निःशुल्क स्वास्थ्य बिमा गरिदिने इटहरीका मेयर हेमकर्ण पौडेलको घोषणा


सुनसरी ।  इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले निःशुल्क स्वास्थ्य बिमा गरिदिने घोषणा गरेका छन् ।नवनिर्वाचित मेयर पौडेलले कार्यभार सम्हाल्दै उक्त निर्णय गरेका हुन् ।

एमालेको गढ भत्काउँदै इटहरीको मेयरमा बाजी मारेका नेपाली कांग्रेसका युवा नेता पौडेलले स्वास्थ्य र शिक्षा जस्ता सामाजिक एजेण्डा प्रस्तुत गर्न थालेका छन् । उनले गरीब, दलित, अल्पसंख्यक, विपन्न, असक्त, महिला, बालबालिका तथा जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य बिमा गर्ने कार्यक्रम लागू गरेका हुन् । यो निर्णयले स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका धेरै इटहरीवासीले लाभ पाउने छन् ।

मेयर पौडेलले इटहरी उपमहानगरपालिकभित्रका महिलाहरुलाई नवजात शिशु पोषण अन्तर्गत दुई हजार एक सय उपलब्ध गराउने निर्णय समेत गरेका छन् । उनले सरकारले लागू गरेको स्वास्थ्य बिमा अन्तर्गत उपचार गर्नबाहिर जादा लिनुपर्ने रिफर लेटर सम्बन्धित वडाको स्वास्थ्य संस्थाबाटै लिन व्यवस्था समेत मिलाउने निर्णय गरेका छन् । सार्वजनिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था मिलाउने प्रवन्ध गर्ने मेयर पौडेलको पहिलो निर्णयमा उल्लेख छ।

मेयर पौडेलले गरेको निर्णयमा नगर कार्यपालिकाको नगरसभा र नगर कार्यपालिकाको बैठक सञ्चार माध्यमबाट प्रत्यक्ष प्रसारण गर्ने उल्लेख छ । उनले गरेको जनमुखी र जनस्वास्थ्य सरकारको निर्णयमा उपमेयर संगित चौधरीले भने असहमति जनाएकी छिन् । लामो समयदेखि एमालेको कब्जामा रहेको इटहरीलाई कांग्रेसका उम्मेदवार हेमकर्णले फुत्काएपछि एमालेले उपमेयर चौधरीमार्फत जनविरोधी हर्कत देखाउन थालेको हो ।

मेयरको समाजवादी एजेण्डामा अवरोध खडा गरेर उपमेयर चौधरीले इटहरीका जनताको भोटमाथि अपमान गरेको टिप्पणी हुन थालेको छ । धराने जनताले देखादिएका वीपी प्रतिष्ठान डुबाउने एमालेलाई यस्तै हर्कत देखाउने हो भने इटहरीका जनताले पनि देखाइदिने अवस्था नआउँला भन्न सकिन्न ।

 

 

क्याटेगोरी : जीवनशैली, प्रदेश
ट्याग : #इटहरी उपमहानगरपालिका, #उपमेयर संगिता चौधरी, #एमाले-कांग्रेस, #निःशुल्क स्वास्थ्य बिमा, #मेयर हेमकर्ण पौडेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com