सिभिललाई डेढ करोड दिलाउने श्रेष्ठको प्रसूतिमा ६० लाखको योगदान


काठमाडौं । निजामती कर्मचारी (सिभिल हस्पिटल)लाई डेढ करोड बढीको स्वास्थ्य सामग्री दिलाउने बागमती प्रदेशका प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले प्रसूति गृहलाई ६० लाखको योगदान गरेका छन् ।

काठमाडौं क्षेत्र नम्बर १ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य श्रेष्ठले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)लाई ६० लाख रुपैयाँ एम्बुलेन्स तथा स्वास्थ्य सामग्री खरिदका लागि उपलब्ध गराएका छन् ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका लागि एम्बुलेन्स तथा स्वास्थ्य उपकरण खरिद गर्दा विनियोजित ६० लाख बजेटमध्ये ५९ लाख ७६ हजार खरिद र २४ हजार प्रशासनिक खर्च शीर्षकमा राखिएको छ ।

बागमती प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री समेत रहेका सांसद श्रेष्ठले काठमाडौं महानगरपालिका वडा नम्बर ११ थापाथलीस्थित प्रसूति गृहलाई प्रदेश पूर्वाधार, स्वास्थ्य प्रबर्द्धन तथा कोभिड पुर्नस्थापना साझेदारी कार्यक्रममार्फत रकम दिएका हुन् ।

यसअघि श्रेष्ठमार्फत नै सिभिल अस्पतालले डेढ करोड बढीको स्वास्थ्य सामग्री पाइसकेको छ । श्रेष्ठको पहलमा सिभिललाई च्वाइस ह्युमनिटेरियन नेपालले कोरोना भाइरस संक्रमित बिरामीको उपचारको लागि अत्यावश्यकीय भेन्टिलेटर, प्रोटेबल युएसजी , इमर्जेन्सी ट्रली, अक्सिजन सिलिन्डर पिपिईलगायतका स्वास्थ्य सामग्रीहरू उपलब्ध गराएको थियो । उनी अहिले संस्कृति तथा पर्यटनमन्त्री भएपनि स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि उत्तिकै योगदान दिइरहेका छन् ।

मन्त्री श्रेष्ठकै अग्रसरतामा कोरोना आइसोलेसन खोलिएको काठमाडौंको मध्य बानेश्वर महादेवस्थानमा रहेको रत्न राज्य माध्यामिक विद्यालयको भवन निर्माण तथा पुस्तकालय, कक्षाकोठा र फर्निचर व्यवस्थापनमा ३९ लाख ४ हजार प्रदान गरिएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित रत्नराज्य स्कुलसँगै रहेको रत्न पुस्तकालयलाई पनि उनले १० लाख दिएका छन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ डिल्लीबजारस्थित पद्यकन्या माध्यामिक विद्यालयको मन्टेश्वरी भवन निर्माणको लागि श्रेष्ठले ४० लाख उपलब्ध गराएका छन् । पद्यकन्या स्कुलको भौतिक पूर्वाधार निर्माण तथा विकासको उनको ठूलो योगदान रहेको छ ।

कोरोना संक्रमितलाई घर-घरमा औषधि पुर्‍याउने सांसदका रूपमा परिचित श्रेष्ठले  डेल्टा भेरिएन्टले ल्याएको कोभिड-१९ को दोस्रो लहरमा बानेश्वरको रत्नराज्य र बुद्धनगरको मेरो हस्पिटलमा अक्सिजनसहितको नि:शुल्क आइसोलेसन खोलेर सेवा प्रदान गरेका थिए । त्यसले पनि उनको स्वास्थ्य सेवामा विशेष चासो रहेको छ भन्ने देखिन्छ ।

श्रेष्ठले आफैं लागेर सरकारी स्वामित्वमा ल्याएको बुद्धगरस्थित जोगीकुटीको जग्गामा पार्क तथा भवन निर्माणका लागि पनि बजेट विनियोजन गरेका छन् । भूमाफियाले दर्ता गरिसकेको जग्गा फिर्ता ल्याएर पार्क निर्माण गर्न लागिएको उनको भनाइ छ ।

९० प्रतिशत सांसदले बजेट दुरुपयोग गर्ने गरेको दाबी गर्दै श्रेष्ठले आफूले उक्त बजेट दुरुपयोग गरेको कसैले फेला पारे राजनीति नै छोडिदिने बताउँछन् ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : ## एम्बुलेन्स, ## दीपेन्द्र श्रेष्ठ, ## प्रदेश सरकार, ## प्रसूति गृह, ## सिभिल हस्पिटल, #बागमती प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com