जहाँ शोभाकान्त र पार्वती त्यहाँ सरूवा विवाद


समाचार टिप्पणी

काठमाडौं। अहिले मधेश प्रदेशमा कर्मचारी सरूवा विवादले चर्को रूप लिएको छ। मधेशतिरका अनलाइन र सामाजिक सञ्चालमा सरूवा विवादलाई लिएर प्रमुख सचिव शोभाकान्त पौडेलको चर्को आलोचना भइरहेको पाइन्छ। कर्मचारी सरूवालाई लिएर सामाजिक सञ्जालमा प्रमुख सचिव पौडेलमाथि छानबिन तथा कारबाहीको माग समेत जोडदार रूपमा उठ्न थालेको हो।

शोभाकान्तका विश्वासपात्रका रूपमा पार्वती शर्मा र रोहित कोइरालालाई चिनाइएको छ। मधेश सरकारको कारबाही सम्बन्धी निगरानी राख्ने विभिन्न ‘फेसबुक पेज’हरूमा यो विषय चर्को रूपमा उठाइएको हो। मधेशमा सुशासनको सुरूवात प्रमुख सचिवलाई कारबाही गरेर हुनुपर्छ भन्ने माग जोडदार रूपमा उठिरहेको छ।

रौतहट अनलाइनले उद्योग विभाग वीरगञ्ज, पर्साको महानिर्देशकलाई लिएर प्रमुख सचिव पौडेलको भूमिकामाथि प्रश्न उठाएको छ। उक्त विभागमा ११ औं तहको दरबन्दी कर्मचारी (महानिर्देशक) नपठाएर आर्थिक चलखेलका आधारमा ९ औं तहको कर्मचारीलाई निरन्तरता दिएको आरोप लगाइएको छ। दरबन्दी अनुसारको कर्मचारी नपठाएर निमित्तलाई निरन्तरता दिएको भन्दै प्रमुख सचिव पौडेलको भूमिकामाथि मधेशमा प्रश्न उठाइएको हो।

मधेश प्रदेश सरकार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत उद्योग विभागको निमित्त महानिर्देशकको जिम्मेवारीमा रीमा साह रहेकी छिन्। ११ औं तहका कर्मचारी हुँदाहुँदै उनलाई नै निरन्तरता दिएको विषयमा विवाद भएको देखिन्छ। अहिले मधेश प्रदेशमा शोभाकान्त पौडेल निकै चर्चामा रहेको पाइन्छ।

शोभाकान्त महालेखा नियन्त्रक कार्यालयबाट मधेश प्रदेश सरूवा भएर गएका हुन्। उनी महालेखा नियन्त्रक हुँदा पनि सरूवा विवादमा आइरहन्थे। मधेशमा पनि शोभाकान्त सरूवा कै कारण चर्चामा आएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख पार्वती शर्मा पनि अहिले मधेश प्रदेशमै छिन्। शोभाकान्तको मातहतमा उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिवको भूमिकामा पार्वती कार्यरत छिन्। पार्वती पनि सामान्यको कर्मचारी प्रशासन महाशाखामा हुँदा सरूवा विवादलाई लिएर मधेश प्रदेश पुगेकी हुन्। शोभाकान्त र पार्वती मधेश प्रदेशमा हुँदा सरूवा विवादले चर्को रूप लिएको हो। जहाँ शोभाकान्त र पार्वती त्यहाँ सरूवा विवाद भनेजस्तो भएको छ। उनीहरू संघबाट सरूवा भएर मधेश प्रदेशमा गएपछि सरूवा विवादको ‘रोग’ पनि उतै सरेको देखिन्छ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ