सुविधा सम्पन्न महानगरीय अस्पताल खोल्ने सिर्जना सिंहको घोषणा


काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले सुविधा सम्पन्न महानगरीय अस्पताल खोल्ने घोषणा गरेकी छिन् । काठमाडौं मेयर भएपछि उनले गर्ने कामको प्राथमिकतामा महानगरीय अस्पताल रहेको छ ।

नागरिकको सर्वसुलभ रुपमा उपचार गर्ने उद्देश्यका साथ उक्त सुविधा सम्पन्न महानगरीय अस्पताल खोल्ने उनको घोषणा छ । उक्त महानगरीय अस्पतालमा काठमाडौंवासीलाई मात्र नभइ गरिब,  निसाय, अशक्त र आर्थिक रुपमा विपन्न वर्गलाई निःशुल्क उपचार गरिने सिंहको प्रतिवद्धता रहेको छ ।

काठमाडौं घनावस्ती भएको ठाउँ रहेका जनाउँदै प्रत्येक वडामा जेष्ठ नागरिक सेवाका लागि जेष्ठ नागरिक केन्द्र खोल्ने उनको भनाइ छ । ‘जेष्ठ नागरिकका लागि वडाले सञ्चालन गरिरहेको स्वास्थ्य क्लिनिकमार्फत सेवा दिन्छु, क्लिनिकमा आउन सक्नेलाई क्लिनिकबाट र नसक्नेलाई घर-घरमा गएर स्वास्थ्य सेवा उपलब्ध गराउँछु । खर्च गर्न नसक्ने जेष्ठ नागरिकको हकमा उक्त स्वास्थ्य सेवा निःशुल्क हुन्छ ।’, मेयरकी उम्मेदवार सिंहले भनिन् ।

आफू महिला भएकाले महिलाको मुद्दालाई प्राथमिकता दिने उनको भनाइ छ । महिलाहरुले दुःख पाएको भन्दै गृहिणी भत्ता दिने उनको घोषणा छ । छानबिन गरेर विपन्न वर्गका महिलालाई उक्त भत्ताको व्यवस्था गरिने उनको भनाइ छ । आफ्नो पालामा विदुर भत्ताको समेत व्यवस्था गरिने सिंहले बताइन् ।

सिंहले जुनै पनि योजना बनाउँदा काठमाडौंलाई मध्यनजर गर्दै योजना बनाउने उद्‌घोष गरिन । काठमाडौंको हावा, पानी, माटो सबै संस्कृति, सम्पदा सभ्यतासँग आफू एकदम परिचित रहेको बताउँदै सिंहले यो सहरलाई सुन्दर सफा सहर बनाउने सुरक्षित सहर बनाउने लक्ष्य रहेकी सुनाइन् । यी लगायत काठमाडौं महानगरपालिकालाई व्यवस्थित, सुरक्षित, हराभरा र सुविधा सम्पन्न बनाउने खाका समेत मेयरकी उम्मेदवार सिंहले प्रस्तुत गरेकी छिन् ।

 

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : ## स्वास्थ्य सेवा, #गृहिणी विदुर भत्ता, #जेष्ठ नागरिकलाई घर-घरमा स्वास्थ्य सेवा, #निःशुल्क स्वास्थ्य उपचार, #महानगरीय अस्पताल, #सिर्जना सिंह

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com