नेपाल वायुसेवा निगमका पाँचजना सञ्चालक पाँचतिर
काठमाडौं। सर्वोच्च अदालतको आदेश बमोजिम खुला प्रतिस्पर्धाबाट नेपाल वायुसेवा निगमको सञ्चालक समिति सदस्य बनेका पाँचजना पाँचतिर पुगेका छन्। निगमका पाँच सदस्य पाँचतिर फर्किएपछि व्यवस्थापन भद्रगोल बन्न पुगेको हो।
सरकारले सञ्चालक समिति सदस्य रहेका ८१ वर्षीय महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्ष बनाएपछि एक नम्बरमा रहेका उपेन्द्रबहादुर कार्की अदालत पुगेका छन्। आफूलाई अध्यक्ष बनाउनु पर्ने दाबीसहित उनी अदालतमा पुगेका हुन्। श्रेष्ठ र कार्कीबीच त्यति सहज सम्बन्ध नरहेको निगमका अधिकारीहरू बताउँछन्।
निगमको सञ्चालक समिति सदस्य हुँदै उपाध्यक्ष बनेका डा. दिपकप्रसाद बाँस्तोला पनि राजीनामा दिएर हिँडेका छन्। नेपाली सेनाका पूर्वउपरथी बाँस्तोला अध्यक्षको कार्यशैली र निगममा काम गर्ने वातावरण नरहेको भन्दै राजीनामा दिएर टाप ठोकेका हुन्। निगमका सञ्चालक समिति सदस्यहरूबीच बोलचाल नै नभएको र काम गर्ने वातावरण नरहेको उनको दाबी छ।
पूर्व सरकारी कर्मचारी समेत रहेका चार्टर्ड एकाउन्टेन्ट लिलाराज ढकाललाई दुईतिर काम गर्न नपाउने सर्तनामा गराएपछि उनले नियुक्तिपत्र नै नबुझेको पाइएको छ। त्यस्तै सदस्यमा नियुक्त भएका डा. भिम चन्दले पनि नियुक्तिपत्र नबुझेको पाइएको हो। निगमको सदस्य बनेका चन्द पिपुल्स डेन्टल कलेज एण्ड हस्पिटलका प्रमुख कार्यकारी अधिकृत हुन्। उनी एयरलाइन्ससँग अनुभवी नभए पनि मेरिटका आधारमा निगमको सञ्चालक समितिको सदस्यमा नियुक्त भएका थिए। तर, उनी नियुक्तिपत्र बुझ्नै नगएको पाइन्छ।
सर्वोच्च अदालत आदेशपछि नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को सञ्चालक सदस्य नियुक्तिको प्रक्रिया उल्टिएको थियो। सर्वोच्च अदालतले बदर गरिदिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय योग्यताक्रममा आधारमा निगमको सञ्चालक समिति सदस्यको नियुक्ति गरेको थियो। १ नम्बरमा परेका उपेन्द्रबहादुर कार्कीलाई नियुक्ति नगरी पछाडि रहेकालाई ल्याएपछि उनले रिट हालेका थिए। सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले पुरानो नियुक्ति बदर गरिदिएसँगै पर्यटनमन्त्री खडकराज पौडेलले ‘मेरिट’का आधारमा नयाँ नियुक्ति गरेका थिए।
निगम सञ्चालक समिति सदस्यमा उपेन्द्रबहादुरसहित मेरिटका आधारमा लिलाराज ढकाल, महेश्वर भक्त श्रेष्ठ, डा. दिपक बाँस्तोला र डा. भिम चन्द नियुक्त भएका थिए। तर अहिले पाँचजना सञ्चालक पाँचतिर भएका छन्। बाँस्तोलाले राजीनामा दिएपछि अब श्रेष्ठ र कार्की बाँकी छन्। उनीहरू दुईजना पनि दुईतिर रहेको पाइन्छ। डेढ महिनामा नेपाल वायुसेवा निगमका सञ्चालकहरू तितरवितर भएका हुन्। उनीहरू कति टिक्छन् हेर्न बाँकी छ।
क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस