहिचान, सम्मान तथा प्रोत्साहनलाई प्राथमिकता दिने विषय नीति तथा कार्यक्रममा समावेश गरिएको हो।

फोहोर व्यवस्थापनलाई चक्रीय अर्थतन्त्र (Circular Economy) को अवधारणामा आधारित बनाई वैज्ञानिक व्यवस्थापन गर्ने, प्लास्टिक झोला तथा प्लास्टिकजन्य वस्तुको प्रयोगलाई निरुत्साहित गर्ने, कर प्रणाली अडिट तथा एकीकृत करदाता परिचय नम्बर (Single Tax Payer ID) लागू गर्ने, भौगोलिक सूचना प्रणाली (GIS) मा आधारित शहरी योजना तथा विपद् व्यवस्थापन प्रणाली विकास गर्ने र निःशुल्क पिउने पानी तथा सार्वजनिक शौचालयको पहुँच विस्तार गर्ने लगायतका विषय नीति तथा कार्यक्रममा उल्लेख छन्।

नीति तथा कार्यक्रममा स्मार्ट सडक बत्ती तथा GIS आधारित पूर्वाधार अनुगमन प्रणाली कार्यान्वयन गर्ने, पैदलयात्री तथा साइकलमैत्री पूर्वाधारसहित दिगो सार्वजनिक यातायात प्रणालीको विकास गर्ने, काठमाडौंलाई खुला संग्रहालय तथा सिर्जनात्मक सहरका रूपमा विकास गर्दै सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिने कुरा रहेको छ। कृत्रिम बुद्धिमत्ता (AI), GIS, खुला तथ्याङ्क (Open Data), KMC Dashboard तथा राष्ट्रिय डिजिटल प्रणालीसँग आबद्ध पूर्ण डिजिटल शासन प्रणाली विकास गर्ने, समग्र रूपमा, “सांस्कृतिक सहर, समृद्ध महानगर” को दीर्घकालीन सोच अनुरूप काठमाडौंलाई सुशासित, समावेशी, स्वच्छ, हरित, सुरक्षित, प्रविधिमैत्री तथा दिगो स्मार्ट महानगरका रूपमा रूपान्तरण गर्ने लक्ष्य लिन जस्ता विषय नीति तथा कार्यक्रममा परेका छन्।

बालेनले काठमाडौं महानगरपालिका छाडेपछि कार्यवाहक मेयर सुनिता डंगोलको नेतृत्व ल्याइएको पहिलो नीति तथा कार्यक्रम हो।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ