बागमती प्रदेश सरकारको बजेट स्वास्थ्य र शिक्षामा ‘फोकस’


हेटौंडा । बागमती प्रदेश सरकारको बजेट बनाउँदा स्वास्थ्य र शिक्षामा ‘फोकस’ दिने भएको छ ।

बागमती प्रदेश सरकारले आज हेटौंडामा आयोजना गरेको आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमा : प्राथमिकता र विनियोजन कुशलता सम्बन्धमा छलफल कार्यक्रममा बोल्दै अधिकांश मन्त्री र सचिवले बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिएका हुन् ।

मुख्यमन्त्री राजेन्द्र पाण्डेसहित संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ, स्वास्थ्यमन्त्री निमा लामा, सामाजिक विकासमन्त्री कुमारी मोक्तानलगायतले बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्नु पर्ने धारणा राखेका छन् ।

स्वास्थ्य सचिव बद्री बहादुर खड्काले स्वास्थ्य क्षेत्रमा बजेट बढाउनु पर्नेमा विशेष जोड दिएका छन्  । गुणस्तरीय स्वास्थ्य सेवा र औषधि उपचारमा प्रदेश सरकारको विशेष ध्यान जानु पर्ने उनको भनाइ छ । औषधि खरिद र जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारले बजेट बढाउनु पर्ने उनको धारणा छ ।

सामाजिक विकासमन्त्री कुमारी मोक्तानले शिक्षा क्षेत्रको सुधार बिना मुलुक समृद्ध नबन्ने धारणा राख्दै यो क्षेत्रमा प्रदेश सरकारको विशेष ध्यान जानु पर्नेमा जोड दिइन् । विद्यालय भवन पुनर्निर्माण हुन नसकेको विषयमा ध्यानाकर्षण गराउँदै आवश्यक बजेट विनियोजन हुनुपर्ने उनको भनाइ छ ।

छलफलमा सहभागी हुँदै संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले बजेटमा स्वास्थ्य र शिक्षालाई प्राथमिकता राख्नु पर्ने बताए ।  साथै उनले पर्यटन क्षेत्र मुलुकको समृद्धिका लागि महत्त्वपूर्ण आधार भएकाले बागमती प्रदेश सरकारले पर्यटन क्षेत्रमा बजेट बढाउनु पर्ने सुझाव दिए । भ्यू टावरभन्दा पर्यटकलाई आकर्षित गर्ने खालका योजना पर्यटन मन्त्रालयले प्रस्ताव गर्ने भन्दै बागमती प्रदेशले जनतालाई अनुभूत हुने खालका पर्यटन योजनामा ध्यान दिनु पर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

नेपालमा भएका ऐतिहासिक, धार्मिक , संस्कृतिक प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण देश भएकाले त्यसको उचित पहिचान गरेर पर्यटनका पूर्वाधार निर्माण गर्न सकेका पर्यटन प्रवर्द्धन हुन सक्ने सुनाए । पर्यटन क्षेत्रबाट मुलुकको कुल ग्राहस्थ उत्पादनमा ७.९ प्रतिशत योगदान रहेको बताउँदै उनले राज्यले पर्यटन क्षेत्रलाई प्राथमिकतामा दिएर कुल बजेटको आकार बढाएको खण्डमा मुलुकको अर्थतन्त्रमा महत्त्वपूर्ण टेवा दिन सक्ने धारणा राखे ।

कोरोना संक्रमणका कारण पर्यटन व्यवसायीहरु मारमा परेको भन्दै पर्यटनमन्त्री क्षेष्ठले पर्यटन क्षेत्र उत्थानका लागि व्यवसायीलाई सहुलियत धितोमा कर्जा उपलब्ध गराउन आग्रह गरे । उनले व्यवसाय नवीकरण लगायतका विषयमा समस्या रहेकाले म्याद थपतर्फ पनि सरकारले सोच्नु पर्ने बताए ।

बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौलाले पनि स्वास्थ्य र शिक्षामा विशेष फोकस गरेर बजेट निर्माण गर्नु पर्ने बताए ।

प्रदेशका आर्थिक मामिला तथा योजना सचिव धनिराम शर्माले आगामी वर्षको बजेटमा प्रादेशिक अस्पतालबाट विशिष्टकृत सेवा उपलब्ध गराउने, स्वास्थ्य जनशक्ति आपूर्ति गर्ने र स्थानीय अस्पतालहरुमा उपकरण, औषधिउपचार र जनशक्ति साझेदारीलाई प्राथमिकतामा राख्नु पर्ने धारणा राखे । बजेटमा स्वास्थ्य जनशक्ति व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिनुपर्ने उनको भनाइ छ ।

आर्थिक वर्ष २०७९/८० को बजेट तर्जुमा : प्राथमिकता र विनियोजन कुशलता सम्बन्धमा छलफल कार्यक्रममा अर्थमन्त्री शालिकराम जमकट्टेल, वन वातावरण मन्त्री विशाल खड्का, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठ, युवा तथा खेलकुदमन्त्री रत्न ढकाल, भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भडेललगायतले बजेटको प्राथमिकताको विषयमा धारणा राखेका छन् ।

त्यस्तै संस्कृति तथा पर्यटन सचिव मदन कोइराला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव स्किम श्रेष्ठ, भौतिक पूर्वाधार विकास सचिव अशोक शाह, सामाजिक विकास सचिव श्रीकृष्ण नेपाललगायतले पनि बजेटमा मन्त्रालयको प्राथमिकता सुनाएका थिए ।

 

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #बजेट बागमती प्रदेश

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com