टेकु अस्पतालले आफूखुसी खोप रोकेपछि स्वास्थ्य मन्त्रालयको हस्तक्षेप


काठमाडौं । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आफूखुसी कोभोड-१९ विरुद्धको खोप कार्यक्रम रोकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हस्तक्षेप गरेको छ ।

अस्पतालले आइतबार एक सूचना निकाल्दै माघ १६ गतेसम्म ७ दिनको लागि खोप कार्यक्रम स्थगित गरेको जानकारी गराएको थियो । अस्पतालमा कार्यरत रही बिरामीको उपचार र कोभिड-१९ विरुद्धको खोप कार्यक्रममा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारीहरू ५० जनाभन्दा बढी कोभिड-१९ बाट संक्रमित भएको कारण देखाउँदै अस्पताल निर्देशक डा. मनिषा रावलले खोप कार्यक्रम स्थगित गरेको सूचना टाँसेकी थिइन् ।

अस्पतालले मन्त्रालयसँग समन्वय नगरी खोपको उच्च माग भइरहेको बेला खोप कार्यक्रम नै स्थगित गरेको भन्दै  स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरू असन्तुष्ट बनेका छन् ।अस्पताल निर्देशक डा. रावललाई तत्काल खोप कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको मन्त्रालय उच्च स्रोतले स्वास्थ्य लाइभलाई जनायो ।

अस्पताल निर्देशकको व्यवस्थापकीय क्षमतामाथि नै प्रश्न उठाउँदै स्वास्थ्य मन्त्रालयका एक अधिकारीले स्वास्थ्य लाइभसँग भने, ‘टेकु अस्पतालमा डेल्टा भेरिएन्टको बेला पनि खोप कार्यक्रम राम्रै चलाएको गुडविल छ । तर यसपटक संक्रमणको कारण देखाउँदै मन्त्रालयसँग समन्वय नै नगरी खोप कार्यक्रम स्थगित गर्नु केटाकेटीपना र अपरिपक्वता देखियो । मन्त्रालयले तत्काल खोप कार्यक्रम सञ्चालन गर्न भनिसकेको छ । भोलिदेखि नै चल्छ भन्ने विश्वास छ ।’,

टेकु अस्पतालले भने स्वास्थ्य सेवा विभागसँग समन्वय गरेर खोप कार्यक्रम स्थगित गरेको भनेर जवाफ फर्काएको ती अधिकारीले सुनाए । यता अस्पतालले आजै बैठक बसेर खोप कार्यक्रम सञ्चालन गर्ने विषयमा निर्णय लिने तयारी गरेको छ ।

 

क्याटेगोरी : विविध, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com