स्वास्थ्य, खेलकुद र चलचित्रसँग जोडेर पर्यटनको बजेट ल्याउने मन्त्री श्रेष्ठको तयारी

मेडिकल टुरिजम, क्यानोपी वाक, रक क्लाइम्बिङ, चलचित्र जस्ता कार्यक्रम समावेश


काठमाडौं ।  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले स्वास्थ्य, खेलकुद र चलचित्रसँग जोडेर पर्यटनको बजेट ल्याउने तयारी थालेका छन् । आर्थिक वर्ष २०७९/०८० को बजेटमा पर्यटनमन्त्री श्रेष्ठले पर्यटनलाई स्वास्थ्य, खेलकुद र चलचित्रसँग जोडेर कार्यक्रमहरु समावेश गरेको चर्चा छ ।

पर्यटनमन्त्री श्रेष्ठले मेडिकल टुरिजम, मेडिकल म्युजियम, रक क्लाम्बिङ जस्ता साहसिक पर्यटनका कार्यक्रम समावेश गरेर बजेट ल्याउने तयारी गरेका हुन् । बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकारीहरूका अनुसार  श्रेष्ठले नेतृत्व गरेको संस्कृति तथा पर्यटन मन्त्रालयले मेडिकल टुरिजम, मेडिकल म्युजियमलगायतका स्वास्थ्यका महत्त्वपूर्ण कार्यक्रमहरू बजेटमा समावेश गरिएको छ ।

त्यस्तै साहसिक पर्यटन र खेलकुदसँग जोडिएका रक क्लाइम्बिङ र क्यानोपी वाक जस्ता पूर्वाधार विकास र विस्तारका लागि पर्यटनमन्त्री श्रेष्ठले महत्त्वपूर्ण कार्यक्रमहरू बजेटमा समावेश गरेको बागमती प्रदेशको अर्थ मन्त्रालयका अधिकारीहरु बताउँछन् ।

अर्थ मन्त्रालयका अधिकारीहरुका अनुसार संस्कृति तथा पर्यटन मन्त्रालयको बजेटमा रसुवाको क्याङजिङमा प्राकृतिक वाल क्लाम्बिङ ट्रेनिङ सेन्टर, चितवनको सौराहामा वन्यजन्तु अवलोकनका लागि क्यानोपी वाक र काठमाडौंको प्रदर्शनी मार्गका  चिकित्सा संग्राहलय बनाउने जस्ता महत्त्वपूर्ण कार्यक्रम प्रस्ताव गरेको छ । संस्कृति तथा पर्यटन मन्त्रालयले पर्यटनलाई स्वास्थ्य र खेलकुदसँग जोडेर बजेटमा पहिलोपटक प्रस्ताव गरिएका कार्यक्रमहरु हुन् । यो सबै पर्यटनमन्त्री श्रेष्ठको सक्रियतामा आएका कार्यक्रमहरू रहेको अर्थका अधिकारहरूको भनाइ छ ।

बागमती प्रदेशमा मेडिकल टुरिजमको सम्भाव्यता अध्ययन गर्ने कार्यक्रम पनि पर्यटनमन्त्री श्रेष्ठले बजेटमा प्रस्ताव गरेका छन् ।

बागमती प्रदेशले पहिचान गरेका पर्यटकीय गन्तव्य, कला, संस्कृतिहरुको छायाङ्कन गरी चलचित्र निर्माण गर्न प्रोत्साहन गर्ने कार्यक्रम समेत बजेटमा समेटिएको देखिन्छ ।  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको प्रस्तावमा नेपाली चलचित्रको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा पनि उक्त कुरा समेटिएको थियो ।

नेपाली चलचित्रको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न प्रदेश सरकारले पहिचान गरेका पर्यटकीय गन्तव्य, कला, संस्कृतिहरुको छायाङ्कन गरी चलचित्र निर्माण गर्न प्रोत्साहन गरिने प्रदेश सरकारको उद्देश्य रहेको पर्यटनमन्त्री श्रेष्ठले बताउँदै आएका छन् । यसलाई बजेटमार्फत उचित सम्बोधन गरिने उनको प्रतिबद्धता थियो । त्यसै अनुसारको कार्यक्रम बजेटमा पनि समावेश गरिएको अर्थ मन्त्रालयका अधिकारीहरुको दाबी छ । मन्त्री श्रेष्ठले बजेटमार्फत मकवानपुरको इन्द्रसरोवर, दामन, पालुङलगायतका ठाउँलाई फिल्म सिटीको रुपमा विकास र विस्तार गर्ने योजना अघि सारेको समेत अर्थ मन्त्रालयका अधिकारीहरू सुनाउँछन् ।

बागमती प्रदेशको आर्थिक वर्ष २०७९/०८० को बजेट भोलि प्रदेश सभामा प्रस्तुत गर्ने तयारी छ । पर्यटन मन्त्रालयले स्वास्थ्यसँग जोडिएका महत्त्वपूर्ण कार्यक्रम पनि उक्त बजेटमा समावेश गरेको चर्चा छ ।

क्याटेगोरी : समाचार
ट्याग : #क्यानोपी वाक, #चलचित्र जस्ता कार्यक्रम समावेश, #पर्यटकीय चिकित्सा संग्रहालय, #बजेट बागमती प्रदेश, #बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालय, #मेडिकल टुरिजम, #रक क्लाइम्बिङ, #संस्कृति तथा पर्यटनमन्त्री, #साहसिक पर्यटन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com