सचिवहरू भटाभट अवकाशमा: बुर्लाकोटी गए, दिन पर्खिरहेका कर्ण
काठमाडौं। नेपाल सरकारका सचिवहरू भटाभट अवकाशमा जान थालेका छन्। एक हप्ताबीचमा ३ जना सचिवले अवकाश पाइसकेका छन्। आईतबारदेखि निर्वाचन आयोगका सचिव मधुसुदन बुर्लाकोटीले अनिवार्य अवकाश पाएका हुन्।
असार १४ गते ऊर्जा सचिव चीरञ्जीवी चटौतले अनिवार्य अवकाश पाए। त्यसको दुई दिनपछि (असार १६) विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिव प्रमिलादेवी शाक्य बज्राचार्य अनिवार्य अवकाशमा गइन्। चटौत ५८ वर्ष पूरा भएर सचिवबाट अवकाश पाएका हुन् भने बज्राचार्य ५ वर्ष सचिव चलाएर घर गएकी हुन्।
बज्राचार्य घर गएको ४ दिनपछि निर्वाचन आयोगका सचिव मधुसुदन बुर्लाकोटी अवकाशमा गएका छन्। बुर्लाकोटी ५ वर्ष सचिव चलाएर घर गएका हुन्। उनी भदौंमा ५८ वर्ष पूरा हुँदैछन्। बुर्लाकोटीसँगै सहसचिव भएर सचिव बनेका मुकुन्दप्रसाद पौड्याल, दामोदर रेग्मी र गणेशप्रसाद पाण्डे यसअघि नै अवकाशमा गइसकेका छन्। उक्त ‘ब्याच’का बाँकी रहेका एक्ला सचिव मधुसुदन बुर्लाकोटी पनि अवकाशमा गएका हुन्।
अबको २ दिनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा थन्क्याइएका सचिव कृष्णहरि पुष्कर कर्ण अनिवार्य अवकाशमा जाँदैछन्। अवकाशको दिन पर्खिरहेका सचिव कर्ण भोलि र पर्सी मात्र प्रधानमन्त्री कार्यालयको ‘कान्जी-हाउस’मा रहनेछन्। उपसचिव र सहसचिवमा कोटा प्रयोग गरेर सचिव बनेका कर्ण २३ गते रातीबाट ५ वर्ष सचिव चलाएर अवकाशमा जान लागेका हुन्। उनी अवकाशमा गएसँगै ‘कान्जी-हाउस’मा सचिव घट्न थाल्नेछन्।
असार २५ गते मुख्यसचिव सुमनराज अर्याल अवकाशमा जाने सूचीमा छन्। ४ दिनभित्रै मुख्यसचिव खाली हुँदैछ। मुख्यसचिव अर्याल ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जान लागेका हुन्।
असार २७ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको विशेष दरबन्दीमा रहेका सचिव खगेन्द्रप्रसाद नेपाल अनिवार्य अवकाशमा जाँदैछन्। उनी ५ वर्ष पूरा भएर घर जान लागेका हुन्।
साउन ३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव किरणराज शर्मा अनिवार्य अवकाशमा जाँदैछन्। उनी सचिवको ५ वर्षे कार्यकाल पूरा गरेर अवकाशमा जान लागेका हुन्।
त्यस्तै साउन ६ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जगेडामा रहेका सचिव लोकनाथ पौड्याल अनिवार्य अवकाशमा जाने सूचीमा छन्। उनी ५८ वर्ष लागेर अनिवार्य अवकाशमा जान लागेका हुन्। सचिव कर्ण र पौड्याल ‘कान्जी-हाउस’बाट घर जाने तरखरमा छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कै जगेडामा रहेका सचिव हरिप्रसाद मैनाली पनि एक महिनाभित्रै साउन १९ गते अनिवार्य अवकाशमा जाँदैछन्। त्यसको ५ दिनपछि (साउन २४ गते) प्रधानमन्त्री कार्यालयका जगेडाका सचिव गोविन्दप्रसाद शर्मा अनिवार्य अवकाशमा जाँदैछन्। डिल्लीराम शर्माको अन्यत्रै व्यवस्थापन भए एक महिनाभित्र प्रधानमन्त्री कार्यालयको ‘कान्जी-हाउस’ खाली हुनेछ।
भदौंमा प्रधानमन्त्री कार्यालय जगेडाका सचिव डिल्लीराम शर्मा र गृह सचिव राजकुमार श्रेष्ठ र बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी अवकाशमा जाने सूचीमा छन्। असोजमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल र रविलाल पन्थ अवकाशमा जाने सूचीमा परेका हुन्।
मुलुकले यही साता नयाँ मुख्यसचिव पाउने सम्भावना छ। मुख्यसचिवमा ३०-५५ को मापदण्डभित्र पर्ने सचिवको उच्च सम्भावना देखिन्छ।
क्याटेगोरी : समाचार
ट्याग : #किरणराज शर्मा, #कृष्णहरि पुष्कर कर्ण, #खगेन्द्रप्रसाद नेपाल, #गोविन्दप्रसाद शर्मा, #चीरञ्जीवी चटौत, #प्रमिलादेवी शाक्य बज्राचार्य, #मधुसुदन बुर्लाकोटी, #लोकनाथ पौड्याल, #सुमनराज अर्याल, #हरिप्रसाद मैनाली


तपाईको प्रतिक्रिया दिनुहोस