बढेको तलब खानेबित्तिकै सहसचिव पौडेलले दिए राजीनामा, तुलसीपुरमा खटाइए शिवाकोटी
काठमाडौं। बढेको तलब खानेबित्तिकै सहसचिव टेकनारायण पौडेलले राजीनामा दिएका छन्। कार्यक्षमताका आधारमा माघमा नेपाल प्रशासन सेवाको सहसचिव बढुवा भएका स्याङ्जाली पौडेल ६ महिना नपुग्दै राजीनामा दिएर हिँडेका हुन्।
दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएका पौडेल साउनमा हाजिर हुनेबित्तिकै राजीनामा दिएर हिँडेका हुन्। चैत १६ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार पौडेललाई तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरिएको थियो। तर, उनी साढे ३ महिनापछि तुलसीपुर उपमहानगरपालिकामा हाजिर हुनसाथ राजीना दिन काठमाडौं हुँइकिए। साउनमा बढेको तलब खाएर सहसचिव पौडेल राजीना दिएर हिँडेका छन्। उनको राजीनामा बुधबार नै स्वीकृत भइसकेको छ।
५८ वर्ष पूरा हुन १६ महिना बाँकी रहेका सहसचिव पौडेल अवकाशको मिति २०८४ मंसिरसम्म नपर्खी राजीनामा दिएर हिँडेका हुन्। खटाएको ठाउँमा जान नमानेका पौडेलले बढेको तलब खाएर मात्र मार्ग प्रशस्त गरेका हुन्। उपसचिव हुँदा संखुवासभा, डोटी जस्ता जिल्लाको सिडिओ बनेका पौडेल लामो समय पर्यटन मन्त्रालय बसेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत हुँदा माघमा उनी सहसचिवमा बढुवा भएका थिए। सहसचिव भएपछि तुलसीपुर उपमहानगरपालिका सरुवा भएका थिए। साउन लागेपछि तुलसीपुरमा हाजिर हुन पुगेका पौडेलले राजीनामा दिएपछि सरकारले तुलसीपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सुवासचन्द्र शिवाकोटीलाई सरूवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार सूचना तथा सञ्चार मन्त्रालयबाट तुलसीपुर उपमहानगरपालिकामा सरूवा भएका शिवाकोटीले पत्र समेत बुझिसकेका छन्। ६ महिना सञ्चारमा बसेर उनी रमाना समेत भइसकेका छन्।

ट्याग : #टेकनारायण पौडेल, #सुवासचन्द्र शिवाकोटी


तपाईको प्रतिक्रिया दिनुहोस