स्वास्थ्यको भवनबाटै होमस्टे प्रवर्द्धन गर्दै धादिङवासी, पूर्वाधार बनाइदिने पर्यटनमन्त्रीको आश्वासन


धादिङ । धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ खरी, भदुवारस्थित रहेको कालिका सामुदायिक होमस्टे स्थानीय स्वास्थ्य को भवनबाटै प्रवर्द्धन गरिदै आएको छ ।

बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ उक्त सामुदायिक होमस्टेमा पुग्दा होमस्टे सञ्चालकहरुले स्वास्थ्यको पूर्वाधारबाटै होमस्टेको प्रवर्द्धन र सांस्कृति कार्यक्रम गर्नु परेको गुनासो सुनाएका छन् । स्वास्थ्यका लागि बनेको भवन प्रयोग गरेर होमस्टे प्रवर्द्धन र पाहुनालाई सांस्कृति कार्यक्रम देखाइरहेको कालिका सामुदायिक होमस्टेका सञ्चालकहरुको गुनासो सुनेपछि होमस्टेको अवलोकन गर्न पुगेका बागमती प्रदेशका पर्यटनमन्त्री श्रेष्ठले आवश्यक पूर्वाधार बनाउन बजेट विनियोजन गर्ने आश्वासन दिए ।

डेढ सयभन्दा बढी घर मगर समुदाय बस्दै आएको भदुवारमा पर्यटक आकर्षण गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा आएको छ । हजार रुपैयाँ भए एकरात बिताउन सकिने कालिका सामुदायिक होमस्टेमा स्थानीय परिकारसहित मगर समुदायले आफ्नो संस्कृति झल्काउने कार्यक्रम समेत प्रस्तुत गर्दै आएका छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का  अध्यक्ष खुब बहादुर सुवेदीको समन्वय र कालिका सामुदायिक होमस्टेको आयोजनामा राखिएको कार्यक्रममा सहभागी हुन पर्यटनमन्त्री श्रेष्ठ भदुवार पुगेका हुन् । घले गाउँ र घान्द्रुकको सिको गर्दै ज्वालामुखी भदुवारमा मगर समुदायद्वारा कालिका सामुदायिक होमस्टे सञ्चालन आएको हो ।

होमस्टेको अवलोकन गरेपछि पर्यटनमन्त्री श्रेष्ठले स्थानीय परिकार, संस्कृति, संस्कार, सभ्यता र सत्कार झल्किने गरी होमस्टे सञ्चालन तथा व्यवस्थापन गर्न सुझाव दिएका छन् ।बागमती प्रदेश सरकारले होमस्टेसम्बन्धी कार्यविधि ल्याउन लागेको बताउँदै उनले कार्यविधि पारित भएपछि होमस्टे व्यस्थित रुपमा सञ्चालनमा आउने र प्रदेश सरकारले पनि सहयोग उपलब्ध गराउने सुनाए । पर्यटनमन्त्री श्रेष्ठको टोलीलाई स्थानीयले नौमती बाजा सहित स्वागत गरेका थिए । 

धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीबाट २५ किलोमिटर मोटर बाटो प्रयोग गरेर पुग्न सकिने भदुवारस्थित कालिका सामुदायिक होमस्टेको माथिल्लो भेगबाट बहुचर्चित बुढीगण्डकी जलविद्युत परियोजनाको डुबान क्षेत्रका साथै स्थानीय हिम श्रृङ्खला हेर्न सकिन्छ । कलिका होमस्टेबाट पृथ्वी नारायण शाहले व्रतबन्ध गरेको र उनको मावली गाउँ मैदीकोटलगायत हेर्न सकिने टानका अध्यक्ष सुवेदीले बताए । 

धादिङ  ज्वालामुखी गाउँपलिका अध्यक्ष  विनोद तिमल्सिना समाजसेवी एवं धादिङबाट प्रदेश सभाका प्रत्यासी मधु कुमार श्रेष्ठ, टानका अध्यक्ष सुवेदीलगायतले होमस्टेको प्रवर्द्धन गर्न मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराए । यस विषयमा आफू गम्भीर रहेको भन्दै मन्त्री श्रेष्ठले पर्यटनका क्षेत्रमा देखिने र जनतालाई अनुभूति हुने काम गर्न आफूले चाहेको बताए ।

 धादिङकै निलकण्ठ नगरपालिकास्थित रामकोटमा पर्यटन प्रवर्द्धनका सम्भावनालगायत विषयमा मन्त्री श्रेष्ठ र स्थानीयबीच  छलफल समेत भएको छ । रामशाहको दरबार समेत भनेर परिचित उक्त दरबारको संरक्षणमा पनि आफूले पहल गर्ने उनको भनाइ छ ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #कालिका सामुदायिक होमस्टे धादिङ, #ज्वालामुखी गाउँपालिका, #रामकोट दरबार, #संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ, #होमस्टे

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com