निर्वाचन आचारसंहिता लागू हुनु अगाडिनै स्वास्थ्यलगायतका मन्त्री फेर्ने तयारी


काठमाडौं ।  नेकपा एकीकृत समाजवादी(एस)ले स्थानीय तहको निर्वाचन आचारसंहिता लागू हुनु अगाडिनै स्वास्थ्यमन्त्री विरोध खतिवडालगायतलाई हटाएर नयाँ पठाउने तयारी थालेको छ ।

नेकपा एसभित्र स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठलाई हटाउन चर्को दबाब परेको छ । उनीहरुलाई चैत १५ गते निर्वाचन आचारसंहिता लागू हुनु अगाडि नै हटाएर नयाँ व्यक्ति पठाउन पार्टीभित्र चर्को दबाब परेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र श्रममन्त्री श्रेष्ठले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर भेटेको विषयमा पनि नेकपा एसभित्र असन्तुष्टि देखिएको छ । एस निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले सामाजिक सञ्जाल फेसबुकमै स्टाटस लेखेर उक्त कुराको चर्को विरोध गरेका छन् । नेकपा एसबाट मन्त्री भएका व्यक्तिहरुलाई ६ महिनामा फिर्ता बोलाएर नयाँ व्यक्ति पठाउने पूर्व सहमति अनुसार पनि मन्त्री फेर्न खोजिएको एक स्थायी कमिटी सदस्यले स्वास्थ्य लाइभलाई बताए ।

स्वास्थ्यमन्त्री विरोध खतिवडाको कार्य सम्पादन सन्तोषजनक नरहेको र अन्य मन्त्री पनि विवादमा तानिन थालेकाले निर्वाचन आचारसंहिता लागू हुनु अगाडिनै मन्त्रीहरु फेर्ने गरी छलफल चलिरहेको ती सदस्यको भनाइ छ ।

नेकपा एसबाट मन्त्री हुन निरुदेवी जैरी, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ तीव्र लबिइङमा रहेका छन् । सम्भवत: चैत १५ अगाडि नै  स्वास्थ्यमन्त्री खतिवडासहित नेकपा मन्त्रीहरुको ठाउँमा नयाँ मन्त्री पठाउने तयारी भइरहेको नेकपा एसका नेताहरु बताउँछन् ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, #नेकपा एकीकृत समाजवादी, #स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com