प्रहरी अस्पताल प्रमुख डा. सिंहमाथि छानबिन सकियो, प्रतिवेदन थन्कियो


काठमाडौं । नेपाल प्रहरी अस्पतालकी प्रमुख एआईजी डा. आशा सिंहमाथि अनियमितताको आरोपमा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ ।

प्रहरी अस्पतालमा भएको घोटालामा छानबिन गर्न प्रहरी प्रधाना कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) विश्वराज पोखरेलको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसमक्ष छानबिन प्रतिवेदन बुझाएको खुल्न आएको छ । तर महानिरीक्षक क्षेत्रीले छानबिन प्रतिवेदन गोप्य राखेको पाइएको हो ।

छानबिन भन्दा पनि छारो हाल्ने किसिमको प्रतिवेदन तयार पारिएकाले गोप्य राखिएको हुन सक्ने चर्चा प्रहरी प्रधान कार्यालय भित्र चल्न थालेको छ । डिआईजी वसन्त लामा एसएसपी पूजा सिंह र भीम ढकाल तथा कानुन शाखाका डिएसपी ज्ञानेन्द्र बस्नेत सदस्य रहने गरी पोखरेल नेतृत्वमा प्ररहरी अस्पतालमा भएको घोटाला छानबिन गर्न समिति बनाइएको थियो ।  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अस्पताल प्रमुख सिंह र आर्थिक प्रशासन हेर्ने अधिकारीमाथि छानबिन गर्न समितिलाई निर्देशन दिएका थिए ।

समितिलाई कोभिड- १९ को बेला औषधि, उपकरण खरिदमा भएको अनियमितताबारे छानबिन गर्ने टिओआर दिइएको थियो  । छानबिनमा अन्य अधिकारीहरू पनि तानिने सम्भावना रहेकाले प्रतिवेदन फितलो बनाइएको आशंका छ ।

अस्पताल प्रमुख एआईजी सिंहमाथि भारतबाट नयाँ कै मूल्य हालेर सेकेन्ड ह्यान्ड पिसिआर मेसिन किनेको, राष्ट्र संघीय शान्ति मिसनमा सहभागी नभइ सहभागी भएकै हैसियत देखाएर तक्मा लगाएको, गोर्खा दक्षिण बाहु (गोदबा) पदक लगाएकोलगायतका दर्जनौं आरोप लाग्ने गरेको छ । यो विषयमा छानबिन समितिले के निष्कर्ष निकाल्यो बाहिर आइसकेको छैन । छानबिन प्रतिवेदन तत्काल सार्वजनिक गर्दा राम्रो हुने प्रहरी उच्च अधिकारीहरुको धारणा छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com