गाँजा अभियान्ता स्वास्थ्यमन्त्री, मन्त्रालयमै ‘गाँजा खेती’


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व गाँजा अभियान्ता विरोध खतिवडाले सम्हालिरहेका छन् । स्वास्थ्यमन्त्री खतिवडा नेपालमा गाँजा खेतीलाई प्रोत्साहन गर्नु पर्छ भनेर निरन्तर लागिरहेका व्यक्ति हुन् ।

नेपालमा गाँजालाई लागुऔषधका रुपमा प्रतिबन्ध लगाइएको छ । यसलाई औषधि प्रयोजनका लागि खुला गर्नुपर्छ भनेर आवाज उठिरहेको छ । यसमा स्वास्थ्यमन्त्री खतिवडा पनि सक्रिय छन् । खतिवडाले नेतृत्व गरेको स्वास्थ्य मन्त्रालय परिसरमा ‘गाँजा खेती’ निकै फस्टाएको देखिन्छ ।

मन्त्रालयका थोत्रा गाडी फ्याल्ने ठाउँमा गाँजाका बोटले थोत्रा गाडीहरु पुरेका छन् । सर्वसाधारणको खेत, बारीमा गएर गाँजा फाँड्ने प्रहरी, प्रशासन स्वास्थ्य मन्त्रालय परिसरमा झाँगिएको गाँजा देखेको नदेखेझैं गर्छ ।

गाँजालाई औषधि प्रयोजनका लागि खुला गर्ने गरी कानुनको मस्यौदा समेत तयार हुँदैछ । तर कतिपय लागुऔषधका क्षेत्रमा काम गर्ने अधिकारकर्मीहरू भने गाँजा खुलाउने विषयमा गृह मन्त्रालयले सरोकारवालाहरूसँग प्रयाप्त छलफल नगरेको बताउँछन् । रिकोभरी नेपालका विष्णु फुयाँल गाँजासम्बन्धी कानुनको मस्यौदा तयार पार्दा सरोकारवालाहरुसँग परामर्श गर्दा उचित हुने सुझाव दिन्छन् ।

अमेरिका, क्यानडाजस्ता देशमा गाँजालाई औषधि प्रयोजनका लागि खुला गरिएको छ । तर त्यसलाई निकै व्यवस्थित गरी खुला गरेको देखिन्छ । नेपाल जस्तो देशमा गाँजाको दुरुपयोग हुने खतरा पनि उत्तिकै भएकाले गृह मन्त्रालय गाँजालाई औषधिको रूपमा खुला गर्दा कर्मचारीले कोठे बैठकमा नभई सरोकारवालाहरूसँग छलफल र परामर्श गर्न आवश्यक रहेको विज्ञहरुको तर्क छ ।

स्वास्थ्य मन्त्रालय परिसरमा रहेको गाँजा समाजिक सञ्जालमा आउन थालेपछि गाँजाका विषयमा फेरि चर्चा चलेको छ । गाँजा अभियान्ता स्वास्थ्यमन्त्री, मन्त्रालयमै ‘गाँजा खेती’ भनेर व्यंग्य समेत गर्न थालिएको छ । गाँजा अभियान्ता नै स्वास्थ्यमन्त्री हुनु र मन्त्रालय परिसरमै गाँजा फस्टाउनुले थप चर्चा पाएको छ । तर यो संयोग मात्र भएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

क्याटेगोरी : समाचार
ट्याग : ##गाँजा, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यमन्त्री विरोध खतिवडा

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com