तारा गाउँसहित गठन आदेशबाट पर्यटनमा राजनीतिक नियुक्ति खाएकाहरू हुँदै पदमुक्त 


काठमाडौं। तारा गाउँ विकास समितिसहित गठन आदेशबाट पर्यटनमा राजनीतिक नियुक्ति खाएकाहरू पदमुक्त हुने भएका छन्। राजीनामा नदिएपछि गठन आदेश संशोधन गरेर १० वटा समितिका पदाधिकारीहरू पदमुक्त गर्ने प्रक्रिया अघि बढाएको मन्त्रालय स्रोतले बतायो।

मुख्यसचिवको अध्यक्षतामा बसेको बैठकले गठन आदेश, नियम, विनियम वा अन्य तरिकाले राजनीतिक नियुक्ति खाएका पदाधिकारीलाई पनि पदमुक्त गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ। त्यसैले राजनीतिक नियुक्ति खाएका कोही पनि नजोगिने भएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत तारा गाउँ विकास समिति, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, बौद्धनाथ क्षेत्र विकास समिति, बौद्धदर्शन तथा गुम्बा विकास समिति, हनुमानढोका दरबार संग्रहालय विकास समिति, पाटन दरबार संग्रहालय विकास समिति, वृहत्तर जनकपुर क्षेत्र विकास समिति र देवघाट विकास समिति रहेका छन्। उक्त समितिमा राजनीतिक नियुक्ति खाएका पदाधिकारीले राजीनामा नदिए पदमुक्त (घोक्रेठ्याक) लाग्ने अवस्था आएको हो।

तारा गाउँ विकास समितिमा २ जना, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा ६ जना, बौद्धनाथ क्षेत्र विकास समिति ७ जना, बौद्धदर्शन तथा गुम्बा विकास समितिमा २ जना पुरानो सत्ताबाट राजनीतिक नियुक्ति खाएकाहरू कुर्सी ओगटेर बसिरहेका छन्। हनुमानढोका दरबार संग्रहालय विकास समितिमा ४ जना, पाटन दरबार संग्रहालय विकास समितिमा ३ जना, वृहत्तर जनकपुर क्षेत्र विकास समितिमा १ जना र देवघाट विकास समितिमा १७ जना राजनीतिक नियुक्तिवाला पदाधिकारी पदमा टाँसिएर बसिरहेका छन्। उनीहरूले राजीनामा नदिए एकदुई दिनभित्रै पदमुक्त भएको पत्र पाउने गरी प्रक्रिया अघि बढाइएको हो।

विकास समितिहरूमा राजनीतिक नियुक्ति खाएका पदाधिकारीले राजीनामा दिएर सम्मानजनक बहिर्गमन गर्छन् कि पदमुक्त भएको खबर पर्खिएर बस्छन् हेर्न बाँकी छ।

पर्यटन मन्त्रालय अन्तर्गतका मात्र होइन अन्य सबै मन्त्रालय अन्तर्गत यस्ता प्रकृतिका सबै विकास समितिका पदाधिकारी पदमुक्त हुने भएका छन्।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ