आयोग र अदालतलाई चुनौती दिँदै वीपीका रेक्टर खनाल माओवादी केन्द्रको सदस्य


काठमाडौं । निर्वाचन आयोग र अदालतको आदेशलाई चुनौती दिँदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका विवादित रेक्टर डा. गुरू खनाल माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभागको सदस्य बनेको पाइएको छ ।

कल्पना धमलाको नेतृत्वमा गठन भएको माओवादी केन्द्रको स्वास्थ्य विभागमा अनियमिततामा मुछिएका वीपी प्रतिष्ठानका रेक्टर खनालसहितका सरकारी, सार्वजनिक पदमा रहेका स्वास्थ्यकर्मीहरू सदस्य बनेकाे पाइएको हो । खनाल मात्र होइन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लाका रेक्टर डा. नीरेश थापा पनि माओवादी केन्द्रको स्वास्थ्य तथा जनसंख्या विभागको सदस्य बनेको पाइएको छ ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) अनुसार नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बाहलवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने व्यवस्था रहेकाले राजनीतिमा भाग लिन निर्वाचन आयोगले निषेध गरेको हो ।  आयोगले राजनीतिक दलहरुलाई पटकपटक यो विषयमा सचेतसमेत गराएको छ ।

 

यता उच्च अदालत पाटनले पनि हालै  सार्वजनिक पदमा बहाल रहेकाहरूले राजनीतिमा भाग लिन नपाउने प्रावधान रहेको उल्लेख गर्दै राजनीतिमा भाग नलिन अन्तरिम जारी गरेको छ । तर वीपीका रेक्टर खनाल, कर्णालीका रेक्टर थापासहितका स्वास्थ्यकर्मीहरू त्यसलाई चुनौती दिँदै माओवादी केन्द्रको स्वास्थ्य विभाग सदस्य बनेका हुन् ।

माओवादीको स्वास्थ्य विभागमा वीपी प्रतिष्ठान धरानमा कार्यरत डा. मधुर बस्नेत, भरतपुर अस्पतालका अध्यक्ष, डा. भोजराज अधिकारी, भरतपुर क्यान्सर अस्पतालका उपनिर्देशक डा. कृष्णसागर शर्मा, शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकुका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारी पनि सदस्य बनेको फेला परेको छ । त्यस्तै भक्तपुर क्यान्सर अस्पतालको मेट्रोन, दयालक्ष्मी जोशी, कर्णाली प्रतिष्ठानका डा. अर्जुन तिवारी, स्वास्थ्य विभागकी भावना सुवेदीलगायत पनि माओवादी केन्द्रको स्वास्थ्य सेवा विभागको सदस्य बनेको पाइएको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सरकारी, सार्वजनिक पदमा बहाल रहेको व्यक्ति राजनीतिक दलको सदस्य हुन नसक्ने बताए । स्वास्थ्य लाइभसँग कुरा गर्दै प्रवक्ता पौडेलले त्यस्तो भेटिए आयोगले राजनीतिक दलसम्बन्धी ऐनमा टेकेर कारबाही गर्ने स्पष्ट पारे ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com