तेजनारायण निलम्बमा परेपछि रामधुनीको प्रमुख प्रशासकीय अधिकृतमा पठाइयो बझाङका सिडिओ मुकेशलाई


काठमाडौं। तेजनारायण यादव भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि सुनसरीको रामधुनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुकेश कुमार केशरीलाई पठाइएको छ। भूमि, व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बझाङका सिडिओ केशरी रामधुनी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरेको हो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र, रूपन्देहीका तत्कालीन कार्यालय प्रमुख यादवसहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। ट्रायल परीक्षामा सहभागी नभएका १३ जनालाई सवारी चालक अनुमतिपत्र जारी गरेको अख्तियारको आरोप छ। वैदेशिक रोजगारीको सिलसिलामा जापानमा गएका व्यक्तिको नाममा पनि यादव कार्यालय प्रमुख हुँदा लाइसेन्स जारी गरेको अभियोगमा उल्लेख छ। उक्त मुद्दा लागेपछि रामधुनीका प्रमुख प्रशासकीय अधिकृत यादव निलम्बनमा परेका थिए। सामान्यले यादवको ठाउँ रामधुनीमा केशरीलाई प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरेको हो।

सामान्यले २०८२ भदौ १२ गते केशरीलाई सिराहाको सुखीपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरूवा गरेको थियो। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागमा कार्यरत केशरी सरूवा बदर गरेर गृहमै बस्न सफल भए। गृहले गत माघमा केशरीलाई बझाङको प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा पठाएको थियो। ९ महिना पूरा हुन लागेका केशरीको स्थानीय तहमा सरूवा गरिएको हो।

एउटै मितिमा सरूवा भएका तेजनारायण यादव रामधुनीको प्रमुख प्रशासकीय अधिकृतमा हाजिर भए। केशरी भने गृहको बलमा स्थानीयको सरूवा बदर गरेर सिडिओ खान गए। यादव निलम्बनमा परेपछि स्थानीय छलेका केशरीलाई रामधुनीको प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाएको हो। सरूवा बदर गरेर स्थानीय जान नखोज्ने केशरी जस्ता कर्मचारीलाई सामान्यले खोजीखोजी स्थानीयमा पठाउन थालेको छ। सामान्य प्रशासन मन्त्रालयको यो कदम निकै उत्कृष्ट देखिन्छ। सोमराज बराल जस्ताको हकमा पनि सामान्यले उक्त मापदण्ड लगाउन जरूरी छ।

 

क्याटेगोरी : समाचार
ट्याग : #तेजनारायण यादव, #मुकेश कुमारी केशरी

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ