एउटै कुर्सीमा एक वर्ष बढी अवधि पूरा भएका गृहका सहसचिवहरू
काठमाडौं। एक वर्ष बढी अवधि एउटै कुर्सीमा बसेका गृह मन्त्रालय वा अन्तर्गत ४ सहसचिव रहेका छन्। रामचन्द्र तिवारी, आनन्द काफ्ले, गणेश अर्याल र ईश्वरराज पौडेल उक्त सूचीमा देखिन्छन्। तिवारी अध्यागमन विभागका महानिर्देशक, काफ्ले गृह मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख, अर्याल चितवनको सिडिओ र पौडेल काठमाडौंको सिडिओ हुन्।
तिवारी अध्यागमन विभागको महानिर्देशक भएको १५ महिना पूरा हुन लागेको छ। असारको अन्तिम साता सरूवा भएर साउनको दोस्रो हप्ता (११ गते) हाजिर भएका तिवारीको १५ महिना पूरा हुन लागेको हो। रमेश लेखक गृहमन्त्री हुँदा अध्यागमन विभागको महानिर्देशक बनेका तिवारी ओमप्रकाश अर्याल र सुदन गुरुङ गरी तीनजना गृहमन्त्री हुँदा पनि फेरिएका छैनन्। उनले १५ महिना आरामले बिताउने देखिन्छ। रमेश लेखकका खास तिवारी अहिले पनि खास भएर बसेका हुन्।
तिवारी अध्यागमन विभागको महानिर्देशक भएपछि गृह मन्त्रालय सुरक्षा तथा समन्वय महाशाखा प्रमुख बनेका आनन्द काफ्ले १५ महिना पूरा हुन लागेको छ। उनी पनि तिवारी कै लाइनमा देखिन्छन्।
‘जेनजी’ आन्दोलनपछि चितवनको प्रमुख जिल्ला अधिकारी अधिकारी (सिडिओ) भएर गएका गणेश अर्याल अझैसम्म त्यहीँ टिकिरहेका छन्। रमेश लेखक गृहमन्त्री हुँदा भदौं २० हाजिर भएका अर्याल १३ महिना ( एक वर्ष बढी) पूरा भएर अगाडि बढिरहेका हुन्। सेलीब्रेटी सिडिओ अर्याल बेलाबेला चर्चा र विवादमा आइरहने गरेका छन्। अर्यालले पनि तिवारी र काफ्लेले जस्तै एउटै कुर्सीमा बसेर तीनवटा सरकार फेरिसकेका छन्।
‘जेनजी’ सरकारले आएपछि काठमाडौंं सिडिओ भएर ईश्वरराज पौडेल गएका हुन्। २०८२ असोज ९ गते काठमाडौंको सिडिओमा हाजिर भएका पौडेलको १३ महिना पूरा हुन डेढ हप्ता बाँकी छ। पौडेलले काठमाडौंको सिडिओ भएर दुईवटा सरकार फेस गरेका छन्। पौडेलको पनि सरूवा अवधि पूरा भइसकेको छ। गृहमा एउटै कुर्सीमा एक वर्ष पूरा गर्नु सामान्य कुरा होइन। झनै लेखककालीन जिम्मेवारीले अहिलेसम्म निरन्तरता पाउनु चानचुने कुरा देखिँदैन। लेखककालीन तीनसहित ४ सहसचिवले उक्त अवधि पूरा गर्न सफल भएका हुन्।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस