अर्घाखाँचीका सिडिओ ज्ञवालीले जिम्मेवारी सम्हाले, उदयपुरका सिडिओ शाही पुगेनन् जिल्ला 


काठमाडौं। अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विष्णुप्रसाद ज्ञवालीले जिम्मेवारी सम्हालेका छन्। उनी बुधबार नै जिल्ला पुगेर ‘कमाण्ड’ सम्हालेका हुन्। अर्घाखाँचीमा

निमित्त प्रमुख जिल्ला अधिकारी भएका भक्तिराम मरासिनी सहायक प्रमुख जिल्ला अधिकारीमा झरेका छन्। तोयनारायण सुवेदी रुपन्देहीको सिडिओ भएर गएपछि मरासिनीले निमित्त भएर कमाण्ड सम्हालेका थिए। गृहले ज्ञवाली सिडिओ पठाएपछि उनी जिल्ला पुगेर कमाण्ड सम्हालिसकेका छन्।

यता उदयपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएका कृष्णबहादुर शाही जिल्ला पुगेको पाइँदैन। सिडिओ मेखबहादुर मंग्रातीको अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा सरूवा भएर गएपछि उदयपुरमा सहायक सिडिओ ओमप्रसाद भट्टराईले नै जिल्ला हेरिरहेका छन्। अर्घाखाँचीको सिडिओ ज्ञवालीसँगै उदयपुरको सिडिओ खटाइएका शाही अझैसम्म फिल्डमा नपुगेका हुन्।

गृह मन्त्रालयले सिडिओ नपठाउँदा रामेछाप र प्युठान सहायकको भरमा चलिरहेको छ। रामेछापको सिडिओ बिनु बज्राचार्य कुँवर गृहको जगेडामा र प्युठानका सिडिओ शान्तिराज प्रसाईंको सिराहाको सिडिओमा सरूवा भएपछि दुई जिल्ला निमित्तको भरमा छन्। राम बहादुर केसी र प्युठानमा दशरथ राई सहायक प्रमुख जिल्ला अधिकारी हुन्। उनीहरू निमित्त भएर जिल्ला हेरिरहेको पाइन्छ। दैलेखका सिडिओ आनन्द सारूको अख्तियारमा सरूवा भएको छ। उनले भने जिल्ला छाडेका छैनन्। यी तीनवटै जिल्लामा गृहले सिडिओ पठाउन बाँकी छ। तर, गृह मन्त्रालयमा सहसचिव ‘सर्टेज’ भएकाले दसैँ तिहार अगाडि सिडिओ पठाउने सम्भावना देखिँदैन। उपसचिवले नै चलाउन सक्ने ती जिल्लामा निमित्तले नै केही समय हेर्न पाउने अवस्था देखिन्छ।

क्याटेगोरी : समाचार
ट्याग : #कृष्णबहादुर शाही, #विष्णुप्रसाद ज्ञवाली

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ