मुख्यसचिवको प्रतिस्पर्धामा ‘रेड-जोन’मा परेका सचिवहरू
काठमाडौं। ऊर्जाबाट नेपाल ट्रष्टको कार्यालयमा सरूवा भएका सचिव चिरञ्जीवी चटौत ५८ वर्ष पूरा भएर सोमबारदेखि अनिवार्य अवकाशमा गएका छन्। मुख्यसचिव सुमनराज अर्यालभन्दा अगाडि उनी ५८ वर्ष पूरा भएर अनिवार्य अवकाशमा जान लागेका हुन्। त्यसैले प्राविधिक सचिव चटौत मुख्यसचिवको दौडबाट ‘आउट’ भएका छन्।
मुख्यसचिव सुमनराज अर्याल असार २५ गते ५८ वर्ष पूरा हुँदा झन्डै आधा दर्जन सचिव अवकाशमा जानेछन्। अवकाशको सुरूवात सचिव चटौतले गरिसकेका छन्। विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयकी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यको अवकाशमा जाने साँझ-बिहान भइसकेको छ। सचिव बज्राचार्य असार १६ गते (भोलिबाट) अनिवार्य अवकाशमा जाँदैछिन्। विज्ञानमन्त्री महावीर पुनले अर्को सचिव खोज्न थालिसकेका छन्। प्रमिला पनि अर्यालभन्दा अगाडि नै ५ वर्ष सचिव चलाएर अवकाशमा जाने भएकाले मुख्यसचिवको ‘रेस’बाट आउट भएकी हुन्।
निर्वाचन आयोगका सचिव मधुसुधन बुर्लाकोटी असार २० गते अनिवार्य अवकाशमा जान लागेका छन्। मुख्यसचिव अर्यालभन्दा अगाडि नै अवकाशमा जाने सूचीमा रहेका बुर्लाकोटी निर्वाचन आयोगबाटै घर जाने बाटो तय भइसकेको छ। ५ वर्षे कार्यकाल सकिन लागेका सचिव बुर्लाकोटी पनि मुख्यसचिवको प्रतिस्पर्धाबाट ‘रेड-जोन’मा परिसकेका छन्।
मुख्यसचिव खान मुख मिठ्याएर बसेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडाका थन्क्याएका सचिव कृष्णहरि पुष्कर कर्ण पनि ‘रेड-जोन’मा परिसकेका छन्। मुख्यसचिव अर्यालभन्दा २ दिन अगाडि अनिवार्य अवकाशमा जान लागेकाले कर्णको मुख्यसचिव हुने कुनै सम्भावना देखिँदैन। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)सँग अनुचित प्रस्ताव गरेका कर्ण उपराष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका थिए। उनी अवकाशमा जाने दिन कुरेर बसिरहेका छन्।
विशेष दरबन्दीमा बढुवा खाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव खगेन्द्रप्रसाद नेपाल पनि मुख्यसचिवको प्रतिस्पर्धामा ‘रेड-जोन’मा परेका छन्। मुख्यसचिव अर्यालको अवकाशपछि १ नम्बरमा उनी आउँछन्। तर, फरक क्षमता भएका नेपाल मुख्यसचिवमा प्रतिस्पर्धा नगरी अवकाशमा जानेछन्। उनी ५ वर्ष सचिव भएर असार २७ गते अनिवार्य अवकाशमा जाने सूचीमा छन्। नेपाल अवकाशमा गएसँगै सचिवको विशेष दरबन्दी पनि स्वतः खारेज हुनेछ।
मुख्यसचिवको प्रतिस्पर्धामा ‘रेड-जोन’मा परेका सचिवहरू हरिप्रसाद मैनाली, गोविन्दप्रसाद शर्मा, लोकनाथ पौड्याल, डिल्लीराम शर्मा, डण्डुराज घिमिरेलगायत रहेका छन्। उनीहरू पनि मुख्यसचिवको रेसबाट लगभग ‘आउट’ भएका हुन्।
सार्वजनिक खरिद अनुगमन कार्यालयबाट ‘अक्षम’ भनेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका सचिव हरिप्रसाद मैनाली मुख्यसचिवको प्रतिस्पर्धामा ‘रेड-जोन’मा परेका छन्। कमजोर कार्यक्षमता रहेको भन्दै निमित्तलाई जिम्मेवारी दिएर उनलाई प्रधानमन्त्री कार्यालयको जगेडामा तानिएको हो। सचिवमै ‘रेड-जोन’मा परेकाले मैनाली मुख्यसचिवको प्रतिस्पर्धाबाट ‘आउट’ भएका हुन्।
युवा तथा खेलकुद मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका सचिव लोकनाथ पौड्याल पनि मुख्यसचिवको ‘रेड-जोन’मा परेका छन्। उनी साउनको पहिलाे साता नै घर जाने र जुनियर सचिव भएकाले मुख्यसचिवको प्रतिस्पर्धामा ‘रेड-जोन’मा परेका हुन्।
वनबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा तानिएका गोविन्दप्रसाद शर्मा पनि मुख्यसचिवको प्रतिस्पर्धामा ‘रेड-जोन’मा परेका छन्। उनी पनि जगेडामा परेकाले मुख्यसचिवको प्रतिस्पर्धामा उत्रिने बाटो बन्द भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा रहेका सचिव डिल्लीराम शर्मा पनि मुख्यसचिवको दौडमा ‘रेड-जोन’ परेका हुन्। स्वास्थ्यबाट जगेडामा तानिएका सचिव शर्मालाई बुर्लाकोटी अवकाशमा जान लागेकाले निर्वाचन आयोगतिर पठाइने सम्भावना छ।
भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका सचिव डण्डुराज घिमिरे मुख्यसचिवको प्रतिस्पर्धाबाट बाहिरिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को जगेडामा थन्क्याइएका सचिवहरू मुख्यसचिव प्रतिस्पर्धामा स्वत: ‘रेड-जोन’मा परेका हुन्। उनीहरूको विभिन्न कैफियत भेटिएरै जगेडामा तानिएका हुन्। सचिवमै ‘चार्ज’ लागेका व्यक्तिहरू मुख्यसचिवको प्रतिस्पर्धामा नरहने निश्चित देखिन्छ।
अहिले मुख्यसचिवको मुख्य प्रतिस्पर्धामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवद्वय किरणराज शर्मा र गोविन्दबहादुर कार्की, गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ, पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउत, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय, पर्यटन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, लोक सेवा आयोगका सचिव रामेश्वर दंगाल, ऊर्जा मन्त्रालयकी सचिव सरिता दवाडीलगायत रहेका छन्। सरकारले ल्याउन खोजेको ३०-५५ को मापदण्डभित्र परेर दुई वर्ष चलाउन सक्नेलाई मुख्यसचिव बनाउने सम्भावना देखिन्छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस