“किर्ते” प्राध्यापक उपकुलपतिको साढे ३ करोड कमिसन काण्डले वीपीको आई.सी.यू. सेवा सखाप !


काठमाडौं । “किर्ते” प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीको साढे ३ करोड कमिसन काण्डले वीपीको आई.सी.यू. सेवा सखाप भएको छ । किर्ते प्राध्यापक डा. गिरी कमिसनमा लिप्त हुँदा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भद्रगोल अवस्थामा पुगेको छ ।

देशकै सबैभन्दा ठूलो र प्रदेश न. १ को गौरव मानिएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विराट मेडिकल कलेजका मालिक डा. ज्ञानेन्द्रमानसिंह कार्कीले “किर्ते” प्राध्यापक उपाधि भिडाएका डा. ज्ञानेन्द्र गिरी उपकुलपति नियुक्त भएर आएदेखि नै शिलशिलावद्ध कमिसनखोरीका घटनाहरु जारी छन् । “किर्ते” प्राध्यापक गिरीलाई कारवाही गर्न सरकारले अनेक छानबिन समितिहरु बनाए पनि सत्तारूढ पार्टीका नेताहरुलाई समेत मोटो कमिसन बुझाई गिरीले आफ्नो पद जोगाउन सफल भएको वीपी प्रतिष्ठान चर्चा छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा निकट स्रोतका अनुसार गिरीलाई हटाउन प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाले प्रतिष्ठान ऐनको दफा ११(घ) वमोजिम स्वास्थ्यमन्त्री तथा सह-कुलपति खतिवडाको अध्यक्षतामा समिति गठन गरेर पनि प्रधानमन्त्री पत्नी, संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र स्वास्थ्य सचिव डा. रोशन पोखरेलको मिलिभगतमा समितिको प्रतिवेदन तुहाइएको छ । यता प्रतिष्ठान भने अस्तव्यस्त छ ।

“प्रतिष्ठानको आकस्मिक सेवा र आई.सि.यु. सेवालाई कोशी प्रादेशिक अस्पताल जत्तिको पनि छैन, इमर्जेन्सीमा विरामी आउँछन्, तिनलाई आई.सि.यु. आवश्यक पर्यो भने प्रतिष्ठानमा जम्मा ८ वटा आई.सी.यु. शैया र भेंटीलेटर छन् । सरकारले ३० शैयाको आई.सि.यु. स्थापना गर्न दिएको २० करोड रुपैयामा आई.सि.यु. उपकरण खरिद गर्न भएको टेन्डर समेत कमिसनको चक्करमा रोकियो र पैसा फिर्ता जाने अवस्थामा पुग्यो” प्रतिष्ठानका एनेस्थेसिया विभागका एक प्राध्यापक बताउँछन् ।

प्रतिष्ठानले गत मिति २०७८/०३/०६ गते सार्वजनिक रूपमा आव्हान गरेको “Supply, delivery and Installation of ICU setup and Ventilator” सम्बन्धि ३० शैयाको आई.सि.यु. सेवा प्रारम्भ गर्ने संरचना र आवश्यक भेन्टिलेटर खरिदसम्बन्धी बोलपत्रमा बोलपत्र स्वीकृति गर्ने क्रममा कमिसनको डरलाग्दो खेल बुझेर सार्वजनिक खरिद तथा अनुगमन कार्यालयले खरिद प्रक्रियामा रोक लगायो । करिब १७ करोड लागत अनुमानको यो ठेक्कामा किर्ते प्राध्यापक समेत रहेका उपकुलपति गिरीले ठेक्का खोल्नु पूर्व नै मेडिकल माफिया सन्दिप राउतको M/S Meditech Pvt. Ltd. लाई ठेक्का सुम्पिने प्रपन्च गरि खरिद अधिकारी सागर ताम्राकार मार्फत खरिद प्रक्रिया अगाडी बढाए । “यो प्रतिष्ठानमा आफ्नो सबै कुरा सुम्पेर पनि खरिद शाखामा लगातार नेतृत्व गर्ने मौका पाउने कर्मचारी हुन् ताम्राकार । कसरी कमाएर हाकिमलाई दिने भन्ने बारेमा उनी माहिर छन् । अनियमिततामा लिप्त हुने सबै उपकुलपतिहरुको उनी खरिद अधिकारीको रूपमा पहिलो छनौटमा पर्दछन्” प्रतिष्ठानको सुद्धीकरण अभियानका एक प्राध्यापक बताउँछन् ।

“Supply, delivery and Installation of ICU setup and Ventilator” सम्बन्धी बोलपत्र खोल्दा उपकुलपति गिरीसँग साढे तीनकरोड कमिसन सेटिङ भएको M/S Meditech Pvt. Ltd. ले साढे १६ करोडमा ठेक्का हालेको पाइयो भने अर्को कम्पनीले १२ करोडमा ठेक्का हालेको पाइयो । “उपकुलपति गिरीलाई जसरी पनि सो ठेक्का M/S Meditech Pvt. Ltd. लाई दिनु थियो । उनले सार्वजनिक खरिद ऐन, नियम केही हेरेनन् । प्रतिष्ठानको मूल्यांकन समितिमा दवाव सिर्जना गराई जबर्जस्ती उक्त कम्पनीलाई करोडौं कमिसन खाएर ठेक्का दिने निर्णय गरे । परिणाम आज अगाडि छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले M/S Meditech Pvt. Ltd लाई ठेक्का दिनु अनियमितता हो भन्यो । “M/S Meditech Pvt. Ltd ले अदालतमा मुद्दा हालेर खरिद कार्यमै रोक लगायो, प्रदेश न. १ का जनता र धरानवासी आइसीयु सेवाबाट बर्षौंसम्म बन्चित हुने भए” मूल्यांकन समितिका पदाधिकारीले स्वास्थ्य लाइभसँग भने ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #कमिसन चक्कर, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com