भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका प्रशासन सेवाका सचिव-सहसचिव
काठमाडौं। विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा लागेर प्रशासन सेवाका आधा दर्जन बढी सचिव-सहसचिव निलम्बनमा परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले डामेर उनीहरू निलम्बनमा परेका हुन्। एक सचिव र ७ सहसचिव अहिले विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा खेपिरहेका छन्। सम्पत्ति शुद्धीकरणको मुद्दा खेप्ने सहसचिव मदन दाहाल हुन्।
प्रशासन सेवाका सचिव डण्डुराज घिमिरे भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रकरणमा भ्रष्टाचार मुद्दा लागेर सचिव घिमिरे निलम्बनमा परेका हुन्। ११ महिना जागिर बाँकी रहेका सचिव घिमिरेले भ्रष्टाचारको मुद्दा खेपिरहेका छन्।
सचिव बढुवाको लाइनमा रहेका सहसचिव झलकराम अधिकारी भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका छन्। घुस/रिसवत मुद्दा खेपिरहेका अधिकारीको ५ वर्ष जागिर बाँकी छ। अधिकारी माओवादी सत्ताका तरमारा सहसचिव हुन्। उनी राजस्व अनुसन्धान, सहकारी, अध्यागमन जस्ता महत्त्वपूर्ण विभागको महानिर्देशक भएर काम गरेका शक्तिशाली सहसचिव भएका थिए। अधिकारीमाथि थप मुद्दा लाग्ने सम्भावना देखिन्छ।
सहसचिव गजेन्द्रकुमार ठाकुर भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका छन्। मधेश प्रदेशको अर्थ सचिवको भूमिकामा रहँदा सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएपछि सहसचिव ठाकुर निलम्बनमा परेका हुन्। दोहोऱ्याएर सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक बनेका ठाकुर भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका छन्। उनको जागिर २ वर्ष बाँकी छ।
सहसचिव उमेश ढुंगाना भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका छन्। गलत लिखत तयार गरी सवारी साधान सरकारी अभिलेखमा दर्ता गरी भ्रष्टाचार गरेको आरोप उनीमाथि लागेको हो। ढुंगानाको जागिर ६ वर्ष बाँकी छ। उक्त प्रकरणमा सहसचिव लोकबहादुर सुनार पनि भ्रष्टाचारमा डामिएका छन्। निलम्बित सहसचिव सुनारको जागिर डेढ वर्ष बाँकी देखिन्छ।
सहसचिव तीर्थराज भट्टराई भ्रष्टाचार मुद्दा लागेर निलम्बित अवस्थामा छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय प्रमुखको भूमिकामा हुँदा घुस/रिसवत मुद्दा लागेर भट्टराई निलम्बनमा परेका हुन्। उनको जागिर अझै ८ वर्ष बाँकी छ।
१३ वर्ष जागिर बाँकी रहेका सहसचिव अरूण पोखरेल भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख हुँदाको विषयलाई लिएर उनीमाथि भ्रष्टाचार मुद्दा लागेको हो। सचिव हुने लाइनमा रहेका सहसचिव पोखरेल भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेका हुन्।
वैदेशिक रोजगार, राजस्व अनुसन्धान, आन्तरिक राजस्व जस्ता आकर्षक विभागको महानिर्देशक भइसकेका सहसचिव मदन दाहाल सम्पत्ति शुद्धीकरण मुद्दा लागेर निलम्बनमा परेका छन्। सुदूरपश्चिम प्रदेशको गृह सचिव हुँदा सम्पत्ति शुद्धीकरण मुद्दा लागेर उनी फरार भएका थिए। विशेष अदालतमा हाजिर भएर निलम्बित सहसचिव दाहाल धरौटीमा रिहा भएका हुन्। उनको जागिर २ वर्ष बाँकी छ। निलम्बित सहसचिव दाहाल अन्तर्राष्ट्रिय बिचौलिया दिपक भट्टका ‘खास’ कर्मचारी रहेको आरोप लाग्दै आएको छ। उनीमाथि बीमा सम्बन्धी कसूरको मुद्दा पनि जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेको पाइन्छ।
क्याटेगोरी : समाचारट्याग : #अरुण पोखरेल, #उमेश ढुंगाना, #गजेन्द्रकुमार ठाकुर, #झलकराम अधिकारी, #डण्डुराज घिमिरे, #तीर्थराज भट्टराई, #मदन दाहाल, #लोकबहादुर सुनार


तपाईको प्रतिक्रिया दिनुहोस