रामकुमारी झाँक्री चिच्याइन् अनि स्वास्थ्यमन्त्री खतिवडाले ढोकाको चुकुल लगाए


काठमाडौं । कोटेश्वरस्थित नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासहित बैठक बसिरहेको थियो ।नेपालको नेतृत्वमा बसेको बैठकमा स्वास्थ्यमन्त्री खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष नेपालले पार्टीको निर्देशन अनुसार मन्त्रीबाट फिर्ता भएर सहयोग गरिदिन आग्रह गरे । त्यसपछि सहरी विकासमन्त्री रामकुमारी झाँक्री चिच्याउँदै ठूलो स्वरले बोल्न थालिन् ।  अनि स्वास्थ्यमन्त्री खतिवडाले झाँक्रीको चर्को आवाज बाहिर नसुनियोस् भनेर हतार हतार ढोकाको चुकुल लगाएको ती नेताले सुनाए ।

सरकारबाट फिर्ता हुन भन्नेवित्तिकै सहरी विकासमन्त्री झाँक्री र पर्यटनमन्त्री आलेले असहमति जनाएका थिए । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल फेरबदल गरेर पार्टीको तर्फबाट नयाँ मान्छे राख्न आग्रह गरेर अध्यक्ष नेपालले मन्त्रीहरुलाई कोटेश्वर बोलाएका थिए । अध्यक्ष नेपालले पार्टीले  मन्त्री फेर्ने निर्णय लिईसकेको छ, तपाईहरुले सहयोग गर्नुहोस् भन्नेवित्तिकै सहरी विकासमन्त्री झाँक्री ठूलो स्वरले चिच्याउन थालिन् । काठमाडौंको फोहोर व्यवस्थापनलगायतका राम्रो काम गरिरहेको बेला आफूलाई हटाउन खोजेको भन्दै उनले आक्रोश पोख्न थालिन् । राम्रो काम गरिरहेको अवस्थामा पनि हामीलाई हटाउनु हुन्छ भने मेरा लागि अध्यक्ष मरेतुल्य बराबर हुनुभयो भन्दै मन्त्री झाँक्री चिच्याउन थालेपछि स्वास्थ्यमन्त्री खतिवडाले आवाज बाहिर नसुनियोस् भनेर ढोकाको चुकुल लगाएको समाजवादीका नेताको भनाइ छ ।

उता पर्यटनमन्त्री आले धनबहादुर बुढालाई मन्त्री बनाउनु पर्ने अडान राखेका थिए । बुढा र एकजना महिला समावेश गरे मात्र आफू मन्त्रीबाट हट्ने आलेको अडान रहेको ती नेताले बताए ।श्रम मन्त्री कृष्णकुमार श्रेष्ठ भने राष्ट्रिय सभाबाट बजेट पारित भएपछि मात्र मन्त्रिमण्डल हेरफेर गर्न उपयुक्त हुने धारणा राखेको बताइन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #माधव नेपाल, #सहरी विकासमन्त्री रामकुमारी झाँक्री, #स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com