एमसीसीले धरमरायो सत्ता गठबन्धन, हट्न सक्छन् स्वास्थ्यमन्त्री !


काठमाडौं । बहुचर्चित अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीका कारण सत्ता गठबन्धनमा खटपट सुरु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पास गर्न अघि बढेपछि सत्ता गठबन्धन धरमराएको छ ।  प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच एमसीसीको विषयलाई लिएर भनाभन भएको बालुवाटार स्रोतको दाबी छ ।

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनाललगायत एमसीसीको विपक्षमा उभिएका छन् । एमसीसी पठाएको पत्र बालुवाटारबाटै बाहिरिएको भन्दै प्रचण्डले प्रधानमन्त्री देउवासँग आक्रोश पोखेका छन् । उनले आवश्यक परे सरकारबाट पार्टीले पठाएका मन्त्री समेत फिर्ता बोलाउने धम्की प्रधानमन्त्री देउवालाई दिएको बालुवाटारमा चर्चा छ । प्रचण्ड र देउवाको हस्ताक्षरसहितको पत्र मिडियामा सार्वजनिक भएपछि उनी आक्रोशित बनेका हुन । बालुवाटारले नै पत्र सार्वजनिक गरेको भन्दै देउवासँग टेलिफोनबाटै प्रचण्डले असन्तुष्टी पोखेका छन् । उनले मन्त्री समेत फिर्ता गर्ने चेतावनी दिएपछि सत्ता गठबन्धन धरमराएको हो ।

माओवादी र एकीकृत समाजवादी एमसीसी सकसमा परेकाले सरकारबाट बाहिरिएर ‘फेस सेभिङ’ गर्न खोजेको हुन सक्ने बालुवाटार स्रोतको अनुमान छ । माओवादीले एमसीसीलाई देखाउँदै मन्त्री फिर्ता बोलाएमा समाजवादी पनि सरकारबाट बाहिरिने सम्भावना छ । त्यस्तो अवस्था आएको खण्डमा स्वास्थ्य तथा जनसंख्यान्त्री विरोध खतिवडासहित माओवादी र एकीकृत समाजवादीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरु सरकारबाट बाहिरिने छन् ।

प्रधानमन्त्री देउवाले एमसीसी सदनबाट पारित गराउन प्रमुख प्रतिपक्षी दल एमालेको साथ खोजेका छन् । एमसीसी र स्थानीय तहको चुनावको विषयमा आजै  प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता हुँदैछ। ओली सत्ताबाट हटेपछि पहिलोपटक बालुवाटार जान लागेका हुन् ।

एमसीसीलाई लेखेको पत्र बाहिरिनु, प्रचण्ड चिढिनु, ओलीले देउवासँग हात अघि बढाउनुले सत्ता गठबन्धन भत्किएर कांग्रेस-एमाले मिलेर एमसीसी पास गराउने लाइनमा उभिन सक्ने बलियो सम्भावना छ । त्यस्तो अवस्थामा स्वास्थ्यमन्त्रीसहितका माओवादी र नेकपा एकीकृत समाजवादी मन्त्रीहरु सरकारबाट हट्न सक्छन् ।

क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #एमसीसी, #खटपट, #प्रचण्ड- देउवा चर्काचर्की, #मन्त्री फिर्ता, #सत्ता गठबन्धन, #स्वास्थ्यमन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com