स्वास्थ्य सचिव परिवर्तन: यामकुमारीको स्थानमा देवकुमारी


काठमाडौं सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव परिवर्तन गरेको छ । सचिव यामकुमारी खतिवडालाई प्रधानमन्त्री कार्यालयको आर्थिक पूर्वाधार हेर्ने गरी सरुवा गरेर उनको ठाउँमा स्वास्थ्य मन्त्रालयको जनसंख्या हेर्ने गरी  देवकुमारी गुरागाईंलाई पठाएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने आधिकारिक पुष्टि गरेको छैन ।
सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ)बाट सचिव गुरागाईंलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा गरेको हो । खतिवडा भने स्वास्थ्य हेर्नेगरी प्रधानमन्त्री कार्यालयमा बसेकी थिइन् । स्वास्थ्य मन्त्रालयमा प्राविधिक र प्रशासन गरी दुईवटा दरबन्दी रहेको छ । प्राविधिकतर्फ डा. रोशन पोखरेल सचिव छन् ।

त्यस्तै सीसीएमसीसीका संयोजक समेत रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलियाको भूमि व्यवस्था, शहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ । उनको ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईलाई ल्याइएको छ । स्वास्थ्यमा सरुवा भएकी देवकुमारीको स्थान पिपिएमओमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाे अतिरिक्त समूहमा रहेका सचिव मधुसूदन बुर्लाकोटीलाई ठेलिएको छ ।

भूमि व्यवस्था मन्त्रालयका सचिव गणेश पाण्डेलाई भने वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारीमा पठाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका विज्ञान तथा प्रविधि हेर्ने सचिव सुरेश आचार्यलाई खानेपानी मन्त्रालयमा सरुवा गरेर त्यहाँ कार्यरत प्रमिला बज्रचार्यलाई विज्ञान तथा प्रविधि मन्त्रालयमा लगिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com