३ कुटनीतिक नियोगबाट ३ सहसचिव फिर्ता हुँदै
काठमाडौं। ३ कुटनीतिक नियोगबाट ३ सहसचिव फिर्ता भएका छन्। त्यसरी फिर्ता हुने सूचीमा परराष्ट्र सेवाका १ र प्रशासन सेवाका २ सहसचिव रहेका छन्। परराष्ट्र सेवाका सहसचिव अमेरिकाको सान फ्रान्सिस्कोस्थित महावाणिज्यदूतावासबाट फिर्ता हुन लागेका हुन्। प्रशासन तर्फका २ सहसचिवमा भारतको नयाँदिल्लीस्थित नेपाली राजदूतावासमा कार्यरत इकोनोमिक मिनिस्टर तारानाथ अधिकारी र चीनको बेइजिङमा रहेकी इकोनोमिक मिनिस्टर पार्वती अर्याल फिर्ता हुने तयारीमा रहेका छन्।
सरकारले गत वर्ष मात्र अमेरिकाको सान फ्रान्सिस्को (क्यालिफोर्निया)मा स्थापना भएको महावाणिज्यदूतावास बन्द गर्ने निर्णय गरेको छ। उक्त नियोगमा रहेको परराष्ट्र सेवाको सहसचिव (महावाणिज्यदूत)को दरबन्दी कटौती भएको हो। उक्त महावाणिज्यदूतावासमा रहेका अन्य कुटनैतिक पद वासिङ्गटन डिसीमा स्थानान्तरण गरिएको छ। सहसचिवको पद कटौतीमा परेपछि महावाणिज्यदूत लक्ष्मण खनाल परराष्ट्र मन्त्रालयमा फिर्ता हुन लागेका हुन्। भर्खरै खोलिएकाले सहज तरिकाले उक्त नियोग तत्काल बन्द हुने देखिन्छ।
३ वर्ष अगाडि नयाँदिल्लीमा इकोनोमिक मिनिस्टर बनेर गएका तारानाथ अधिकारी र डेढ वर्ष अगाडि बेइजिङ पुगेकी पार्वती अर्याललाई परराष्ट्रले स्वदेश फर्किन भनिसकेको छ। दरबन्दी कटौतीमा परेकाले उनीहरू दसैँ अगाडि नै फर्किनु पर्ने बाध्यतामा देखिन्छन्। वैदेशिक र पारिवारिक भत्ता खान र वैदेशिक सुविधा लिन मात्र राखिएको औचित्यहीन मिनिस्टर इकोनोमिक पदमा सरकारले ‘डोजर’ चलाइदिएपछि अधिकारी र अर्याल घर फिर्तीको तयारीमा छन्। सुदूरपश्चिम र मधेश प्रदेशमा प्रदेश सचिवको अभाव भइरहेका बेलामा प्रदेश नै नगएका अधिकारी र अर्याल आउने भएका हुन्। उनीहरूलाई सरकारले तत्काल प्रदेशतिर व्यवस्थापन गर्ने सम्भावना देखिन्छ।
क्याटेगोरी : समाचारट्याग : #तारानाथ अधिकारी, #पार्वती अर्याल सहसचिव, #लक्ष्मण खनाल


तपाईको प्रतिक्रिया दिनुहोस