शक्तिको दुरुपयोग गरी अवैधानिक रुपमा खुलेको क्रिष्टललाई र्‍यापिड टेष्टको अनुमति, अवैध ल्याबमा अख्तियार आयुक्तसमेत मुछिए 



काठमाडौं । दुबई जाने नागरिकहरुको कोरोना जाँच गर्न र्‍यापिड पिसिआर परीक्षण गर्नुपर्छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको अनुमतति आवश्यक पर्छ । आरटी पिसिआर परिक्षणका लागि अनुमति लिएको ल्याब भएपनि र्‍यापिड परीक्षण लागि छुटै अनुमति चाहिन्छ ।

नेपालबाट विदेश उड्नका लागि ४८ घण्टाको पिसिआर रिपोर्ट वा सम्बन्धित देशको नियम लागू हुने विमानस्थल हेल्थ डेस्कका प्रमुख गोपाल पाण्डे बताउँछन् । दुबईबाहेक अन्य देशका लागि ४८ घण्टा भित्रको रिपोर्ट चाहिने सरकारले निर्णय गरेको छ । तर, दुबई जानका लागि भने चार घण्टाको रिपोर्ट चाहिन्छ । चार घण्टाको रिपोर्टका लागि विमानस्थलमा अनिवार्य र्‍यापिड परीक्षण गर्नै पर्ने हुन्छ ।

विदेश जानेहरुको र्‍यापिड पिसिआर परीक्षण गर्न विमानस्थलमा सातवटा प्रयोगशाला छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नाङ्गलो पसलझैँ खुलेका केहीले ल्याबले नमूना मात्रै संकलन गर्ने बताएका छन् । तर, विमानस्थलमै परीक्षण गर्दै आएका छन् । जहाँ परीक्षण गरेपनि शाखा विस्तार र र्‍यापिड पिसिआर परीक्षणको अनुमति लिएको हुनुपर्छ । अनुमति नै नलिएको क्रिष्टललाई सेवामा सहजिकरण गर्न भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्तसमेत दलबलका साथ लागेको पाइएको छ ।

क्रष्टिल डायग्नोष्टिक प्रालि आफैमा अवैधानिक प्रयोगशाला हो । उसले आरटी-पिसिआर परीक्षणका लागि मात्र सरकारबाट अनुमति लिएको छ । तर,र्‍यापिड पिसिआर परीक्षणका लागि शाखा विस्तार अनुमति, मापदण्ड पुगे नपुगेकोबारे अनुगमन केही गराएको छैन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अनुसार क्रिष्टल अनुमति बिना चलिरहेको छ ।

विमानस्थलमा खुलेको अवैध क्रिष्टल डायग्नोष्टिक ल्याबले अख्तियारदेखि विमानस्थलका कर्मचारीसम्मलाई आर्थिक प्रलोभनमा पारेर हाता लिएको छ । यसको सञ्चालक मेनपावर व्यवसायी कैलाश खड्का हुन् । खड्कामाथि वैदेशिक रोजगारीमा जाने नेपालीहरुसँग मोटो रकम लिएर ठगी गरेको आरोप लागेको छ । उनीलगायत ४२ जनाविरुद्ध सरकारले ठगीमा मुद्दासमेत चलाएको थियो । त्यसलगत्तै फरार भएका खड्का लामो समयसम्म प्रहरीको फरार सूचीमा रहे । यस्ता व्यक्तिलाई संरक्षण गरेर अख्तियारका आयुक्त जयबहादुर चन्द हिडिरहेका छन् ।

चन्दले अख्तिायारको दुरुपयोग गर्दै स्वास्थ्य मन्त्रालय, विभागका उच्च अधिकारीहरुलाई क्रिष्टलमाथि सदासयता देखाउन निर्देशन दिएको आरोप लागेको छ । उनले सरकारी अधिकारीहरुलाई ९८५१२०..३६ नम्बरबाट फोन गर्दै धम्किसमेत दिएको स्वास्थ्यका अधिकारीहरु बताउँछन् । तर, अख्तियार आयुक्त जयबहादुर चन्द आफूले क्रिष्टल ल्यावको विषयमा कसैलाई फोन सम्पर्क नगरेको दाबी गर्छन् । अवैध ल्याबसँग अख्तियारमा बसेर सेटिङ गरेको प्रमाणका आधारमा चन्दलाई बालुवाटारलेसमेत असन्तुष्टि पोखेको छ । अख्तियारमा बसेर अवैध धन्दा नचलाउन चन्दलाई बालुवाटारले चेतावनी दिएको खुल्न आएको हो । प्रधानमन्त्रीको चेतावनीपछि चन्द केही हच्किएको पाइएको छ ।

क्रिष्टल सञ्चालक खड्काले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणको नाममा करिब २ अर्ब ठगी गरेको आरोप लागेको छ । उनी प्रहरीको फरार सूचीमा परेका व्यक्ति हुन् । तर, पक्राउ गर्ने प्रहरीलाई नै खड्काले दुबई जानेहरुको पिसिआर रिपोर्ट क्रिष्टलको मात्रै अनिवार्य गर्न नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्समा सेटिङ मिलाएका छन् । यती समूहको लगानी रहेको हिमालय एयरलाइन्सका अध्यक्ष चाइनिज हुन् । नेपाल एयरलाइन्स सरकारी हो । तर, अहिले दुबैले क्रिष्टल आफ्नो आधिकारिक ल्याब हो भनेर सूचना जारी गरेका छन् ।

अझ गज्जबको कुरा त क्रिष्टलले हिमालय एयरलाइन्सलाई मौखिक रुपमा अनुमति पाएको बताएको छ । स्वास्थ्य मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍यापिड पिसिआर गर्न अनुमति दिएको कुनै प्रमाण तथा कागजात देखाएको छैन । हिमालय एयरलाइन्सका सिनियर सेल्स अधिकृत बसन्त न्यौपाने क्रिष्टलले मौखिक रुपमा अनुमति छ भनेको आधारमा आफूहरुले आधिकारीक ल्याब भनेको बताउँछन् ।

गत ६ जेठ ०७५ मा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा माइग्राम्स र बायोमेट्रिक नामका सिन्डिकेट खडा गरी कामदार ठगीमा संलग्न विभिन्न कम्पनीहरूमा प्रहरीले छापा मारी ४८ जनालाई पक्राउ समेत गरेको थियो । ४२ जनाविरुद्ध सरकारले ठगीमा मुद्दासमेत चलाएको थियो । त्यस लगत्तै फरक भएका खड्का लामो समयसम्म प्रहरीको फरार सूचीमा रहे ।

चिनजानको हिसाबले भनियो होला, कसैलाई थर्काएको छैन : आयुक्त जयबहादुर चन्द

क्रिष्टल डायग्नोष्टिक ल्याब अवैध रुपमा विमानस्थलमा चलेको छ । त्यसलाई संरक्षण गर्ने नाममा सरकारी अधिकारीलाई धम्किदिने अधिकार तपाईंलाई कसले दियो?

मैंले कसलाई ठाडो स्वरुपमा क्रिष्टलको विषयमा कुरा गरेँ । क्रिष्टलका लागि मैंले किन ठाडो स्वर गर्नुपर्‍यो । मेरो दाइभाइ कोही हैन ।

प्रहरीको फरार सूचीमा परेको व्यक्तिको अवैध ल्याबको संरक्षणमा किन  लाग्नुभयो?

एँ , तपाइले कसरी विश्वास गर्नुभयो मैंले फोन गरेर क्रिष्टलको विषयमा बोले भनेर । यो सबै बिलकूल गलत कुरा हो । मैले कसैलाई फोन गरेको छैन ।

अनुगमनको कुरा गर्दा स्वास्थ्यका अधिकारीलाई ९८५१२०..३६ नम्बरबाट त तपाईंले नै फोन गरेको देखिन्छ?

कोही व्यक्ति वा साथीभाइले कहिले काही एकपटक फोन गर्दिनोस् भन्दा नगर्ने । चिनजानका हिसाबले भनियो होला तर, कसैलाई धम्कि दिएर क्रिष्टलको संरक्षण गरेको छैन र गर्दिन पनि । हिजो पुलिसमा हुँदा त मैले कसैलाई थर्काइन आज आयुक्त हुँदा थर्काउछु होला ।

अवैध ल्याबसँग अख्तियार जोडिनु कति जायज हो?

तपाईं बेकार कुराको पछाडि नलाग्नोस् । यदी अवैधानिक हो अनुमति लिएको छैन भने स्वास्थ्य मन्त्रालय के हेरेर बसेको छ, उसले तत्काल बन्द गर्न किन नसकेको? अवैध ल्याब चल्न नदिने काम स्वास्थ्य मन्त्रालय र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको हो । उनीहरुले चलाउन दिने मैले किन संरक्षण गर्नुपर्ने?

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com