स्वास्थ्यमा प्रशासनका दुई सहसचिवको दरबन्दी कटौती, वीर अस्पतालका सहसचिव अधिकारी फाजिलमा


काठमाडौं। स्वास्थ्य मन्त्रालय वा अन्तर्गत रहेको नेपाल प्रशासन सेवाका दुई सहसचिवको दरबन्दी कटौती भएको छ। स्वास्थ्य मन्त्रालयको जनसंख्या व्यवस्थापन महाशाखा र वीर अस्पतालमा रहेको सहसचिवको दरबन्दी खारेज भएको हो।

स्वास्थ्य मन्त्रालयबाट नेपाल प्रशासन सेवाको सचिवको दरबन्दी कटौतीमा परेसँगै मन्त्रालयमा रहेको प्रशासनको दुई सहसचिवमध्ये एउटा दरबन्दी कटौतीमा परेको छ। कटौतीमा परेका जनसंख्या व्यवस्थापन महाशाखा प्रमुख हेमराज सुवेदी साउनको पहिलो साता अनिवार्य अवकाशमा गएसँगै उनको आफै व्यवस्थापन भएको हो। सुवेदीको पद र जागिर एकैपटक समाप्त भएको छ। मन्त्रालयमा जनसंख्यामा सुवेदी र प्रशासनमा दिवस आचार्य सहसचिव थिए। सुवेदीले अवकाश भएसँगै आचार्यको पनि उचित व्यवस्थापनमा भएको हो।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालमा रहेको नेपाल प्रशासन सेवाको सहसचिवको दरबन्दी पनि कटौतीमा परेको छ। उक्त दरबन्दी कटौती भएसँगै सहसचिव गोविन्दप्रसाद अधिकारी फाजिलमा परेका छन्। डेढ वर्ष जति जागिर बाँकी रहेका अधिकारी समान्यको अतिरिक्त समूहमा बसेर वीर अस्पतालमा ‘पेण्डूलम’ बन्न पुगेका थिए। कामै नभए पनि वीर अस्पतालमा सरकारले सहसचिवलाई ‘पेण्डूल’ बनाउन पठाउने गरेको थियो। अब उक्त दरबन्दी कटौतीमा परेसँगै कुनै सहसचिव ‘पेण्डूलम’ बन्न जानुपर्ने छैन।

सरकारले वीर अस्पतालको फाजिलमा परेका सहसचिव अधिकारीलाई व्यवस्थापन गरिसकेको छैन। अधिकारी सहसचिवमा बढुवा भएको ६ महिना बढी सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा बसेर वीर अस्पताल पुगेका थिए। उनलाई सामान्यको अतिरिक्त समूहमै फर्काउने कि अन्य ठाउँमा पठाउने भन्ने विषयले ढिलाइ भएको बुझिन्छ।

स्वास्थ्य अवस्थाका कारण सहसचिव अधिकारीलाई उपराष्ट्रपति कार्यालयमा व्यवस्थापन गर्न सक्ने सम्भावना पनि देखिन्छ। उपराष्ट्रपति कार्यालयको प्रशासन हेर्ने सहसचिव चिरञ्जीवी पौडेलको गृह मन्त्रालयमा सरूवा गरेको छ। उपराष्ट्रपति कार्यालय पठाइएका सहसचिव गजेन्द्रकुमार ठाकुर भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका छन्। उक्त ठाउँमा सहसचिव खाली भएकाले अधिकारी जस्ता काम नगर्ने तर गाडी चढ्ने सहसचिवका लागि खटाइने सम्भावना उत्तिकै छ।

क्याटेगोरी : समाचार
ट्याग : #गोविन्दप्रसाद अधिकारी, #हेमराज सुवेदी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ