चिकित्सक संघको ‘हटलाइन’मा फोन गरेर कोरोना परामर्श लिन सकिने
 
	
                                            काठमाडौं । नेपाल चिकित्सक संघको हटलाइन ११५६ नम्बरमा फोन गरेर कोरोनालगायतको स्वास्थ्य समस्याका विषयमा परामर्श लिन सकिने भएको छ ।
नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालकाअनुसार कोभिडको तेस्रो लहर बढ्दै गएकाले कोरोना सङ्क्रमितलाई लक्षित गरी संघले आजदेखि कल सेन्टर सुरु गरेको हो ।आजदेखि सञ्चालनमा आएको कल सेन्टर बाट प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म परामर्श दिइने उनको भनाइ छ ।
कोभिड कल सेन्टर नेपाल चिकित्सक संघ, अमेरिका नेपाल मेडिकल फाउन्डेसन र नेपाल टेलिकमको संयुक्त पहलमा सञ्चालनमा ल्याइएको नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले जानकारी दिए । सम्पूर्ण नागरिकहरुले स्वास्थ्य सम्बन्धी समस्याका लागि नेपाल चिकित्सक संघको ११५६ नम्बरको कल सेन्टरमा प्रत्येक बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सम्पर्क राखी आवश्यक परामर्श लिन सक्ने व्यवस्था मिलाइएको अध्यक्ष डा. कार्कीको भनाई छ ।
संघका महासचिव डा. रिजालले कल सेन्टर सञ्चालनका विषयमा सूचना नै निकालेर परामर्श लिन सबैमा अपिल गरेका छन् ।


 
                            
                             
				 
				 
				 
				 
				 
				 
				 
				
 
             
             
             
             
             
            
तपाईको प्रतिक्रिया दिनुहोस