साउदीका लागि प्रस्तावित राजदूत सुनारको नाम अस्वीकृत, १० देशमा राजदूत अनुमोदित


काठमाडौं। साउदी अरबका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारको नाम अस्वीकृत गरेको छ। संसदीय सुनुवाइ समितिका सभापति बोधनारायण श्रेष्ठले बुधबारको बैठकमा सुनारको नाम अस्वीकृत भएको घोषणा गरेका हुन्।

समितिले साउदी अरबका लागि प्रस्तावित गिरिबहादुर सुनारको नाम भने सर्वसम्मतिले अस्वीकृत गरेको हो। समितिका सभापति श्रेष्ठले ‘नेपाल सरकारको निर्णयअनुसार नेपाली राजदूत पदमा नियुक्तिका लागि साउदी अरबका लागि प्रस्तावित श्री गिरिबहादुर सुनारको नामका सम्बन्धमा समितिमा भएको निर्णयअनुसार उहाँको नाम सर्वसम्मत रूपमा अस्वीकृत भएको घोषणा गर्दछु,’ भनेर घोषणा गरेका छन्। समितिले अस्वीकृत गरेसँगै सुनारको राजदूत बन्ने ढोका बन्द भएको हो।

संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १० जना राजदूतको नाम नियुक्तिका लागि सर्वसम्मतिले अनुमोदन गरेको छ। भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि कल्याणराज शर्मा, अमेरिकाका लागि चिरनजंग थापा, बेलायतका लागि गौरवशमशेर जबरा, जर्मनीका लागि सरु जोशी, इजरायलका लागि सुरेशकुमार कर्ण, ओमानका लागि पद्माक्षी राणा, दक्षिण कोरियाका लागि प्राडा संगम श्रेष्ठ, स्पेनका लागि प्राप्ति शेरचन र श्रीलंकाका लागि डा. मञ्चला झाको नाम भने समितिले सर्वसम्मत रुपमा अनुमोदन गरेको हो। उनीहरूलाई भने राजदूतमा नियुक्ति गर्न बाटो खुलेको छ।

समितिले जापानका लागि प्रस्तावित जिज्ञानकुमार थापा र मलेसियाका लागि प्रस्तावित चूडामणि खरेलका विषयमा थप अध्ययन गर्ने जनाएको छ। त्यसपछि मात्र उनीहरूको नाम अनुमोदन हुने/नहुने टुंगो लाग्नेछ।

क्याटेगोरी : समाचार
ट्याग : #गिरिबहादुर सुनार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ