सुशीला कार्कीको पालामा जिल्लाबाट उच्चमा पुगेका न्यायाधीशमा अब टेकनारायण एक्ला


काठमाडौं। तत्कालीन प्रधानन्यायाधीश एवं न्याय परिषद्को अध्यक्ष सुशीला कार्कीका पालामा जिल्ला अदालतबाट उच्चमा पुगेका न्यायाधीशमध्ये टेकनारायण कुँवर मात्र उच्चमा बाँकी रहेका छन्। चन्द्रबहादुर सारू सर्वोच्च अदालत पुगेसँगै अब टेकनारायण एक्ला भएका हुन्।

२०७३ पुसमा सुशीला कार्की नेतृत्वको न्याय परिषद्ले उच्च अदालतमा ८० न्यायाधीश नियुक्त गरेको थियो। अध्यक्ष कार्कीसहित सदस्य (कानुनमन्त्री) अजयशंकर नायक र प्रधानमन्त्रीको सिफारिसमा आएका सदस्य पदमप्रसाद बैदिकले बहुमतका आधारमा उच्च अदालत ८० न्यायाधीश नियुक्त गरेका थिए। वैद्यनाथ उपाध्याय र रामप्रसाद सिटौलाले बैठक वहिष्कार गरेका थिए। तर, बहमुतको आधारमा उच्चमा ८० जना न्यायाधीश नियुक्त भए। ८० जना न्यायाधीशमध्ये ३४ जना जिल्ला न्यायाधीशबाट उच्चमा पुगेका थिए। ३४ जानामध्ये चन्द्र र टेकनारायण उच्चमा बाँकी थिए। चन्द्र पनि सर्वोच्चमा उक्लिएपछि जिल्लाबाट उच्चमा आउनेमा टेकनारायण एक्लै परेका हुन्।

उच्चमा एकैपटक नियुक्त भएका ८० जनामध्ये ८ न्यायाधीश सर्वोच्चमा पुगेका छन्। सर्वोच्चमा पुग्ने ८ न्यायाधीश महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, नित्यानन्द पाण्डे, श्रीकान्त पौडेल, शान्तिसिंह थापा, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी हुन्। ८० न्यायाधीशमध्ये जिल्लाबाट उच्च हुँदै सर्वाेच्च पुग्ने सारू एक्ला न्यायाधीशमा पर्छन्। सारू सर्वोच्चमा उक्लिएपछि अब उच्चमा जिल्ला आएका ३४ न्यायाधीशमध्ये टेकनारायण कुँवर एक्लो भएका छन्।

२०७३ पुसमा उच्च अदालतमा एकैपटक ८० न्यायाधीश नियुक्ति हुँदा २०५८ सालमा जिल्ला न्यायाधीश भएका १३ जना र २०६३ सालमा जिल्ला न्यायाधीश भएकाबाट २१ जना गरी ३४ जना उच्चको न्यायाधीशमा नियुक्त भएका थिए। २०५८ सालमा जिल्ला न्यायाधीश हुँदै २०७३ मा उच्चमा आएका १३ जनामध्ये कोही पनि न्यायाधीश बाँकी छैनन्। २०६३ सालमा जिल्ला न्यायाधीश भएर २०७३ सालमा उच्चमा आएका २१ जना न्यायाधीशमध्ये टेकनारायण कुँवर र चन्द्रबहादुर सारू मात्र बाँकी थिए। जिल्लाबाट उच्च हुँदै सर्वोच्च पुग्ने ३४ जनामध्ये चन्द्र एक्ला न्यायाधीश भएका छन् भने उच्चमा पनि टेकनारायण एक्लै परेका हुन्।

२०५८ सालमा जिल्ला न्यायाधीश भएका बालेन्द्र रुपाखेती, अजयराज उपाध्याय, विनोदमोहन आचार्य, भोलानाथ चौलागाईं, अच्युत बिष्ट, यज्ञराज भट्ट, शेखरप्रसाद पौडेल, बालचन्द्र शर्मा, ईश्वरराज आचार्य, रामप्रसाद अधिकारी, गोपाल भट्टराई, रामप्रसाद ओली र जगतप्रसाद श्रेष्ठ उच्चमा पुगेका थिए। उनीहरू सबै अवकाशमा गइसकेका छन्।

त्यस्तै २०६३ सालका जिल्ला न्यायाधीशबाट उच्चमा पुग्नेमा नारायणप्रसाद श्रेष्ठ, नारायणप्रसाद पोखरेल, भोजराज अधिकारी, रमेशकुमार खत्री, दयानाथ खरेल, शेखरचन्द्र अर्याल, शालिग्राम कोइराला, विष्णुप्रसाद कोइराला, लक्ष्मीकृष्ण श्रेष्ठ, कृष्णकमल अधिकारी, चिन्तामणि बराल, अनन्तराज डुम्रे, राजेन्द्र खरेल, ठाकुरप्रसाद शर्मा पौडेल, हरिप्रताप के.सी, कृष्णबहादुर थापा, अच्युतप्रसाद भण्डारी, ऋषिप्रसाद अधिकारी, बलभद्र वास्तोला, टेकनारायण कुँवर र चन्द्रबहादुर सारू रहेका थिए। अब कुँवर र सारू मात्र बाँकी देखिन्छन्। ३४ जिल्ला न्यायाधीशमध्ये अन्तिम नम्बरमा सिफारिस भएका सारूले सर्वोच्चमा फड्को मारेका छन्। अब जिल्लाबाट आएका न्यायाधीशमध्ये टेकनारायणले उच्चमा विरासत धान्नु पर्ने अवस्था आएको हो।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ