तीन चर्चित चिकित्सक कांग्रेसको समानुपातिक बन्दसूचीमा परे


काठमाडौं । तीन चर्चित चिकित्सक कांग्रेसको समानुपातिक बन्द सूचीमा परेका छन् । निर्वाचन आयोगमा नेपाली कांग्रेसले बुझाएको समानुपातिकको बन्दसूचीमा डा. चन्द्रमोहन यादव, डा. केदारनरसिंह केसी र डा. सुरेश कनोडियाको नाम समावेश गरिएको छ ।

नुवाकोटबाट प्रत्यक्ष निर्वाचन लड्ने घोषणा गरेका केदारनरसिंह केसीको नाम समानुपातिकको ५२ औं नम्बरमा परेको हो । उनीसँगै एउटै क्षेत्र दाबी गरेका डा. प्रकाशशरण महत पनि समानुपातिकको १ नम्बरमा पर्न सफल भएका छन् । केदारनरसिंह नेपाल चिकित्सक संघका अध्यक्ष तथा पूर्व स्वास्थ्यमन्त्री अर्जुननरसिंह केसीका सहोदर भाइ समेत हुन् ।

अर्का मेडिकल चिकित्सक चन्द्रमोहन यादव पनि समानुपातिकको सूचीमा अग्रस्थानमा रहेको छ । यहीँ बन्दसूची कायम रहे उनी सांसद बन्ने निश्चित छ । मधेशी क्लस्टरबाट विमलेन्द्र निधिपछि डा. चन्द्रमोहन यादवको नाम पर्ने देखिन्छ । उनी प्रथम राष्ट्रपति डा.रामवरण यादवका सुपुत्र हुन् । उनी २०७० को दोस्रो संविधानसभा चुनावमा निर्वाचित संविधानसभा सदस्य समेत हुन् ।

नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेश कनोडियाको नाम पनि कांग्रेस समानुपातिकको बन्दसूचीमा परेको छ । बन्दसूचीको ८८ औं नम्बरमा उनको नाम परेको हो । समानुपातिकको क्लस्टर मिलाउँदा डा. कनोडियाको नाम ३ वा ४ नम्बरमा पर्ने देखिन्छ । उनी पनि यहीं बन्दसूची कायम रहे सांसद हुने सम्भावना उच्च छ ।

डा. कनोडिया पहिलो स्थानीय तहको चुनावमा नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा उठेका थिए । कांग्रेसबाट उम्मेदवार बनेका उनी राप्रपाका धवल शम्शेरसँग पराजित भएका थिए । अहिले डा. कनोडिया कांग्रेस समानुपातिकबाट  सांसद बन्ने दौडमा छन् ।

गण्डकी मेडिकल कलेजका सञ्चालक खुमाप्रसाद अर्यालको नाम पनि कांग्रेस समानुपातिकको बन्दसूचीमा परेको छ । उनको नाम बन्दसूचीको ५७ नम्बरमा परेको हो ।

क्याटेगोरी : समाचार
ट्याग : #डा. केदारनरसिंह केसी, #डा. चन्द्रमोहन यादव, #डा. सुरेश कनोडिया, #नेपाली कांग्रेस, #समानुपातिक बन्दसूची

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com