परराष्ट्रको जगेडामा प्रशासन सेवाका दुई सहसचिव


काठमाडौं। परराष्ट्र मन्त्रालयको जगेडामा नेपाल प्रशासन सेवाका दुई सहसचिव रहेका छन्। परराष्ट्र मन्त्रालयको जगेडामा रहेका प्रशासन सेवाका दुई सहसचिव तारानाथ अधिकारी र पार्वती अर्याल हुन्।

अधिकारी भारतको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा ‘इकोनोमिक मिनिष्टर’को भूमिकामा थिए। अर्याल चीनको बेइजिङस्थित नेपाली राजदूतावासमा ‘इकोनोमिक मिनिष्टर’को भएर गएकी थिइन्। दिल्ली र बेइजिङस्थित नेपाली राजदूतावासबाट ‘इकोनोमिक मिनिष्टर’को दरबन्दी कटौती भएपछि अधिकारी र अर्याल फाजिलमा परेका थिए। उनीहरू अहिले परराष्ट्र मन्त्रालयको जगेडामा आइपुगेका छन्।

३ वर्ष बढी दिल्लीमा ‘इकोनोमिक मिनिष्टर’ भएर बसेका अधिकारी सिनियर सहसचिव भएपनि प्रदेश नजानेमा पर्छन्। सुदूरपश्चिम प्रदेशमा प्रशासन सेवाका सहसचिव (सचिव) अभाव भइरहेको अवस्थामा अधिकारी परराष्ट्रमा ‘चिया खाएर’ बसिरहेका छन्। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव रहेका अधिकारी प्रदेश नगइ दिल्ली (विदेश) जान सफल भएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग, पर्यटन विभागको महानिर्देशक, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक हुँदै दिल्ली दूतावासमा ‘इकोनोमिक मिनिष्टर’ बनेका अधिकारी अहिले परराष्ट्र मन्त्रालयमा हाजिर भइरहेका हुन्।

त्यस्तै चीनको बेइजिङस्थित नेपाली राजदूतावासमा ‘इकोनोमिक मिनिष्टर’ भएर गएकी पार्वती अर्याल करिब डेढ वर्ष बसेर नेपाल फर्किएकी छिन्। संयुक्त अरब इमिरेट्स (युएई)को श्रम सहचारी समेत भइसकेकी पार्वती सहसचिव भएर वैदेशिक रोजगार कार्यालय, राष्ट्रिय महिला आयोग, अर्थ मन्त्रालय अन्तर्गतको भन्सार जाँचपासपछिको परीक्षण कार्यालय, प्रमुख जस्ता निकाय हुँदै बेइजिङ पुगेकी थिइन्। बेइजिङमा दरबन्दी कटौती भएपछि उनी पनि परराष्ट्र मन्त्रालयमा हाजिर भएकी छिन्। अधिकारी र अर्याल दुबै सहसचिव प्रदेश नजानेमा पर्छन्। सरकारले उनीहरूको उचित व्यवस्थापन गरिसकेको छैन्। परराष्ट्र मन्त्रालयको जगेडामा प्रशासन सेवाका दुई सहसचिव अधिकारी र अर्याल रहेका हुन्।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ