भोजपुरको प्याउली पुगेर पूर्व स्वास्थ्यमन्त्री गगन थापाले के भने ?


काठमाडौं । भोजपुर जिल्ला अरुण गाउँपालिकाको केन्द्र प्याउली पुगेका पूर्व स्वास्थ्यमन्त्री गगन थापा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्व मुख्यमन्त्री शेरधन राईविरुद्ध खनिएका छन् । ५ वर्ष सरकार चलाउने म्यान्डेट पाएको ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ३ वर्षपनि पार्टी र सरकार चलाउन नसकेको भन्दै थापाले उनीहरूको आलोचना गरेका हुन् ।

कांग्रेस महामन्त्री समेत रहेका थापाले केपी ओली र शेरधन राई सरकार चलाउन असफल भएको टिप्पणी गर्दै जनतासँग फेरि भोट माग्ने आधार गुमाएको बताए । उनले सरकाररुपी गाडी दुर्घटना गराएको आरोप लगाउँदै अब उनीहरूको औचित्य समाप्त भएको जनाए । ओली र शेरधनलाई ५ वर्ष सरकार चलाउन किन नसकेको भनेर एकपटक एमालेकै कार्यकर्ताले प्रश्न गर्नुपर्ने बताए । कांग्रेसले अघिल्लो ५ वर्षका राम्रो काम नगरेर दण्डित गरेको बताउँदै थापाले ५ वर्ष सरकार चलाउन पठाएको ओलीको टिम असफल भएकाले यसपटक जनताले दण्डित गर्नुपर्ने स्पष्ट पारे ।

चुनाव भनेको पुरस्कार र दण्ड गर्ने अवसर भएकाले यसपटक दण्ड पाउने पालो एमालेको रहेको थापाकाे भनाइ छ ।  उनले २०६४ मा सानदार बहुमत पाएको माओवादीले सरकार चलाउन र संविधान बनाउन नसकेपछि २०७० को चुनावमा माओवादीले दण्ड पाएको स्मरण समेत गराए ।

अस्पताल, विद्यालय, बाटो विजुली लगायतका पूर्वाधार निर्माणमा कांग्रेसको योगदानको चर्चा गर्दै महामन्त्री थापाले ५ वर्षमा ओली सरकारले धेरै काम गर्न सक्ने अवस्था रहेको बताए । तर आफ्नै असक्षमताका कारण ओली सरकार दुर्घटनामा परेको उनको टिप्प्णी छ । कांग्रेससहितको ५ दलको तालमेल संसद पुनर्स्थापनासँग जोडिएको प्रसंग कोट्‌याउँदै उनले एमालेले गरेको तालमेलको औचित्यमाथि प्रश्न उठाए । थापाले एमालेले गरेको तालमेललाई झेलमेलको संज्ञा दिए ।

उनले अहिलेको एमालेको चुनावी मुद्दा जनतासँग प्रत्यक्ष जोडिएका शिक्षा, स्वास्थ्य, खानेपानी, मल लगायत नभएको समेत जनाए । भोजपुरबाट अबको ५ वर्ष सबै तहमा कांग्रेसका उम्मेदवारलाई जिताएर काठमाडौं पठाउनुपर्ने तर्क गर्दै संविधानको रक्षा, त्यसको आवश्यकता र अवस्था हेरेर कांग्रेसले ५ वर्ष काम गर्ने महामन्त्री थापाको भनाइ छ ।

अरुण गाउँपालिकाको अध्यक्षमा शालिकराम खत्रीलाई जिताए अरुणको शिक्षा, स्वास्थ्य लगायतका हरेक विकासको कुरामा  आफू गाउँपालिका अध्यक्षको हैसियतमा रहेर काम गर्ने प्रतिवद्धता समेत जनाए ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की भोजपुरको प्याउलीको विषयमा गगन कुमार थापा परिचित रहेको बताए । थापा स्वास्थ्यमन्त्री हुँदा प्याउलीको प्राथामिक स्वास्थ्य केन्द्र(पिएचसी)मा डाक्टर पठाउने काम भएको बताउँदै उनले भोजपुर प्याउलीको विषयमा स्वास्थ्य मन्त्रालयको सबैलाई थाहा भएको स्पष्ट पारे ।

गगन थापा भनेको कांग्रेसको महामन्त्री मात्र नभएर यो देशको भावी प्रधानमन्त्री भएको धारणा राख्दै डा. कार्कीको यस्तो व्यक्तिलाई भोजपुरसँग जोड्न पाउनु गर्वको विषय रहेको दाबी गरे । प्रजातन्त्रको सुन्दर पक्ष चुनाव रहेको भन्दै उनले भोटले यो देशको भाग्य र भविष्यको फैसला गर्न भएकाले अमूल्य मतको सदुपयोग गर्न सुझाव दिए । शालिकराम खत्रीलाई रुख चिन्हमा मतदान गरेर विजयी गराए समृद्ध अरुण बनाउन सकिने कार्कीको भनाइ छ ।

प्याउलीमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायामाझी, जिल्ला सभापति विनोद बान्तवा, कांग्रेसबाट अरुण गाउँपालिकाको अध्यक्षका उम्मेदवार शालिकराम खत्रीलगायतले धारणा राखेका थिए ।

क्याटेगोरी : प्रदेश, विचार, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com