डा. संगिता मिश्राको उन्माद

२१ महिना प्रसूतिको क्वार्टरमा बसेको चार लाख भाडा नतिरी टाप 


काठमाडौं ।  थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको स्टाफ क्वार्टरबारे छुट्टै नियम छ । अस्पतालको क्वार्टरमा बस्नेहरेक कर्मचारीले २० देखि २५ प्रतिशत भाडा तिर्नुपर्छ । ३ कोठासम्म तलबको २० प्रतिशत र चार कोठा भए २५ प्रतिशत तिर्नुपर्ने नियम रहेको छ ।

अस्पतालको नियम अनुसार सबैले सोही अनुसार भाडा तिर्छन् । तर, तत्कालीन अस्पताल निर्देशक डा. संगिता कौशल मिश्राले २१ महिनाको भाडा नतिरी टाप कसेको तथ्य स्वास्थ्य लाइभले फेला पारेको छ । अस्पतालले तिर्नुपर्ने भाडा माग्दा उल्टै थर्काउने र धम्क्याउने गरेको कर्मचारीहरुको गुनासो छ।

अस्पताल स्रोतले स्वास्थ्य लाइभलाई उपलब्ध गराएको विवरण अनुसार डा. मिश्राले २१ महिना अस्पतालको क्वार्टर प्रयोग गरेको देखिएको छ । उनले भैंसेपाटीमा दाताले उपलब्ध गराएको एक घर क्वार्टटरका रुपमा प्रयोग गरेकी थिइन् । सो घर प्रयोग गर्ने निर्देशक उनी मात्रै हुन् । अरुले दाताले दिएको घर प्रयोग गरेका थिएनन् । अन्य प्रयोजनका लागि दिएको घर  क्वार्टरको रूपमा डा. संगिताले जबर्जस्ती प्रयोग गरेको अस्पतालका कर्मचारी सुनाउँछन् ।

अस्पतालका निर्देशक डा. अमिरबाबु श्रेष्ठले  क्वाटर प्रयाेग गर्दा हरेक कर्मचारीले ताेकिएकाे रकम तिर्नुपर्ने बताए ।  ‘भैंसेपाटीमा रहेको घरमा कसैलाई बस्ने दिएको थिएन’, लेखा शाखाका एक अधिकारीले  भने, ‘डा. संगिताले त्यही घरमा बस्नु भयो तर, लाग्ने भाडा दिनु भएन ।’, हाल मिश्रा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता समेत हुन् । त्यति मात्र हैन मंगलबार स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ पद (१२ तह) मा बढुवाका लागि सिफारिस समेत भएकी छन् ।

बेरुजु फछ्र्योट नगरी बढुवा समितिले उनलाई बढुवाका लागि सिफारिस गरेर लोकसेवाको समेत साख गिरेको छ ।  तिर्नु बुझाउनु पर्ने दायित्व भएको व्यक्तिलाई बढुवा सिफारिस गर्नु गलत भएको महालेखा परीक्षकको कार्यालयका एक अधिकारीले स्वास्थ्य लाइभलाई बताए ।

कार्य अनुभव किर्ते गरेर खुला प्रतिस्पर्धाबाट स्वास्थ्य सेवामा प्रवेश गरेकी डा. संगितालाले एघारौं तह हुँदै कर्मचारीलाई धम्क्याउने र तर्साउने काम सुरु गरेको नजिकबाट चिन्नेहरु बताउँछन् । त्यही शैलीले काम गर्ने ठानेर उनले प्रसूति गृहको क्वार्टर प्रयोग गरे बापत तिर्नुपर्ने ३ लाख ८३ हजार ८१३ रुपैयाँ तिरेकी छैनन् । स्वास्थ्य लाइभले डा. मिश्राको पछिल्लो गतिविधिबारे गहन अध्ययन सुरु गरेको छ ।

तल्ला तहका कर्मचारीले क्वार्टर प्रयोग गरे वापत लाग्ने रकम तिर्ने निर्देशक भएकै कारण संगिताले नतिर्ने भन्ने कुनै हालतमा हुनै सक्दैन । उनलाई कठालामा समातेर भएपनि नियम अनुसार लाग्ने रकम अस्पतालले लिनै पर्छ ।

प्राप्त विवरण अनुसार डा. मिश्रा २०७७ भाद्र देखि २०७८ असारसम्म ११ महिना बसेको महिनाको १२ हजार ६५० का दरले १ लाख ३९ हजार १५० रुपैयाँ रहेको छ । ५० हजार स्केलको २५ प्रतिशत रकम कटाउँदा उक्त रकम हुन आएको हो । त्यस्तै २०७८ श्रावण देखि २०७९ बैशाख सम्म ५२ हजार ६ सय तलव स्केलको २५ प्रतिशतले हुन आउने १३ हजार १५० रुपैयाँले १० महिनाको १ लाख ३१ हजार ५ सय रुपैयाँ रहेको छ । २१ महिनाको बिजुलीको बिल, इन्टरनेट, नेट टिभी गरेर १ लाख १३ हजार १६३ रुपैयाँ गरी जम्मा ३ लाख ८३ हजार ८१३ रुपैयाँ मिश्राले तिर्नुछ ।

‘सचिव हुन्छु त्यसपछि तिमिहरुलाई देखाउँछु’, भन्दै हिंड्ने डा. मिश्राले तिर्नुपर्ने रकम समेत नतिरेको देख्दा अस्पतालका कर्मचारीनै लजाएका छन् । सबै कर्मचारीले नियम अनुसार तिरेको रकम मिश्राले नतिर्दा बाह्रौं तह र सचिव भएको खण्डमा के गर्लिन भनेर सबैले प्रश्न गर्न थालेका छन् ।

क्याटेगोरी : समाचार
ट्याग : ## प्रमुख विशेषज्ञ, ## प्रसूति गृह, #क्वार्टर दुरुपयोग बेरुजु, #डा. संगिता कौशल मिश्र, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com