वीपीका किर्ते प्राध्यापक उपकुलपति गिरीलाई बर्खास्त गर्न २० गते सिनेट बोलाइयो


काठमाडौं ।  वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका किर्ते प्राध्यापक उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई बर्खास्त गर्न सञ्चालक परिषद् (सिनेट) बोलाइएको छ ।   प्रधानमन्त्री एवं वीपी प्रतिष्ठानका कुलपति शेरबहादुर देउवाको निर्देशनमा ‘जँड्याहा’ उपकुलपति गिरीलाई बर्खास्त गर्न सिनेट बोलाइएको हो ।

वीपी प्रतिष्ठान उच्च स्रोतका अनुसार २० गतेका लागि वीपीको सिनेट बैठक बोलाइएको छ । प्रधानमन्त्री एवं कुलपति देउवाको निर्देशनमा स्वास्थ्यमन्त्री एवं सहकुलपति विरोध खतिवडालाई २० गतेलाई  वीपीको सिनेट बोलाएका हुन् । सिनेटको पत्र आइसकेको प्रतिष्ठानका एक सिनेट सदस्यले स्वास्थ्य लाइभलाई जानकारी दिए ।  चैत्र २० गते आइतबार साढे ११ बजेका लागि प्रधानमन्त्री निवास बालुवाटारमा वीपी प्रतिष्ठानको सिनेट बोलाइएको हो ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०४९ को दफा ११(घ) को उपदफा (१) बमोजिम प्रतिष्ठानको कुलपति एवं सम्माननीय प्रधानमन्त्रीबाट प्रतिष्ठानको सहकुलपतिको अध्यक्षतामा गठित छानबिन समितिबाट छानबिन गरी प्रतिष्ठानका कुलपति एवं सम्मानीय प्रधानमन्त्रीज्यूसमक्ष प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा सोही ऐनको दफा ११(घ) को उपदफा ३ बमोजिम निर्णय गर्न सञ्चाल परिषद्(सिनेट)को बैठक बोलाइएको उपकुलपति गिरीलाई पठाएको पत्रमा उल्लेख छ । स्वास्थ्यमन्त्री एवं सहकुलपति खतिवडाले छानबिन प्रतिवेदनमा औँल्याइएका विषयप्रति कुनै भनाई/ स्पष्टीकरण भए बैठकमा उपस्थित हुँदा लिखित रुपमा पेश गर्न अनुरोध समेत गरेको स्रोतको भनाई छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडा नेतृत्वको छानबिन समितले वीपीका उपकुलपति गिरी मादक पदार्थ सेवन गरेर कार्यालय आउने गरेको र प्राध्यापकको उपाधि किर्ते रहेको प्रतिवेदन कुलपति समक्ष बुझाएको थियो । उनीलगायत वीपीका तीनैजना पदाधिकारीलाई बर्खास्त गर्न र राजीनामा दिइसकेका रजिष्ट्रार मोहन चन्द्र रेग्मीलाई पनि कारबाही गर्न उक्त प्रतिवेदनमा उल्लेख गरिएको छ । तर अहिलेसम्म त्यो प्रतिवेदन सार्वजनिक र कार्यान्वयन हुन सकेको छैन ।

पछिल्लो समय वीपीमा विभिन्न किसिमका चलखेल हुन थालेपछि भने प्रधानमन्त्री देउवा र उनको टिमले वीपीमा चासो दिएको हो । प्रधानमन्त्री कार्यालयले समेत वीपी प्रतिष्ठानको अवस्थालाई अत्यन्तै गम्भीरता साथ हेरेको छ ।  प्रधानमन्त्री देउवा किर्ते प्राध्यापक गिरीलाई हटाएर प्रतिष्ठानलाई निकाश दिने पक्षमा रहेको प्रधानमन्त्री कार्यालय स्रोतले स्वास्थ्य लाइभलाई बतायो । प्रधानमन्त्री देउवाले स्वास्थ्य सल्लाहकार डा. आर पी बिच्छा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का चिकित्सक शैल रुपाखेती र मुख्य सचिव शंकरदास बैरागीलाई वीपी प्रतिष्ठानलाई उच्च प्राथमिकतामा राखेर स्वास्थ्यमन्त्रीसँग सहकार्य गरेर अघि बढ्न भनेको स्रोतको दाबी छ ।

गत हप्ता स्वास्थ्यमन्त्री खतिवडा र उपकुलपति गिरीको गोप्य बैठक भएको जानकारी पाएको प्रधानमन्त्री कार्यालय मन्त्री  खतिवडासँग समेत नराम्ररी झस्किएको थियो । नेकपा एकीकृत समादवादी निकट एक व्यावसायिक घरानाको मध्यस्ततामा भएको बैठकमा स्वास्थ्यमन्त्री खतिवडा उपकुलपति गिरीसँग नरम भएको जानकारी बाहिरिएपछि प्रधानमन्त्रीले तत्काल सिनेटको बैठक बोलाउन स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएको बालुवाटारमा चर्चा छ ।

सरकारले सिनेट बोलाउने निर्णय गरेपछि उपकुलपति गिरी आर्थिक चलखेलमा लागेका छन् । वीपी प्रतिष्ठानको ढुकुटी खाली गराउने कार्यमा हिजो दिनभर सक्रिय रहेको प्रतिष्ठान स्रोत बतायो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा रहेको प्रतिष्ठानको १३ करोडको फार्मेसी भवनका ठेकेदारलाई गत आइतबार ७८ करोड भुक्तानी गरेर गिरीले मोटो कमिसन लिएकाे आरोप छ । उनले २ अरब ३५ करोडको अर्को विवादास्पद मातृशिशु भवनको २५ करोड भुक्तानी गर्ने तयारी गरेका छन् ।  यसै आयोजनामा गिरीले यहीँ आर्थिक वर्षभित्र नियमविपरीत एकल निर्णय गरेर ६३ करोड भुक्तानी गरेको सम्बन्धमा अख्तियारले छानबिन गरिरहेको छ । आफूलाई बर्खास्त गर्न सिनेट बोलाएपछि उनी वीपीमा व्यापक चलखेल र घोटालामा लागेको पाइन्छ ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार
ट्याग : ## वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, #किर्ते' प्राध्यापक डा. ज्ञानेन्द्र गिरी, #कुलपति/सहकुलपति, #प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, #प्रधानमन्त्री शेरबहादुर देउवा, #बर्खास्त, #सिनेट, #स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com