६ वर्षमा ८८ जनाले घट्यो मातृ मृत्यु, प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु १५१ मा झर्यो


काठमाडौं । नेपालमा मातृ मृत्यु उल्लेख्य रुपमा घटेको छ । हालै सम्पन्न राष्ट्रिय जनगणनाले नेपालमा प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु १५१ जना भएको देखाएको छ । विगतमा एक एनजिओ न्युइराले गरेको जनसांख्यीक स्वास्थ्य सवेक्षणले भने अत्यास लाग्दो अवस्था दर्शाएको थियो ।

प्रति लाखमा २३९ मातृ मृत्यु रहेकोमा हाल नेपालमा प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु १५१ मा झरेको हो । घर घरमा पुगेर गणकहरुले लिएको रिर्पोटका आधारमा यो संख्या निस्किएको हो । यस अगाडी न्युइराले गरेको सर्भेबारे यस तथ्यांकले शंका उब्जाएको छ ।

दिगो विकास लक्ष्यले कुनै पनि देशमा मातृ मृत्यु अनुपात विश्वव्यापी औसतको दोब्बरभन्दा बढी नहुने गरी प्रतिलाख जीवित जन्ममा ७० भन्दा कममा घटाउने लक्ष्य राखेको छ । विश्वव्यापी लक्ष्य अनुरूप नेपालले पनि सन् २००६ मा प्रतिलाख जीवित जन्ममा २८१ रहेको मातृ मृत्यु अनुपातलाई घटाएर सन् २०२२ सम्ममा ११६, २०२५ सम्ममा ९९ र २०३० सम्ममा ७० पु¥याउने प्रतिबद्धता जनाएको छ । यसै सन्दर्भमा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य विकास साझेदारहरूको संयुक्त प्रयासमा मातृ मृत्यु अनुपातको अनुमान तथा गर्भवती, प्रसूति र सुत्केरी अवधिमा हुने मातृ मृत्युका कारणहरू पहिचान गर्नका लागि राष्ट्रिय जनगणनासँगै नेपालमा पहिलो पटक मातृ मृत्युसम्बन्धी अध्ययन गरेको थियो ।

अधिकारीहरु भन्छन् यस अध्ययनबाट प्राप्त तथ्य र प्रमाणहरूले राष्ट्रिय तथा प्रादेशिक तहमा तथ्यपरक नीति निर्माण गरी मातृ स्वास्थ्यमा सुधार ल्याउन सहयोग पु¥याउने अपेक्षा गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय तथ्याङ्क कार्यालयबिच भएको सम्झौताबमोजिम राष्ट्रिय जनगणना, २०७८ का गणकहरूले प्रत्येक घरमा गई विगत १२ महिनामा घरपरिवारमा भएका जीवित जन्म र प्रजनन उमेर समूहका महिलाको मृत्युको तथ्याङ्क सङ्कलन गरिएको थियो ।

अध्ययनको पहिलो चरणमा जनगणनामा खटिएका गणकले १५–४९ वर्ष उमेर समूहका मृत्यु भएका महिलाको मृत्यु सूचना फाराम भरी सुपरिवेक्षकलाई बुझाएका थिए र उक्त मृत्युको सूचना तोकिएका तालिमप्राप्त स्थानीय स्वास्थ्यकर्मीलाई दिएका थिए । अध्ययनको दोस्रो चरणमा तालिमप्राप्त स्थानीय स्वास्थ्यकर्मीले प्रत्येक मृतक महिलाको घरपरिवारमा गई मृत्युको सूचना फाराममा रहेको जानकारीको पुनः प्रमाणीकरण र गर्भावस्थासँग सम्बन्धित मृत्युको पहिचान गरेका थिए । यसरी पहिचान गरिएको प्रत्येक गर्भावस्थासँग सम्बन्धित मृत्युको विस्तृत विवरण स्वास्थ्यकर्मीले भर्बल अटप्सी फाराम मार्फत सङ्कलन गरेका थिए । भरिएका भर्बल अटप्सी फारामको आधारमा विषय विज्ञद्वारा मातृ मृत्युको कारण पत्ता लगाइएको थियो ।

लुम्बिनी र कर्णाली प्रदेशमा उच्च मातृ मृत्यु अनुपात (क्रमशः २०७ र १७२) र बाग्मतीमा न्यून मातृ मृत्यु अनुपात (९८) पाइएको छ । प्रजनन उमेर समूह (१५–४९ वर्ष) मा मृत्यु भएका कुल १२,९७६ महिलामध्ये ६५३ (पाँच प्रतिशत) महिलाको मृत्यु गर्भावस्थासँग सम्बन्धित रहेको देखाएको छ ।

गर्भावस्थासँग सम्बन्धित ६५३ मृत्यु मध्ये ९५ प्रतिशत (६२२) मातृ मृत्यु रहेको छ । प्रजनन उमेरका महिलाको मृत्युमध्ये मातृ मृत्युको समग्र अनुपात ४.८ प्रतिशत रहेको छ । यस अध्ययनले देखाएको कुल ६२२ मातृ मृत्युमध्ये ११ मातृ मृत्युको पर्याप्त सूचना सङ्कलन नभएको हुनाले यस प्रतिवेदनमा ६११ मातृ मृत्युको कारण र अन्य विशेषताहरूको विश्लेषण गरिएको छ ।

मातृ मृत्यु भएका महिलाहरूमध्ये ३३ प्रतिशत महिलाको मृत्यु गर्भावस्थामा, ६ प्रतिशतको प्रसव अवस्थामा र ६१ प्रतिशत महिलाको मृत्यु सुत्केरी अवस्थामा भएको पाइएको छ । मातृ मृत्यु भएका महिलाहरूमध्ये झण्डै आधा (४७ प्रतिशत) महिलाहरूको मृत्यु लुम्बिनी र मधेश प्रदेशमा भएको पाइएको छ ।

मातृ मृत्यु भएका महिलाहरूमध्ये १० प्रतिशत महिलाहरूको मृत्यु किशोरावस्था (१५–१९ वर्ष) मा भएको छ । अधिकांश (५७ प्रतिशत) महिलाको मृत्यु स्वास्थ्य संस्थामा र २६ प्रतिशत महिलाको मृत्यु घरमा भएको पाइएको छ ।

प्रसव र सुत्केरी अवस्थामा मृत्यु भएका कुल ४१२ मातृ मृत्युमध्ये ५३ प्रतिशत महिलाले सुरक्षित मातृत्व सेवा प्रोटोकलअनुसार चारपटक गर्भ जाँच गराएका र प्रसूति भएको ७ देखि ४२ दिनको अवधिमा मृत्यु भएका १७३ महिलाहरू मध्ये ४५ प्रतिशत महिलाले प्रोटोकलअनुसार तीन पटक सुत्केरी जाँच गराएको पाईएको छ । त्यस्तै, मातृ मृत्यु भएका ६११ महिलामध्ये ३७ जना (६ प्रतिशत) ले गर्भपतन गराएको वा तिनको गर्भ खेर गएको पाइएको छ । प्रसूति र सुत्केरी अवधिमा मृत्यु भएका महिलामध्ये अधिकांश (७६ प्रतिशत) महिलाले स्वास्थ्य संस्थामा प्रसूती गराएका थिए ।

स्वास्थ्य संस्थामा प्रसूति गराएका महिलाहरूमध्ये ६२ प्रतिशत महिलाले सरकारी स्वास्थ्य संस्थामा र ३८ प्रतिशत महिलाले गैरसरकारी स्वास्थ्य संस्थामा प्रसूति गराएका थिए । सुत्केरी अवस्थामा मृत्यु भएका महिलाहरूमध्ये २७ प्रतिशत महिलामा अत्यधिक रक्तस्राव, २३ प्रतिशत महिलामा रिँगटा लाग्ने÷बेहोस वा अचेत हुने तथा १२ प्रतिशत महिलामा काम्ने समस्या भएको पाइयो ।

मृत्यु भएकामध्ये अधिकांश (८३ प्रतिशत) महिला÷परिवारले मृत्यु हुनुपूर्व स्वास्थ्य सेवा लिनका लागि कुनै न कुनै स्वास्थ्य संस्थामा उपचार लिन खोजेको पाइयो । उपचार लिन नखोज्नेहरूमध्ये झन्डै आधा (४८ प्रतिशत) ले यसलाई आवश्यक नठानेको पाइयो । मातृ मृत्युको प्रमुख कारणहरूमा गैरप्रसूतिजन्य जटिलता (अप्रत्यक्ष कारण) (३२ प्रतिशत), प्रसूतिको बेलामा हुने उच्च रक्तस्राव (२६ प्रतिशत) र उच्च रक्तचापजन्य समस्या (१२ प्रतिशत) रहेको पाइएको छ ।

गैरप्रसूतिजन्य जटिलताबाट भएका मातृ मृत्युको प्रमुख कारण कोभिड–१९ (१५ प्रतिशत) रहेको पाइएको छ । पाँच प्रतिशत मृत्यु गर्भपतनका कारणले भएको पाइयो । गर्भावस्थामा मृत्यु भएका महिलाहरूको मृत्युको प्रमुख कारणहरूमा गैरप्रसूतिजन्य जटिलता (४० प्रतिशत), प्रसूतिसँग असम्बन्धित कारण (१७ प्रतिशत) र रक्तचापको समस्या (१४ प्रतिशत) रहेको पाइयो । प्रसवको समयमा मृत्यु भएका महिलाहरूमध्ये तीन चौथाइभन्दा बढी (७८ प्रतिशत) महिलाहरूको मृत्यु प्रसूति रक्तस्रावका कारण भएको पाइयो । सुत्केरी अवस्थामा मृत्यु भएका महिलाहरूमध्ये ३१ प्रतिशत महिलाको मृत्युको कारण प्रसूति अवस्थाको रक्तस्राव र यति नै (३१ प्रतिशत) महिलाको मृत्युको कारण गैरप्रसूति जटिलता रहेको पाइयो ।

गर्भावस्थासँग सम्बन्धित मृत्यु निम्त्याउने “तीन ढिलाइ” लाई हेर्दा उपयुक्त स्वास्थ्य सेवा खोज्नमा ढिलाइ (५७ प्रतिशत), उपयुक्त स्वास्थ्य संस्था पुग्न ढिलाइ (३३ प्रतिशत) र उपयुक्त स्वास्थ्य सेवा प्राप्त गर्न ढिलाइ (४० प्रतिशत) रहेको पाइयो । यी “तीन ढिलाइ” मध्ये अधिकांश मृतक महिला (७४ प्रतिशत) को मृत्युमा कम्तीमा एक प्रकारको ढिलाइ भएको थियो भने १७ प्रतिशत महिलाले तीनवटै ढिलाइ भोगेका थिए ।

नेपालमा अझै पनि धेरै मातृ मृत्यु गर्भावस्थाको समयमा रक्तस्राव र उच्च रक्तचापजस्ता रोकथाम गर्न सकिने कारणले हुने देखाएको छ भने उल्लेख्य मृत्यु आत्महत्या जस्ता गैरप्रसूतिजन्य जटिलताले पनि भएको देखिन्छ । यसले स्वास्थ्य संस्थामा मातृ स्वास्थ्य सेवाको गुणस्तर र रेफरल संयन्त्रमा सुधार, आपतकालीन यातायात व्यवस्थापन र खतराका सङ्केतहरूको समयमै जाँच गर्ने व्यवस्थालाई बलियो बनाउनु पर्ने देखिन्छ ।

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ