दरबारका एक सहसचिव र दुई उपसचिव गृहमा
काठमाडौं। राजप्रसाद सेवा (दरबार)बाट समायोजन भएका एक सहसचिव र दुई उपसचिव गृह मन्त्रालयमा प्रवेश गरेका छन्। सहसचिव बिनु बज्राचार्य कुँवर, उपसचिव ज्योति केसी रावल र अमृत महर्जन गृहमा पुगेका हुन्।
राजप्रासाद सेवाबाट आएकी सहसचिव बिनु बज्राचार्य कुँवर गृह मन्त्रालयको जगेडामा छिन्। उनी रामेछापको प्रमुख जिल्ला अधिकारी (सिडिओ)बाट गृह मन्त्रालयमा तानिएकी हुन्। पाल्पाबाट रामेछापको सिडिओमा सरूवा भएको ३ महिनामै बिनु गृहमा तानिएकी हुन्। दरबारबाट आएकी बिनुलाई गृहमा ल्याएर सीधै सिडिओ बनाइएको थियो। कमजोर ‘कमाण्ड’ देखिएपछि उनलाई रामेछापबाट तानिएको चर्चा हुने गरेको छ। उस्तै परे बिनु सचिव बन्ने खतरा छ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव ज्योति केसी रावल र अमृत महर्जनलाई गृह मन्त्रालय पठाएको छ। केसी पुरात्त्व विभागबाट र महर्जन पर्यटन विभागबाट गृह मन्त्रालय पुगेका हुन्। उपसचिवद्वय केसी र महर्जन राजप्रसाद सेवाबाट आएका कर्मचारी हुन्।
गृह मन्त्रालयले उपसचिव महर्जनलाई धनकुटाको सहायक प्रमुख जिल्ला अधिकारी ( सहायक सिडिओ)मा खटाएको छ। केसीलाई कारागार कार्यालय नौवस्ता, बाँकेको कारागार प्रशासकमा पदस्थापन गरिएको हो। राजप्रासाद सेवा (दरबार)का एक सहसचिव र दुई उपसचिव हाल गृह मन्त्रालयमा रहेका छन्।
क्याटेगोरी : समाचारट्याग : #अमृत मर्हजन, #ज्योति रावल केसी, #बिनु बज्राचार्य कुँवर


तपाईको प्रतिक्रिया दिनुहोस