मन्त्रिपरिषद् विस्तार: उमेश श्रेष्ठ उद्योग, प्रकाशमान गृहमा आउने चर्चा


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा उमेश श्रेष्ठ र उपप्रधानसहित गृह मन्त्रालयमा प्रकाशमान सिंहलाई ल्याउन खोजेको चर्चा चलेको छ ।

स्वास्थ्य मन्त्रालयमा हुँदा तुलनात्मक रूपमा राम्रो काम गरेको पहिचान बनाएका पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई प्रधानमन्त्री देउवाले उद्योग, वाणिज्य तथा आपूर्तिको जिम्मेवारी दिन लागेको बालुवाटार स्रोतले स्वास्थ्य लाइभलाई बतायो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विनाविभागीय राज्यमन्त्रीको हैसियतमा रहेका पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठलाई उद्योगको चाँबी दिँदा उपयुक्त हुने बालुवाटरको बुझाई छ ।  हालका स्वास्थ्यमन्त्री विरोध खतिवडाभन्दा राज्यमन्त्रीको हैसियतमा श्रेष्ठले स्वास्थ्यमा राम्रो गरेको र कांग्रेस केन्द्रीय सदस्यमा समेत निर्वाचित भएकाले उनलाई उद्योगमन्त्री बनाउने मुडमा प्रधानमन्त्री देउवा रहेको बालुवाटार स्रोतको दाबी छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग नाम जोडिएर उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिएपछि उक्त मन्त्रालय खाली रहेको छ । कांग्रेस कै कोटाबाट हमाल उद्योगमन्त्री भएको भन्दै उक्त मन्त्रालय अहिले प्रधानमन्त्री देउवाले नै सम्हालिरहेका छन् ।

यता कांग्रेस महामन्त्रीमा पराजित भएपछि डा. मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका थिए ।  रिक्त रक्षा मन्त्रालयको जिम्मेवारी देउवाले प्रकाशमान सिंहलाई दिनेगरी परामर्श गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा पार्टी सभापति बनाउन प्रकाशमानले आफूलाई सहयोग गरेको भन्दै प्रधानमन्त्री  देउवाले उपप्रधानमन्त्रीसहित रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्न भनेको बालुवाटार स्रोतको भनाइ छ ।  सरकारमा सहभागी हुन भन्दै देउवाले प्रकाशमानलाई बालुवाटार बोलाएर परामर्श गरिसकेका छन् ।

रक्षामा नमाने गृहमन्त्री बालकृष्ण खाँणलाई रक्षा मन्त्रालयमा पठाएर भएपनि  प्रकाशमानलाई गृहमन्त्री बनाउने कसरतमा समेत देउवा जुटेका छन् । पार्टी सभापतिमा देउवालाई सहयोग गर्न प्रकाशमानसमक्ष प्रस्ताव लिएर जाने खाँण पनि त्यसमा सकारात्मक रहेको बालुवाटार स्रोतको दाबी छ । प्रकाशमान सरकारमा सहभागी हुन नमाने उनकै प्रस्तावमा सुजाता कोइरालालाई रक्षा वा उद्योगमन्त्री बनाउनेतर्फ पनि विकल्प सोचिएको बालुवाटार स्रोतले जनायो ।

क्याटेगोरी : प्रदेश, विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com