के मसाजलाई मेडिकल टुरिजमसंँग जोड्न सकिएला ?

स्पालाई मेडिकल टुरिजमसँग जोड्न सकिने पर्यटनमन्त्रीको धारणा


काठमाडौं ।  स्पा अर्थात मसाज व्यवसाय । नेपालमा स्पा व्यवसायमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ । ठूल्ठूला तारे होटलदेखि ठमेलका गल्लीसम्म मसाज (स्पा) सेन्टरहरु खुलेका छन् । मसाज र साउनामा रमाउनेको संख्या पनि उल्लेख्य बृद्धि भइरहेको छ । स्पालाई पछिल्लो समय मनोरञ्जनभन्दा आयुर्वेद र प्राकृतिक चिकित्सासँग जोडेर हेर्न थालिएको छ ।

स्पा व्यवसायी तथा सरोकारवालाहरुले पनि मसाज भनेको मनोरञ्जनको साधन नभई प्राकृतिक चिकित्सा र उपचारसँग सम्बन्धित रहेको भन्दै बहस छेडेका छन् । यही बहसमा मिसिन आइपुगेका छन् बागमती प्रदेशका संस्कृति पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ । उनले स्पा व्यवसायलाई मर्यादित र व्यवस्थित ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिँदै यसलाई मेडिकल टुरिजमसँग जोड्न सकिने धारणा राखे ।

स्पा सङ्घ नेपालको प्रथम वार्षिकोत्सवका अवसरमा पारेर पर्यटनमन्त्री श्रेष्ठले स्पा क्षेत्र मुलुकको अर्थतन्त्रको बलियो आधार हुने र यसलाई प्राकृतिक चिकित्सा पद्धतिको रुपमा विकास गरेर विदेशी पर्यटकलाई आकर्षित गर्ने गरी व्यवस्थापन गर्न सुझाव दिएका छन् ।

स्पा क्षेत्रमा भएको विकृति र विसङ्गति अन्त्यका साथै व्यवसायलाई व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्न आवश्यक रहेको उनको भनाइ छ ।  नेपालको पर्यटन उद्योगसँग जोडिएको स्पा क्षेत्रलाई हेल्थ टुरिजम र एकेडेमिक कोर्षका रुपमा विकास गर्नुपर्नेमा मन्त्री श्रेष्ठले बहस छेडेका छन् । उनले अन्य देशमा पनि स्पामा पर्यटकको आकर्षण रहेको दृष्टान्त प्रस्तुत गर्दै विदेशीहरु रिफ्रेसमेन्ट र स्वस्थ रहन पनि स्पाथेरापी गर्न जाने सम्भावना रहेको पर्यटनमन्त्री श्रेष्ठले औँल्याएका छन् ।

यो बहसमा मिसिन काठमाडौँ महानगरपालिका-२६ का वडाध्यक्ष ख्यामराज तिवारी, ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डङ्गोल समेत आइपुगेका छन् । उनीहरुले पनि स्पा व्यवसाय प्राकृतिक आयुर्वेद चिकित्साको रुपमा विकास गर्न आवश्यक रहेको जोड दिए ।  यो तर्कमा स्पा एण्ड वेलनेस एसोसिएसन, लाजिम्पाटका अध्यक्ष सुरेश पुरी पनि सहमत देखिए । विदेशबाट स्पा सम्बन्धी विशेष कोर्ष गरेर आएका पुरी स्पालाई चिकित्सा क्षेत्र मै राख्नु पर्ने बताउँछन् । होटल सोल्टी लगायतका ठूल्ठूला तारे होटलमा स्पा व्यवसाय सञ्चालन गर्दै आएका उनले स्पामा विदेशीको आकर्षण बढ्दै गइरहेकाले स्पालाई मेडिकल टुरिजमको रुपमा विकास गर्न सक्ने सम्भावना रहेको धारणा राखे ।

स्पा सङ्घका अध्यक्ष शुभलाल थिङले कोभिड–१९ सङ्क्रमणकालीन स्पा सञ्चालन मापदण्ड-२०७८ बनाएर लागू गरिएको जानकारी दिँदै कोरोनाकालमा पनि स्पाथेरापी गराएर रोकप्रतिरोधात्मक क्षमता बृद्धि गर्न सकिने स्पष्ट पारे । स्पा तथा स्पाका विविध सेवाहरुले कोभिड-१९ लागेकाहरुलाई पुनर्ताजगी गर्न र रोग प्रतिरोधात्मक क्षमता बढाइ रोग नै लाग्न नदिने गज्जबको फाइदा पुर्‍याउने विभिन्न अनुसन्धानबाट समेत पुष्टि भएकाले मापदण्ड पुर्‍याएर स्पा क्षेत्रलाई निर्धक्क खोल्न दिनुपर्नेमा थिङको जोड छ ।

 सीटीईभीटीमा स्पा थेरापिष्ट कोर्ष

प्रविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद् (सीटीईभीटी)ले  स्या थेरापिष्टलाई कोर्ष कै रुपमा पढाउन थालेको छ ।  सीटीईभीटीले स्पा थेरापिष्ट पाठ्यक्रमका रुपमा विकास गरेसँगै पाठ्यक्रमअनुसार तालिम लिनेको सङ्ख्या पनि बढ्दै गएको छ ।   यसले स्पालाई व्यवस्थित, मर्यादित र व्यवसायिक मात्र बनाउन मद्दत गरेको छैन दक्ष जनशक्ति उत्पादन र रोजगारी सिर्जनामा समेत बल पुगेको देखिन्छ । फिजियोथेरापी जस्तै स्पा थेरापी पनि विस्तारै आकर्षणको केन्द्र बन्ने सम्भावनाको ढोका सीटीईभीटीले खोलिदिएको छ ।

स्पा क्षेत्र नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा नभई नहुने १० वटा अंग भित्र पर्न सफल भएको छ । पर्यटन क्षेत्रमा रहेका १ सय २५ विधामध्ये स्पा क्षेत्र ‘टप टेन’भित्र पर्न सफल भएपछि यो व्यवसायका बढ्दो आकर्षण पाइन्छ ।  स्पालाई मेडिकल टुरिजमका रुपमा विकास गरेर अघि बढ्न सक्ने हो भने नेपाल स्पाका लागि आकर्षण गन्तव्य बन्न सक्ने सम्भावना रहेको विज्ञहरुको दाबी छ ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, जीवनशैली, प्रदेश, मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com