स्वास्थ्य मन्त्रालयसहितका सचिवहरू हेरफेरको तयारी


काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहितका सचिवहरू हेरफेरको व्यापक तयारी थालेको छ ।  सरकारले स्वास्थ्य, उद्योग, पर्यटन, सञ्चार, अर्थ, गृह, सामान्य, खेलकुदलगायतका महत्त्वपूर्ण मन्त्रालयमा सचिवहरू हेरफेरको तयारी गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार स्वास्थ्य सचिव देवकुमारी गुरागाईंलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर त्यो ठाउँमा विशेष अधिकारसहित नयाँ सचिव पठाउने तयारी भइरहेको छ ।

स्वास्थ्यमा पठाउने सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्यप्रसाद गौतम, मधुसुदन बुर्लाकोटी, दामोदर रेग्मी, रामप्रसाद घिमिरेलगायतको नाम चर्चामा छ । बुर्लाकोटी र रेग्मी सहसचिव हुँदा स्वास्थ्यमा बसेर काम गरेको अनुभव छ । त्यसो त बागमती प्रदेशका प्रमुख सचिव मुकुन्द निरौलाको नाम पनि स्वास्थ्य सचिवको चर्चामा छ । उनको रोजाई भने सामान्य, उद्योग र पर्यटनतिर रहेको प्रधानमन्त्री कार्यालय उच्च स्रोतको भनाइ छ । प्रधानमन्त्री कार्यालय स्वास्थ्यमा क्रस चेक गर्न सक्ने क्षमता भएको सचिव पठाउने तयारीमा देखिन्छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन सचिव महेश्वर न्यौपानेले अवकाश पाएपछि रिक्त पदमा बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कनका आधारमा डा. दीपक काफ्ले, नारायण शर्मा दुवाडी र दिनेश घिमिरेको नाम सिफारिस भएको छ । उनीहरूमध्ये एकजनाको बढुवा भएर प्रदेश पठाएपछि प्रदेशबाट संघमा आउने सचिव पनि व्यवस्थापन गर्नु पर्ने हुन्छ ।

अर्थमन्त्रीको रूपमा जनार्दन शर्मा प्रभाकर आएपछि अर्थ सचिव मधुकुमार मरासिनी अर्थबाट बाहिरिने सूचीमा छन् । उनको ठाउँमा पठाउने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव, वैकुण्ठ अर्याल, उद्योग सचिव अर्जुन पोखरेल र योजना आयोगका सचिव केवल भण्डारीको नाम चर्चामा छ ।  सञ्चार मन्त्रालयमा दिनेश भट्टराई, केवल भण्डारीलगायतको नाम चर्चामा रहेको प्रधानमन्त्री कार्यालय उच्च स्रोतले स्वास्थ्य लाइभलाई बतायो । जे होस् यो लटमा ठूलो संख्यामा सचिवहरुको सरुवा गर्ने तयारी भइरहेको प्रधानमन्त्री कार्यालय उच्च स्रोतको दाबी छ ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, #सचिव देवकुमारी गुरागाईं, #सूर्य गौतम, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्य सचिव डा. रोशन पोखरेल

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com