पूर्व स्वास्थ्यमन्त्री गगन थापा आज भोजपुर जाँदै


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा आज भोजपुर जाँदैछन् । अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा हुने नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्न नेपाली कांग्रेसका महामन्त्री समेत रहेका थापा भोजपुर जान लागेका हुन् ।

नेपाली कांग्रेस अरुण गाउँपालिकाका उपसभापति डिल्ली सापकोटाका अनुसार पूर्व स्वास्थ्यमन्त्री एवं कांग्रेस महामन्त्री थापा ११ बजे प्याउली पुग्ने कार्यक्रम रहेको छ । स्वास्थ्यमन्त्री हुँदा अरुण गाउँपालिकाको प्याउली र याङपाङको स्वास्थ्य पूर्वाधार विकासमा महत्त्वपूर्ण भूमिका खेलेका थापा चुनावको अवसर पारेर भोजपुरको प्याउली जाने भएका हुन् ।

नेपाली कांग्रेसको तर्फबाट समाजसेवी शालिकराम खत्री अरुण गाउँपालिकाको अध्यक्षमा उठेका छन् । याङपाङसहित अरुण गाउँपालिकाको स्वास्थ्य र शिक्षा क्षेत्रको विकास र विस्तारमा विशेष योगदान दिएका उनै खत्रीलाई अरुण गाउँपालिकामा जिताउने उद्देश्यका साथ थापा प्याउली जान लागेका हुन् । उनले खत्रीको पक्षमा अरुण गाउँपालिकावासीलाई भोट माग्नुका साथै अरुण गाउँपालिकासहित समग्र भोजपुरको स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा गर्नु पर्ने कामको विषयमा पनि चर्चा गर्ने अरुण कांग्रेसको भनाइ छ ।

पूर्व स्वास्थ्यमन्त्री थापा अरुण गाउँपालिकामा आएर जनतासँग प्रत्यक्ष साक्षात्कार गर्नु भोजपुरवासीका लागि ठूलो उपलब्धिको विषय भएको अरुण कांग्रेसका उपसभापति सापकोटाले बताए । नेपाली कांग्रेसका भावी सभापति र मुलुकको भावी प्रधानमन्त्री बन्ने निश्चित भएका थापालाई भोजपुरसँग जोड्नु आफूहरुको उद्देश्य रहेका बताउँदै सापकोटाले थापाको आगमन एउटा निर्वाचन कांग्रेसले जित्नु मात्र नभएर समग्र अरुण र भोजपुरको विकासको खाका चित्रण गर्ने एउटा माध्यम पनि भएको स्पष्ट पारे ।

प्याउलीसहित भोजपुर जिल्लाको स्वास्थ्यको क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीपनि पूर्व स्वास्थ्यमन्त्री थापासँगै प्याउली जाने कार्यक्रम रहेको उपसभापति सापकोटाले स्वास्थ्य लाइभलाई जानकारी दिए । भोजपुर जिल्लामा देशैभरका ख्यातिप्राप्त चिकित्सक उपस्थित गराएर वृहत्त निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका डा. कार्कीले भोजपुरे जनताको स्वास्थ्यमा महत्त्वपूर्ण योगदान दिएको सापकोटाको भनाइ छ । अरुण गाउँपालिकाको केन्द्र प्याउलीमा पनि स्वास्थ्य शिविर लगेर हजारौंलाई स्वास्थ्य सेवा उपलब्ध गराएका कार्की भोजपुर आउने भएपछि भोजपुरवासीहरू उत्साहित भएको उनले सुनाए ।

डा. लोचन कार्कीकै पहल, सक्रियता र नेतृत्वमा ३ महिना अगाडि मात्र भोजपुरमा वृहत्त निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको थियो । उक्त स्वास्थ्य शिविरमा झन्डै ४ हजारले स्वास्थ्य सेवा प्राप्त गरेका थिए । धेरैभर कहलिएका चिकित्स भोजपुर लगेर उनले भोजपुरे जनतालाई घर पायक स्वास्थ्य सेवा प्रदान गरेका थिए । प्याउलीमा पनि केही समय अगाडि स्वास्थ्य शिविर लगेर धेरैलाई स्वास्थ्य उपचार प्रदान गर्ने काम डा. कार्कीले गरेका थिए । भोजपुरमा आँखालगायतका रोगको स्वास्थ्य शिविर फेरि लाने डा. कार्कीको तयारी छ । भोजपुरमा भएको स्वास्थ्य शिविरमा सहभागी भएकालाई काठमाडौंमा ल्याएर समेत उनले निःशुल्क शल्यक्रिया र उपचार गर्ने काम गर्दै आएका छन् ।

अरुण गाउँपालिकाको नेतृत्वमा शालिकराम खत्रीलाई पुर्‍याउन सके भोजपुरका लागि धेरै काम गर्न सकिने उनीहरूको बुझाई छ । नेपाल चिकित्सक संघका अध्यक्ष डा. कार्कीको पहलमा प्याउलीले सुविधा सम्पन्न एम्बुलेन्स समेत पाउने भएको छ ।

क्याटेगोरी : प्रदेश, समाचार
ट्याग : #अरुण गाउँपालिका, #डा. लोचन कार्की, #पूर्व स्वास्थ्यमन्त्री गगनकुमार थापा, #प्याउली भोजपुर, #भोजपुर नि:शुल्क स्वास्थ्य शिविर, #शालिकराम खत्री

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com