उफ ! काठमाडौंमा जताततै डेंगु 


काठमाडौं । बागमती प्रदेशमा संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठ डेंगु संक्रमणका कारण दुईहप्ता बढी सुते । प्लेटलेस घटेका कारण अझैपनि उनलाई सञ्चो भएको छैन । ‘डेंगुले निकै गलाउने रहेछ’, पर्यटनमन्त्री श्रेष्ठ भन्छन् । श्रेष्ठ जस्तै धेरै जस्तोलाई यसपटक डेंगुले सतायो ।

काठमाडौंको अनामनगर, बानेश्वर, देवीनगर, वसन्तनगर, बुद्धनगरलगायत धेरै ठाउँमा डेंगुका बिरामी नभएकाे घर छैन । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पतालसहित प्रायजसो काठमाडौंका निजी अस्पताल कोरोनाका बिरामीले भरिभराउ छन् । अस्पतालमा शय्या अभावका कारण भुईंमै सुनाएर डेंगुका बिरामीको उपचार गर्न अस्पतालहरू बाध्य छन् । डेंगुका कारण काठमाडौंको स्थिति भयावह देखिन्छ ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की अहिले काठमाडौंमा डेंगुको संक्रमण ह्वातै बढेको बताउँछन् । २०१९ पछि अहिले डेंगुका बिरामीको संख्या बढेको उनले सुनाए । काठमाडौंमा डेंगु बढ्नुको कारण फोहोरमैला व्यवस्थापन नहुनुदेखि अव्यवस्थित बसोबाससम्म रहेको चिकित्सक संघका अध्यक्ष डा. कार्कीको भनाइ छ ।

‘अव्यवस्थित सहरीकरण र बसाईसराईका कारण काठमाडौंको तापक्रम बढेको छ । अहिले काठमाडौंको हावापानी तथा वातावरण लामखुट्टे फैलिनका लागि उपयुक्त देखिन्छ’, डा. कार्कीले भने, ‘यस्तो मौसममा लामखुट्टे, झिंगा हुकर्ने भएकाले काठमाडौंमा ‘भेक्टर डिजिज’ अझ फैलिन्छ ।’,

कोरोनाकालमा डेंगुको प्रभाव कम देखिएको बताउँदै उनले कोरोना घटेसँगै डेंगु बढेको उनको दाबी छ । अव्यवस्थित बसोबास, बसाईसराई, घनाबस्ती, जथाभावी फोहोरमैला, पानी जम्ने ठाउँ जताततै रहनु र सचेतनाको अभावले अझैं डेंगु बढ्ने डा. कार्कीको तर्क छ । काठमाडौंमा डेंगु, मलेरियाजस्ता ‘भेक्टर डिजिज’ अझ फैलिने भएकाले चिकित्सकहरुलाई रोग अनुसारको तालिम दिनुपर्ने उनले बताए । कस्तो अवस्थामा औषधि दिने, कस्तो औषधि दिने, कस्तो अवस्थामा अस्पतालमा बिरामी भर्ना गर्नेलगायतका विषयमा चिकित्सकलाई तालिम दिए डेंगुजस्ता ‘भेक्टर डिजिज’ नियन्त्रण तथा रोकथाममा उनीहरूले विशेष भूमिका खेल्ने डा. कार्कीको ठम्याई छ ।

स्थानीय तहले पनि डेंगुजस्ता रोग फैलिन नदिन टोल-टोलमा सचेतना फैल्याउनु पर्ने उनको सुझाव छ ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. लोचन कार्की, #डेंगु, #पयर्टनमन्त्री दिपेन्द्र श्रेष्ठ

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com