वीपी प्रतिष्ठानपछि राप्तीमा ‘किर्ते’ प्राध्यापकलाई उपकुलपति बनाउन चलखेल !


काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘किर्ते’ प्राध्यापक डा. ज्ञानेन्द्र गिरीलाई तत्कालिन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको सक्रियतामा उपकुलपति बनाइयो ।

प्राध्यापकको उपाधि नक्कली रहेको र अनियमिततामा मुछिएपनि सरकारले किर्ते प्राध्यापक गिरीलाई वीपीको उपकुलपतिबाट बर्खास्त गर्न सकेको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रमुख विशेषज्ञ डा. श्याम शुन्दर यादवलाई वीपीमा कामकाज गर्न खटाउनु पर्ने अवस्था आएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदमा नियुक्त गरेपछि प्रतिष्ठानको बेहाल भएको देख्दा-देख्दै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापा र दाङका नेकपा (यस) का सांसद मेटमणी चौधरीको सेटिङमा अर्का शंकास्पद प्राध्यापक डा. ऋषिकेश नारायण श्रेष्ठलाई उपकुलपति बनाउने चलखेल शुरु भएको छ ।  केपी ओली प्रधानमन्त्री हुँदा देशमा भ्रष्टाचार मौलाएको भन्दै विद्रोह गर्ने सांसद मेटमणि चौधरी नै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि श्रेष्ठको लबिइङमा हिँडेको चर्चा चल्न थालेको छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापालाई रजिष्ट्रार पदको निमित्त अयोग्य रहेको र राजिष्ट्रार हुनु पूर्व पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको लेखा अधिकृत हुँदैदेखि राप्ती प्रतिष्ठानभित्र उपकरण खरिद र भवन निर्माणमा पूर्व उपकुलपति डा. संगीता भण्डारीको अनियमितता ढाकछोप गर्न आर्थिक सल्लाहकार भएर कार्य गरेको आरोप लाग्ने गरेको छ । आफ्नो घरको कुकुरको उपचार समेत प्रतिष्ठानको खर्चमा गराउन रजिष्ट्रार थापाले नै सल्लाह दिएको चर्चा चल्ने गरेको छ ।  अहिले उनै थापा दाङका सांसद चौधरीसँग मिलेर श्रेष्ठलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति बनाउने चलखेलमा लागेको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरु सुनाउँछन् ।

रजिष्ट्रार थापा आर्थिक चलखेलमा समेत माहिर रहेकाले त्यसको व्यवस्थापन आफूले गर्ने भन्दै हिँड्न थालेको खुल्न आएको छ ।  रजिष्ट्रार थापा कै योजनामा कुनै समय काठमाडौंको बी एण्ड बी अस्पताल काठमाडौं विश्वविध्यालयको मातहतको शिक्षण अस्पताल रहेको बखत लेक्चररमा नियुक्ति लिएका र सो अस्पताल शिक्षण अस्पतालबाट खारेज भए पछि लेक्चररबाट सीधै प्राध्यापकमा नियुक्ति लिएर किष्ट मेडिकल कलेजमा सेवा प्रारम्भ गरेका डा.  श्रेष्ठलाई उपकुलपति नियुक्त गर्न सांसद चौधरीले स्वास्थ्यमन्त्री विरोध खतिवडा र माधव नेपाललाई निरन्तर दबाब दिईरहेको प्रतिष्ठान उच्च स्रोत स्वास्थ्य लाइभलाई बताउँछ ।

बीएण्डीबी अस्पतालको विश्वस्त स्रोतकाअनुसार डा. श्रेष्ठले बी एण्ड बी अस्पतालमा लेक्चरर पदमा कार्य गरेपछि कुनै अनुसन्धानात्मक कार्य नगरी उनलाई किष्ट मेडिकल कलेजले प्राध्यापक पदमा नियुक्ति दिएको थियो । उनले त्रिभुवन विश्वविद्यालय महाराजगञ्ज केन्द्रीय क्याम्पसबाट शारद वन्तलाई प्रयोग गरेर प्राध्यापक रहेको प्रमाणित गराएको स्रोतको दाबी छ “डा. श्रेष्ठको प्राध्यापक पद भनेको वीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई बिराट मेडिकल कलेजका निर्देशक डा. ज्ञानेन्द्रमानसिंह कार्कीले नियुक्त दिएको जस्तै हो, कुनै अनुसन्धान नै नगरी प्राध्यापक पद लिएर प्राध्यापक हुने नेपाल मात्र एउटा देश हो” बीएण्डबीका एक चिकित्सकले स्वास्थ्य लाइभसँग भने ।

यता प्रतिष्ठानका रजिष्ट्रार प्रकाश थापाले भक्तपुर क्यान्सर अस्पतालमा अनियमितता गरेर दुबैको आरोप लागेका डा. ऋषिकेश नारायण श्रेष्ठलाई उपकुलपति बनाउन राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको गुरुयोजना अन्तर्गतको ७ अर्बको निर्माणको कार्य राजधानीका केही ठेकेदारहरुलाई दिने आश्वाशन दिँदै स्वास्थ्यमन्त्री खतिवडा र एसका अध्यक्ष माधव नेपाललाई बुझाउने नाममा आर्थिक चलखेल थालेको आरोप समेत लाग्न थालेको छ । राप्ती प्रतिष्ठानकाे उपकुलपतिका लागि १६ जनाले आवेदन दिएकाेमा ५ जना छाेटाे सुचिमा परेका छन् । तर, स्वास्थ्य मन्त्रालयले उपकुलपति सिफारिसका लागि तीन जनाकाे नाम कुलपती समक्ष पेश गर्नु पर्छ । अहिले सम्म रकमकाे बार्गेनिङमा लागेर नाम सिफारिस हुन सकेकाे छैन । श्राेतका अनुसार १-२ दिन भित्र तीन जनाकाे नाम सिफारिस हुनेछ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #उपकुलपति, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी, #डा. ऋषिकेश नारायण श्रेष्ठ, #डा. संगीता भण्डारी, #रजिष्ट्रार प्रकाश थापा, #राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, #स्वास्थ्यमन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com