बजेट पारित नहुञ्जेल स्वास्थ्यमन्त्री खतिवडासहितको पद जोगियो


काठमाडौं । संघीय संसदबाट सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को बजेट पारित नहुञ्जेल स्वास्थ्य तथा जनसंख्यामन्त्री खतिवडालगायतको पद जोगियो छ ।

नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारको नेतृत्व गरेर गएका खतिवडासहितका व्यक्तिलाई फिर्ता बोलाएर नयाँ सदस्य पठाउन सिफारिस गरेको थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित नहुञ्जेल मन्त्रिपरिषद् हेरफेर नगरौं भनेपछि स्वास्थ्यमन्त्री खतिवडासहित नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरुको पद तत्काललाई जोगिएको छ ।

नेकपा एकीकृत समाजवादीले पार्टीबाट सरकारमा गएका स्वास्थ्यमन्त्री खतिवडालाई फिर्ता बोलाएर उनको ठाउँमा हाल स्वास्थ्य राज्यमन्त्री रहेका भवानीप्रसाद खापुङलाई नियुक्ति गर्न सिफारिस गरेको थियो । खापुङको ठाउँ स्वास्थ्य राज्यमन्त्रीमा भने हिरा केसीको नाम सिफारिस भएको थियो ।

त्यस्तै सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई फिर्ता बोलाएर उनको ठाउँमा मेटमणि चौधरीको नाम सिफारिस गरेको थियो । नेकपा एकीकृत समाजवादी पार्टीले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाएर उनको ठाउँमा पर्यटनमन्त्री बनाउन जीवनराम श्रेष्ठको नाम सिफारिस गरेको सार्वजनिक भएको थियो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठलाई हटाएर गैर सांसद शेरबहादुर कुँवरलाई मन्त्री बनाउने एकीकृत समाजवादीको निर्णय थियो । तर श्रेष्ठले बहुमत सांसद लिएर पार्टी फुटाइदिने धम्की दिएपछि मन्त्रीमण्डल हेरफेर गर्ने सिफारिस तुहिएको चर्चा छ ।

तत्काल मन्त्रिमण्डल हेरफेर गर्दा नेकपा एकीकृत समाजवादी पार्टी फुट्ने र बजेट फेल हुने भयले प्रधानमन्त्री शेरबहादुर देउवालले नेकपा एकीकृत समाजवादीबाट सिफारिस गरिएको नयाँ मन्त्रीहरुलाई सपथ खुवाउन नमानेको बालुवाटार उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो । मन्त्रिमण्डल हेरफेर नगर्ने देउवाको अडानपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालपनि नरम देखिएपछि तत्काल स्वास्थ्यमन्त्री खतिवडासहितका मन्त्रीहरूको पद जोगिएको हो ।

 

क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री शेरबहादुर देउवा, #मन्त्रिमण्डल हेरफेर, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com