कोरोना ‘प्रोटोकल’ उल्लंघन गरेको भन्दै मन्त्री झाँक्रीको आलोचना


काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले कोरोना(कोभिड-१९)को ‘प्रोटोकल’ उल्लंघन गरेको भन्दै सामाजिक सञ्चालमा आलोचना सुरू भएको छ । ‘पिर्के सलामी’ले सर्वत्र चर्चा छाएकी मन्त्री झाँक्रीले फेरि कार्यभार सम्हालेको १ सय दिन पुगेको उपलक्ष्यमा सयौंको संख्यामा मन्त्रालयमा भीड जम्मा गरेको भनेर उनको आलोचना सुरू भएको हो ।

हिजो मात्र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णय सावर्जनिक गर्दै अब सार्वजिनक स्थलमा स्वास्थ्य मापदण्ड पालना गरेर २५ जना मात्र उपस्थित हुन पाइने आदेश जारी गरिएको जानकारी गराएका थिए । त्यसको भोलिपल्टै सहरी विकासमन्त्री झाँक्रीले मन्त्रालयको सभाहल(सार्वजनिक स्थल)मा सय दिनको उपलब्धि सुनाउन एक सयभन्दा बढी मानिसहरू उपस्थित गराएपछि मिडिया र सामाजिक सञ्जालमा त्यसले चर्चा बटुलेको छ ।

सरकारले आइतबार मात्र नयाँ भेरियन्ट ओमिक्रोन सहितको कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश, २०७८ जारी गरेको छ । उक्त आदेश जारी गर्ने बेलामा मन्त्रिपरिषद्को बैठकमा सहभागी मन्त्रीले आदेश जारी भएको पहिलो दिन नै आदेशको उल्लंघन गरेपछि त्यो कदमको आलोचना भएको देखिन्छ ।

मन्त्री झाँक्रीले मन्त्रालयमा भीड जम्मा गरे कै दिन साेमबार  ६ हजार ७ सय ३४ जनामा काेराेना संक्रमण पुष्टि भएको छ । यो कोभिड-१९ को तेस्रो लहर सुरू भएपछि अहिले सम्मकै धेरै संख्या हो । त्यस्तै सक्रिय संक्रमित ३० हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ता र आलोचकहरूको ध्यान सहरी विकासमन्त्री झाँक्रीले सार्वजनिक गरेको ३७ बुँदे उपलब्धिभन्दा उपलब्धि सुन्न र  समाचार संकलन गर्न गएको भीडतर्फ केन्द्रीय भएको पाइन्छ ।  एक सय दिनको कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रममा प्रोटोकल उल्लंघन गर्दै एक सय भन्दा बढि मानिस सहभागी गराएपछि उनी आलोचकहरूको तारोमा परेकी हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ मा मन्त्रिपरिषद् विस्तार गर्दा झाँक्री सहरी विकासमन्त्री भएकी थिइन् । उनी मन्त्री बनेको आज १ सय दिन पुगेको छ ।

 

क्याटेगोरी : अन्तर्राष्ट्रिय, प्रदेश, समाचार, सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com