निक्ष पछाडिका मन्त्रीले नदेखेको स्वास्थ्य मन्त्रालयको झाडी


काठमाडौं । घर आँगन सफा गर्नुपर्छ भनेर मासिक लाखौं खर्च गरेर विज्ञापन गर्दै आएको स्वास्थ्य मन्त्रालय आफ्नै हालत भने खराब छ । मन्त्रालयका भित्ताहरुमा झाडी पलाएको छ । बिरूवा उम्रन थालेको छ । लेउ लागेको छ । आगन्तुक कक्षमा फोहोरको डंगुर छ । मन्त्रालयको भवन, आँगन, छत, भित्ता तथा वरिपरिको अवस्था हेर्दा मन्त्रालयले सरसफाईको नाममा गरेको लाखौं खर्च व्यर्थ र दुरूपयोग भएको प्रस्ट हुन्छ । सरसफाईको दृष्टिकोणले हेर्दा मन्त्रालयको अवस्था बिजोग छ ।

अरुलाई अर्ती उपदेश दिएर राज्यको पैसा हावासरी उडाउने मन्त्रालयका अधिकारीहरूले मन्त्रालयको सरसफाई गर्नुनपर्ने भन्ने व्यापक प्रश्न उठेको छ । मन्त्रालयको जिम्मेवारी लिएर बसेका अधिकारीको चेतमाथिसमेत प्रश्न खडा भएको छ। राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा १७ वर्ष अगाडि स्वास्थ्य मन्त्री आफै संलग्न भएर सरसफाई गरिएका मन्त्रालयका भित्ताहरु र वरिपरिको फोहोर व्यवस्थापन गर्न सक्ने चेतभएको मन्त्री त्यसपछि स्वास्थ्यले पाउन नसकेको भान हुन्छ ।

तत्कालीन् स्वास्थ्य सहायक मन्त्रीका रूपमा आएका निक्ष सम्शेर राणाले मन्त्रालयमा देखेको फोहोर त्यसपछिका मन्त्रीले देखेनन् अथवा देख्न चाहेनन् । मन्त्रीको मात्र होइन कर्मचारीकोसमेत मन्त्रालय सफा गर्नुपर्छ भन्ने चेत पलाएको देखिएन । तत्कालीन् स्वास्थ्य सहायक मन्त्री निक्षले सचिवलाई बोलाएर मन्त्रालयको अहिलेको जस्तै रहेको झाडी, भित्ताभरीको झार सफा गर्न भनेका थिए । तर सचिवले एक हप्तासम्म सफा नगरेपछि १० औं दिन आफैँ गएर मन्त्रालय सफा गरेका थिए ।
स्वास्थ्य मन्त्रालयका तत्कालीन् अधिकारी डा. बाबुराम मरासिनीकाअनुसार त्यो बेला अहिले जस्तै स्वास्थ्य मन्त्रालयमा पूरै झाडी थियो । भित्ताभरी झार पलाएको थियो । निक्षले दश दिन कुरे तर सचिवले नटेरेपछि कसैलाई नभनी शनिबार आफैं आएर सफा गरेको मरासिनी सम्झन्छन् ।
अहिले कोभिड १९ महामारी जस्तै त्यो बेला नेपालमा जापानिज इन्सेफ्लाइटिसले साउन, भदौं, असोज र कात्तिक चारमहिना महामारीको रुप लियो । निक्षको बुढीले तिमी मन्त्री हुने, मान्छे मरिरहेका छन् भनेपछि उनले आफ्नो खल्तीको पैसा हालेर जेइ भ्याक्सिन खरिद गरेका थिए । १५ लाख रुपैयाँको भ्याक्सिन किनेर बाढेका थिए । तर, अहिलेका अधिकारीहरु देश र नागरिकप्रति एकरती उत्तरदायी छैनन् । निक्षले जस्तै गोजीको पैसा झिकेर भ्याक्सिन किनेर दिने कुरा त परै छाडौँ अहिलेका मन्त्रीहरुले मन्त्रालयको झाडी र फोहोर व्यवस्थापनलगायत सजिलै गर्न सक्ने काम पनि गर्न सकेका छैनन् । मन्त्रालयको यस्तो अवस्थाले स्वास्थ्यका अधिकारीहरुलाई गिज्याइरहेको छ ।

पानी पर्ने बित्तिकै मन्त्रालय डुबानमा पर्छ । अहिले समस्यै समस्याको अर्को नाम स्वास्थ्य मन्त्रालय बन्न पुगेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com